Comments Add Comment

प्रदेश ४ का मुख्यमन्त्री गुरुङले पाए विश्वासको मत

२५ फागुन, पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाएका छन् ।

शुक्रबार प्रदेशसभामा गुरुङले विश्वासको मत मागेका थिए । उनको पक्षमा ४१ अर्थात दुई तिहाई मत परेको छ । सत्तारुढ एमाले र माओवादी केन्द्रसँगै राष्ट्रिय जनमोर्चाले गुरुङलाई समर्थन गरेका छन् ।

कांग्रेस र नयाँ शक्ति विपक्षमा बसेका छन् ।

जनमोर्चाले मुख्यमन्त्रीले प्रस्तुत गरेको विकासको योजना र प्रादेशिक विकासका आशासहित विश्वासको पक्षमा रहेको बताएको छ भने कांग्रेस र नयाँ शक्तिले विपक्षमै रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलले गुण र दोषका आधारमा प्रदेश सरकारलाइृ समर्थन रहने बताए । ‘कांग्रेसले कामका आधारमा सहयोगी बन्नेछ,’ नेपालीले भने, ‘केन्द्रीय सरकार र अन्य प्रदेशमा सत्ता पक्षमा जीतको उन्माद देखिएको छ । यो प्रदेशमा अहिलेसम्म त्यस्तो पाएका छैनौं । जनताले प्रमुख प्रतिपक्षको भूमिकामा पठाएको छ । हामीले त्यही काम गर्नेछौं ।’

नयाँ शक्तिका सांसद हरिशरण आचार्यले धेरै बोल्ने र काम कम गर्ने प्रवृति बढिरहेका बेला काम र योजना हेरेर समृद्ध प्रदेशका लागि रचनात्मक सहयोग गर्ने बताए ।

‘गाउँगाउँमा सिंह दरबार पुग्यो भनेका छौं । तर, सिंहदरबारमात्रै पुगेको छैन त्यहाँ भस्ट्राचार पनि पुगेको छ,’ आचार्यले भने, ‘सरकारले कस्तो भूमिका र नेर्तत्व गर्छ त्यसैका आधारमा हामी प्रस्तुत हुनेछौं ।’ जनमोर्चाका कृष्ण थापाले प्रदेशको विकासका लागि आफूहरुको समर्थन रहने बताए ।

मुख्यमन्त्री गुरुङले केन्द्रीय सरकार र अन्य प्रदेशमा जे भयो यहाँ त्यही हुनुपर्छ भन्ने नभएकाले समृद्ध प्रदेश निर्माणका लागि एकै ठाउँमा आउन आहृवान गरेका थिए । ‘अन्त के भयो त्यो छाडौं र हामी अन्त भएका नमुना काम गरेर देखायौं’ मुख्यमन्त्री गुरुङको जवाफ थियो, ‘समृद्ध प्रदेश निर्माणका लागि हामी एकै ठाउँमा आउन जरुरी छ । प्रतिपक्षमै रहेर पनि साथ दिनुहोला ।’

शुक्रबार विश्वासको मत लिएका मुख्यमन्त्री गुरुङको पक्षमा ४१ मत परेको थियो भने विपक्षमा १७ मत ।

६० जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभाबाट गुरुङ दुई तिहाइ मत पाए । ५८ जना सांसदले मतदानमा भाग लिएका थिए ।

प्रदेश ४ मा एमालेका २७, माओवादीका १२, कांग्रेसका १५, जनमोर्चाका ३ र नयाँ शक्तिका २ सदस्य छन् । एमाले समर्थनमा मनाङबाट स्वतन्त्र चुनाव जितेका दीपक मनाङे कर्तव्य ज्यान मुद्धामा दोषी ठहर भइ फरार छन् भने सभामुखले मतदानमा भाग लिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment