Comments Add Comment

नेपाल भर्सेस अफगानिस्तानः दुबैका लागि ‘गर या मर’ को खेल

२५ फागुन, काठमाडौं । विश्वकप छनोटमा लगातार तेस्रो खेल हारेपछि अफगानिस्तानका कप्तान रसिद खानले भनेका छन्, ‘प्रतियोगिताअघि कप्तान गुमायौं । अब आक्रामक ब्याट्सम्यान छैनन् । कुनै पनि कुरा हाम्रो अनुकुल छैन ।’

अफगानिस्तानले अब समूह चरणको अन्तिम खेलमा भोलि नेपालसँग खेल्दैछ ।

नेपालले पनि लगातार दुई खेल गुमाएको छ । तर, अफगानिस्तानको जस्तो दयनीय अवस्था भने होइन । जिम्बाब्वेविरुद्ध निकै कमजोर प्रदर्शन गरेको नेपालले स्कटल्याण्डविरुद्ध सम्हालिएको प्रदर्शन गरेको थियो ।

तर, भरपर्दा ब्याट्सम्यानहरुको प्रदर्शन विर्सनलायक हुँदा स्कटल्याण्डसँग होर्न पुग्यो । बलिङतर्फ भने पहिलो खेलको तुलनामा निकै सुधारिएको रहृयो ।

खेलपछि कप्तान पारस खड्का भन्छन्, ‘प्रतिस्पर्धा अझै खुला छ । दुई खेलको नजिता आफ्नो पक्षमा पार्न सक्यौं भने सुपर सिक्समा पुग्ने सम्भावना छ ।’

हो, यो प्रतियोगिताका दुई नेपालमा नेपालको प्रदर्शन सोचे जस्तो राम्रो छैन । तर, विश्वकपमा छनोट हुने सम्भावित टोलीको अवस्था नेपालको भन्दा पनि दयनीय छ । त्यसैले भोलिको खेल नेपालका लागि ‘विन विन’ अवस्थामा छ ।

साथै तुलानात्मक रुपमा अफगानिस्तान चर्को दबावमा हुनेछ, जसको लोभ नेपालले पाउनसक्छ । तर, यसका लागि ब्याटिङमा प्रशस्त सुधार त जरुरी छ नै बलिङ र फिल्डिङमा पनि चुस्त रहनु पर्नेछ । साथै पछिल्लो दुई वर्षमा देखेको शानदार अफगानिस्तानको ‘भूत’ बाट बच्न जरुरी छ ।

दुबैका लागि गर या मर

भोलिको खेल नेपाल र अफगानिस्तान दुवैका लागि ‘गर या मर’ को अवस्थामा छ । तीन खेल गुमाएको अफगानिस्तान नेपालसँग हारेमा सुपर सिक्स सम्भावना अन्त्य हुने छ ।

अर्कोतर्फ अफगानिस्तानले जितेमा नेपालको सम्भावना गणितीयरुपमा मात्र बाँकी रहनेछ ।

अफगानिस्तान टेस्ट मान्यताप्राप्त राष्ट्र हो । नेपालभन्दा धेरैपछि क्रिकेट खेल्न थाले पनि अफगानिस्तानले छोटो समयमै ठूलो फड्को मारिसकेको छ ।

तर जारी प्रतियोगितामा उसले स्तरअनुसार खेल्न सकेको छैन । पहिलो खेलमा जिम्बाबेसँग झिनो अन्तरले पराजित भएको अफगानिस्तान स्कटल्यान्ड र हङकङसित पनि पराजय स्वीकार्न वाध्य भयो । यसबाट प्रतियोगिताको शीर्ष स्थानका लागि दावेदार टोली असहज स्थितिमा आइपुगेको छ । त्यसैले नेपालविरुद्ध उत्रिँदा उसले आफ्नो सम्पूर्ण बल लगाउने छ ।

यता नेपालसँग आफ्नै चिन्ताका विषयहरु छन् । पहिलो दुई खेलमा नेपालले विपक्षीलाई कडा चुनौति दिन सकेन ।

जिम्बाबेविरुद्ध नेपालको बलिङ असफल भयो भने स्कटल्यान्डविरुद्ध ब्याट चलेन । दुवै म्याच गुमाएपछि नेपालको मनोबल कमजोर बनेको छ । त्यसमाथि अफगानिस्तानसँग खेल्दा नेपाली खेलाडीहरु पहिल्यै ‘नर्भस’ हुन सक्छन् ।

नेपालले आफ्नो आत्मविश्वास बढाउनका लागि अफगास्तिानसँग टी-२० विश्वकपको खेल सम्झिनुपर्ने हुन्छ । बंगलादेशमा भएको उक्त खेलमा नेपालले जित निकालेको थियो ।

अफगानिस्तानको टिम उत्कृष्ट र्फममा नहुनु नेपालका लागि सुखद समाचार हो । त्यसबाहेक कप्तान अस्गर स्टानिक्जाई र आक्रामक ब्याट्सम्यान मोहम्मद शाहजादको अनुपस्थितिले नेपाललाई फाइदा पुग्न सक्छ ।

कप्तान अस्गरले एपेन्डिक्सको अपरेसनका कारण विश्वकप छनोटको पूरै खेल गुमाएका हुन् भने शाहजादलाई आईसीसीले दुई खेलका लागि प्रतिवन्ध लगाएको छ ।

नेपाली टिमको कुरा गर्दा कप्तान पारस खड्का उत्कृष्ट र्फममा छन् । उनले जिम्बाबेविरुद्ध ३९ र स्कटल्यान्डविरुद्ध ६३ रन बनाए । तर, नेपालले सँधै उनीमाथि भर पर्न सक्दैन । त्यसैले टिमका अन्य ब्याट्सम्यान पनि चल्नैपर्छ ।

पहिले बलिङ कि ब्याटिङ ?

जिम्बोब्वेविरुद्ध पहिलो बलिङ गरेको नेपाल नराम्रोसँग चुटियो । जिम्बाब्वेका ब्याट्सम्यानहरुले नेपालमाथि ३ सय ८१ रनको पहाड खडा गरे । सायद यसैबाट आत्तिएको नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पनि ब्याटिङ रोज्यो, जुन प्रत्यूत्पादक सावित भयो । नेपाल १४९ रनको सामान्य स्कोरमा समेटियो । एक समय त नेपाल १४ रनमा ४ विकेटको दयनीय स्थितिमा पुगेको थियो ।

अफगानिस्तानविरुद्ध टस जितेमा नेपालले पहिले ब्याटिङ रोज्ने सम्भावना झिनो छ । नेपालको ब्याटिङ परम्परागतरुपमा कमजोर रहेकाले पनि पहिले बलिङ रोज्नुमा नै फाइदा देखिन्छ ।

फास्ट कि स्पिन ?

प्रतियोगितामा नेपालको फास्ट बलिङ कमजोर देखिएको छ । त्यसैले नेपालले दुई खेलमा केवल एक फास्ट बलर सोमपाल कामीलाई खेलाएर बाँकी तीन स्पिनर खेलाएको थियो । तर, सोमपालको प्रदर्शन पनि बिर्सनलायक छ ।

अफगानिस्ताले नेपालको फास्ट बलिङलाई निश्चितरुपमा टार्गेट बनाउनेछ किनकी नेपाली स्पिनरहरुलाई ठोक्न सजिलो छैन । यता, नेपालसँग चौंथो स्पिनरका रुपमा शक्ति गौचन छन् ।

तर सोमपाल कामीलाई पनि बाहिर राखेर चार जना स्पिनर खेलाउने निर्णय लिन नेपालले सक्दैन ।

दिलिप नाथ कि अनिल शाह ?

अर्कोतर्फ ओपनिङ ब्याटिङको समस्या नेपालको सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ । ज्ञानेन्द्र मल्ल दयनीय र्फमबाट गुजि्ररहेका छन् भने पछिल्लो समय ओपनिङमा मौका पाएका दिलिप नाथले यो स्तरका लागि आफूलाई योग्य सावित गर्न बाँकी नै छ । ज्ञानेन्द्रको ब्याटिङ नेपालका लागि खटि्कइरहेको छ, र आउँदो म्याचमा उनले पुनरागमन गर्ने आशा राख्नुको विकल्प छैन ।

अर्कोतर्फ दिलिप नाथले पनि कुनै रन बनाइरहेका छैनन् । तर, विकेटकिपर पनि भएको नाताले नेपालले उनलाई बाहिर राख्न गाह्रो छ । त्यसैले अनिल शाहले भोलीको म्याच पनि मैदान बाहिरै बसेर अवलोकन गर्नुपर्ने हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment