Comments Add Comment

बच्चालाई कसरी लाग्छ जंकफुडको लत ?

यसरी लगाउने स्वस्थ्यकर खानामा बानी


अहिले धेरैजसो बालबच्चा जंकफूडको लतमा छन् । चिजबल, कुरकुरे, लेज, चिप्स, चाउचाउ जस्ता केही न केही बजारको खानेकुरा खाएकै हुन्छन् । प्याकेटमा बन्द गरिएका वा प्रसोधित खानेकुरमा उनीहरुको जिब्रो लोभिन्छ । बुवाआमाले पनि टिफिनको रुपमा वा बिहान-बेलुकीको नास्तामा यस्तै खानेकुरा ख्वाइरहेका हुन्छन् ।

पोषणयुक्त खानपानको अभाव

जंकफूड स्वादिलो हुन्छ । बच्चाहरुको जिब्रोमा सजिलै त्यसको रस भिज्छ । तर, जंकफूडले बच्चाको शरीरमा पोषण अभाव पूर्ति गर्दैन । बच्चाहरुले जंकफूड खाएपछि उनीहरुको पेट भरिन्छ । अन्य खानेकुरा खान रुची गर्दैनन् । त्यसैले उनीहरुको शरीरमा आवश्यक पोषणको मात्रा पुग्दैन । जबकी बच्चाको मानसिक र शारीरिक विकासको लागि पोषणयुक्त खानेकुराको सन्तुलन मिलाउनुपर्ने हुन्छ ।

शरीरमा विकार

जंकफूडलाई स्वादिलो र टिकाउयुक्त बनाउनका लागि विभिन्न किसिमको मिश्रण गरिएको हुन्छ । यस्ता मिश्रण स्वास्थ्यवर्द्धक हुँदैन । जंकफूडमा रसायन प्रयोग गरिने भएकाले त्यसले बच्चाको स्वास्थ्यलाई नराम्ररी क्षति पुर्‍याइरहेको हुन्छ । बच्चाको भित्री अंगहरुको कार्यसंचालनमा अवरोध पैदा गरिरहेका हुन्छ । किनभने अखाद्य पदार्थ सेवन गरिएपछि त्यसले शरीरमा विकार पैदा गर्छ ।

डरलाग्दो असर

अहिले धेरैजसो बच्चामा मोटोपनको समस्या छ । कतिपय बच्चालाई मधुमेह छ । खासमा बच्चाहरुले अहिले जस्तो खानपान गरिरहेका छन्, त्यसैको असर हो यो । शरीरलाई पचाउन गाह्रो हुने यी खाद्यपदार्थले अतिरिक्त बोसो पैदा गर्छ, जो मोटोपनको कारण बन्छ । मोटोपनले विभिन्न रोग निम्त्याउँछ ।
शरीर विषाक्त हुन्छ । यसले बच्चाहरुलाई सानै उमेरमा विभिन्न रोगले च्याप्न सक्छ । उनीहरुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । जंकफूडको लगतले गर्दा मुटु, कलेजो, मिर्गौल सबै अंगमा हानी पुग्छ । अन्ततः उनीहरु उमेर नपुग्दै जीर्ण र रोगी बन्न पुग्छन् ।

किन जंकफूड रुचाउँछन् बच्चाहरु ?

बच्चाहरुले जंकफूड किन रुचाउँछन् ?

यसको एउटै जवाफ हो, स्वादिलो भएर । घरको खानेकुराभन्दा उनीहरु बजारमा पाइने खानेकुरामा लोभिन्छन् । किनभने त्यसमा विभिन्न किसिमको मिश्रण हुन्छ, जसले जिब्रोलाई लोभ्याउँछ ।

अर्कोचाहि, अहिले विभिन्न माध्यामबाट ति खानेकुराको आकर्षक विज्ञापन गरिएको हुन्छ । विज्ञापनले पनि बच्चाहरुलाई लोभ्याउँछ । यावत् कारण छन्, जसले बच्चामा जंकफूडको लत लाग्छ ।

तर, यसमा बच्चाको गल्ती छैन । गल्ती अभिभावकको छ ।

हुन त अभिभावकहरु आफ्ना बच्चाले जंकफूड खाएकोमा चिन्तित हुन्छन् । कराउँछन्, पिट्छन् । तर, आफ्नो बच्चामा त्यस्ता खानेकुराको लत कसरी लाग्यो भन्ने निष्कर्षमा पुग्दैनन् ।

किन बच्चामा जंकफूडको लत लाग्यो ?

अक्सर बच्चालाई छिटो-छरितो खानेकुरा/टिफिनको रुपमा जंकफूड दिइन्छ । चाउचाउ, बिस्कुट, चकलेट दिने गरिन्छ । यसले अभिभावकलाई हल्का हुन्छ । उनीहरुले अन्य खानेकुरा बनाउन झन्झट मोलिरहनु परेन ।

बुझ्नैपर्ने अर्को कुरा के भने, बच्चालाई कुनैपनि खानेकुराको लत हुँदैन । उनीहरुलाई खेल्न एवं रमाउन पाए पुग्छ । बच्चाहरु खानेकुराको सौखिन हुँदैनन् । उनीहरु खानपानप्रति लोभी पनि हुँदैनन् । तर, बच्चाको यस्तो प्रवृत्तिलाई बुवाआमाले नै बिगारिदिन्छन् ।

कसरी ?

बच्चालाई समय तालिका अनुसार खाना खान दिइदैन । उनीहरु भोकाउँछन् । तर, उनीहरुले आफुलाई भोक लागेको भन्ने बुझ्दैनन् । जब भोक लाग्छ, उनीहरुको मस्तिष्कमा खेल्ने भन्दा खानेकुराको झल्को आउन थाल्छ । खानेकुराको तृष्णा लाग्न थाल्छ । त्यसपछि उनीहरुले मिठो-मिठो खानेकुराको परिकल्पना गर्न थाल्छन् । मिठो खानेकुराको रुपमा उनीहरुले टिभीमा देखेका वा पसलमा सजाइएका खानेकुरा सम्झन्छन् । र, त्यही खानेकुरा माग्न थाल्छन् ।

हामी ठूला भइसकेकाहरुले पनि यस्तो अनुभव गर्न सक्छौं । भोक लागेको बेला कुनै खानेकुराको स्मरण हुन्छ । त्यही खानेकुरा नखाएसम्म हाम्रो मन तृप्त हुँदैन । बच्चाहरुमा ठिक यस्तै हुन्छ ।

तर, जब बच्चा उक्त खानेकुरा मागेर झगडा गर्न थाल्छ । हामी उनीहरुलाई भोक लागेको छ भनेर बुझ्दैनौ । बरु अनावश्यक दुख दियो भनेर कराउँछौं, पिट्छौं । वा, सोहि खानेकुरा उपलब्ध गराइदिन्छौ ।

के गर्नुपर्ला ?

जंकफूडको लत हुनु बच्चाको दोष होइन । उनीहरुले भोक अनुभव गर्न हुँदैन । त्यसो भयो भने उनीहरु खानमा होइन, खेल्नमा बढी तल्लिन हुन्छन् । पढ्नमा तल्लिन हुन्छन् । तर, भोक लागेपछि बच्चाहरुलाई खेल्न र पढ्न मन जाँदैन ।

यदि दिनभरको तालिका बनाएर उचित समयमा खाने बानी गराउने हो भने, उनीहरु जंकफूडको लतमा फस्दैनन् । सही समयमा, सही तरिकाले खानेकुरा दिनुपर्छ । अक्सर बच्चालाई बिहानदेखि बेलुकीसम्म पाँच/छ पटक खानेकुरा दिन सकिन्छ ।

यसबीचमा पनि जुस, पानी, ड्राइफ्रुट्स  दिन सकिन्छ । यसरी दिनभरमा उनीहरुको खाने तालिका मिलाएर ख्वाउने हो भने बच्चाहरुले अनावश्यक खानेकुरामा ध्यान दिदैनन् ।

साथै सधै एकैनासको खानेकुराले बच्चालाई दिक्क लाग्नसक्छ । यसले उनीहरुको शरीरलाई आवश्यक पोषण पनि पुग्दैन । त्यसैले हरेक दिनको खानेकुरामा केहि न केहि परिवर्तन गर्न सके एकदमै राम्रो हो । यसले उनीहरुको स्वाद पनि फेरिन्छ र कुनैपनि खानेकुरामा वितृष्णा जाग्दैन ।

बच्चाको आँखा लोभी हुन्छ । उनीहरुलाई घरमो खानेकुरा दिएको बेला पनि त्यसलाई सजाएर वा आकर्षक बनाएर राम्रो प्लेट, कचौरामा दिनुपर्छ ।
बच्चालाई घरको खानेकुरा तयार गर्दा साथसाथै काममा लगाउन सकिन्छ । उनीहरु आफै सहभागी भएर तयार गरेको खानेकुरा खान इच्छुक हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment