+
+

चिनियाँ नाकामा ‘वान डे पास’ बारे छलफल

केरुङमा चिनियाँ टोलीसँग ६ बुँदामा सहमति

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २७ गते १७:१९

२६ फागुन, रसुवा । नेपाल सरकारले उत्तरी सीमाना केरुङ नाकामा नेपालीहरुलाई आवत-जावतका लागि वान डे पास ( एक दिने अनुमति) को व्यवस्था गर्न चीन सरकारसँग आग्रह गरेको छ ।

चीनको जिलोङ काउन्टीका स्थानीय सुरक्षा अधिकारी कर्णेल गाओ हुइहाइ लगायत भन्सार, क्वारेन्टाईन तथा अध्यागमनका अधिकारीसँग भएको छलफलमा नेपाली पक्षले केरुङ नाकामा सहज आवागमनका लागि वान डे पासको व्यवस्था गर्न आग्रह गरेको हो ।

रसुवावासी लगायत अन्य जिल्लाका बासिन्दालाई समेत केरुङसम्म जान वान डे पासको व्यवस्था लागु गर्न अनुरोध गरिएकोमा चिनियाँ पक्षबाट दुवै पक्षले केन्द्रीयस्तरमा पहल गरी केन्द्रीय स्तरबाटै सहमति भएमा लागु गर्न सकिने जानकारी बैठकमा गराएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

नेपाली पक्षले निकै लामो समयदेखि चीन सरकारसँग वान डे पासको व्यवस्था गर्न आग्रह गर्दै आएको छ ।

विगतमा नेपालीहरुलाई केरुङसम्मको आवत जावत सहज भए पनि हाल चीन सरकारले यसमा कडाइ गर्दै आएको छ । विगतका बैठकहरुमा नेपाली पक्षले आवागमनलाई सहज बनाउन आग्रह गर्दै जिलोङ काउण्टीका अधिकारीहरुले केन्द्रीय स्तरबाट पहल हुनुपर्ने जवाफ दिँदै आएका छन् ।

शनिबार भएको दुई पक्षीय छलफलमा पनि चिनियाँ पक्षले यसबारे पुरानै जवाफ दिएको छ । चीनको जिलोङ काउन्टीमा भएको शनिबारको छलफलमा नेपाली पक्षको नेतृत्व रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले गरेका थिए ।

सीमा बैठकमा ६ विषयमा सहमति 

छलफलमा विभिन्न ६ वटा विषयमा सहमति भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ ।

नेपाल र चीनका स्थानीय अधिकारीबीच एक वर्षअघि सम्झौता भई स्थापना भएको ज्वाइण्ट अपरेसन सेण्टरले एक आपसका सुरक्षा निकायबीच समन्वय गरी कार्य गर्दै आएकोमा यस सेन्टरलाई एक आपसमा विभिन्न सूचना, तालिम र सांस्कृतिक क्रियाकलापहरु आदान-प्रदान गरी उपयोग गर्ने सम्वन्धमा मौखिक सहमति भएको छ ।

त्यसैगरी सीमा नाकाको सुरक्षा व्यवस्था तथा आवत-जावतलाई सुदृढ तथा व्यवस्थित गर्न आवश्यक उपकरण तथा सामाग्रीहरु सहयोग गर्न चिनियाँ पक्ष इच्छुक रहेको हुँदा आवश्यक सामाग्रीका सम्बन्धमा थप छलफल गरी प्रस्ताव पठाउन चिनियाँ पक्षले प्रतिवद्धता व्यक्त गरेको छ ।

सीमानाकाबाट हुन सक्ने गैरकानूनी क्रियाकलापहरु नियन्त्रयण गर्न नेपाली तथा चिनियाँ सुरक्षाकर्मीहरुबाट गस्ती निगरानी बढाउने सहमति भएको छ ।

सीमानामा कडाइका साथ चेकजाँच गर्ने र सो सम्वन्धी सूचना एक आपसमा आदान प्रदान गरी समन्वायात्मक तवरले नाकामा परिचालन भई कार्य गर्न दुवै पक्ष सहमत भएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।

दुबै देशले एक अर्को राष्ट्रविरुद्ध आ-आफ्नो भूभागमा कुनै पनि गतिविधि हुन नदिने प्रतिवद्धता जनाउँदै त्यस्ता गतिविधि हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाउने र समयमै सूचना आदान-प्रदान गर्ने सहमति भएको बताइएको छ ।

दुबै देशका स्थानीय प्रशासन, भन्सार अध्यागमन तथा सुरक्षा निकायबीच समय-समयमा बैठक बसी दुवै पक्षको समन्वयलाई थप प्रभावकारी बनाउने सहमति भएको प्रजिअ न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?