Comments Add Comment

जनकपुरका सडकमा मुख्यमन्त्रीले लगाए झाडू

१५ फागुन, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर शहर सरसफाइमा सहभागी भएका छन् । मंगलबार विहान ‘जनकपुर महासफाइ अभियान’मा सहभागि भएका मुख्यमन्त्री राउतले सडकमा झाडू लगाए ।

मुखमा मास्क र हातमा झाडू लिएर मुख्यमन्त्री राउतले सडक बढार्न थालेपछि हेर्नेहरुको भीड लागेको थियो । मुख्यमन्त्री बनेपछि पहिलोपटक कुचो लिएर सडकमा उत्रिएका राउत जनकचोकदेखि जानकी मन्दिसम्मको सरसफाइमा सहभागी भए ।

जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी हो । ऐतिहासिक धार्मिक शहर अत्यधिक फोहोर भएर डम्पिङ साइटमा परिणत भएको छ ।
सरसफाइको क्रममा प्रतिक्रिया दिँदै मुख्यमन्त्री राउतले प्रदेशलाई स्वच्छ बनाउन नियमित सरसफाइमा ध्यान दिनुपर्ने बताए । ‘कुनै पनि ठाउँको सुसभ्य नागरिकको परिचय त्यस स्थानको सरसफाइ र वातावरणले पनि दिन्छ,’ मुख्यमन्त्री राउतले भने, ‘त्यसैले यस प्रदेशभित्रको हरेक गाउँपालिका, नगरपालिकादेखि महानगरपालिकासम्म सरसफाई अभियान चलाउनु पर्छ, तबमात्र हामी सफा र स्वस्थ हुनसक्छौं ।’

उनले मठमन्दिरको छेउछाउँ र सार्वजनिक स्थलमा जथाभावी फोहर फाल्नेलाई प्रचलित कानुन बमोजिम कारवाही गर्ने प्रक्रियामा जानुपर्ने समेत बताए ।

मिथिला माध्यमिकी परिक्रमा बुधबार जनकपुर आएर अन्तरगृह परिक्रमा गरी सम्पन्न हुने भएकाले महासफाइ अभियान आयोजना गरेको असहाय संरक्षण मञ्चका अध्यक्ष एवं समाजसेवी वैद्यनाथ साहले जानकारी दिए ।

होर व्यवस्थापनमा उपमहानगरपालिकाले चासो नदेखाउँदा पछिल्लो समय जनकपुर शहरमा नाक थुनेर हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ । शहरको मुख्य र भित्री सडकमा जथाभावि फोहर फालिएकाले डम्पिङ साइट पुगेजस्तै भान हुन्छ । नाला सफाइ गर्दा झिकिएको लेदोसहितको फोहोर सडकमै छाडिएको कारण जनकपुर दिनदिनै दुर्गन्धित बन्दै गएको छ ।

बिभिन्न निकायको संयुक्त आयोजनमा भएको महासफाइ अभियानमा जनकपुरको धार्मिक तथा ऐतिहासिक स्थल रामचोक, जनकचोक, जानकी मन्दिर लगायत जनकपुर अन्तरगृह परिक्रमा सडकको समेत सरसफाइ गरिएको छ । सरसफाइ अभियानमा प्रदेश सांसद, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, समाजसेवी, सर्वसाधारण लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment