Comments Add Comment

मत्स्य विज्ञानमा विद्यार्थीको आकर्षण बढ्दो

२ चैत, चितवन । तनहुँ वन्दीपुरका सन्तोष लामिछानेलाई सानैबाट इकोलोजिष्ट बन्ने धोको थियो । उनी चिकित्सा र इन्जिनियर विषय पढ्न छाडेर मत्स्य विज्ञान पढ्न चितवनको रामपुर आए । अहिले कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा बिएसी फिसरिजको अन्तिम सेमेष्टर अध्ययन गरिरहेका लामिछानेलाई माछा र नदी सम्वन्धी विषय मन पर्दछ ।

माछाको भूरा उत्पादन र माछा सम्वन्धी अनुसन्धानमा लागिरहेका लामिछाने माछा उत्पादनको भविश्य नेपालमा उज्ज्वल रहेको ठान्छन् । नयाँ प्रविधिको साथमा व्यवसायिक माछा उत्पादन लाग्न सके देशलाई माछामा आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ ।

यस्तै बुटवलकी प्रतिक्षा न्यौपानेलाई शुरुमा बिएससीएजी पढ्ने मन थियो । उनले प्रवेश परीक्षा पनि दिइन् । त्योसँगै माछा सम्वन्धी विषय अध्ययनका लागि समेत सँगसगै फर्म भरिन् । एजी छाडेर उनले फिसरिज पढ्ने निधो गरिन्, कारण उनलाई माछा सम्वन्धी अध्ययन गर्न भित्रैबाट इच्छा जाग्यो ।

सन्तोष र प्रतिक्षा मात्र होइन धेरै विद्यार्थी मत्स्य विज्ञानको पढाइप्रति आकर्षित भएका छन् । पहिलो ब्याजमा १६ जनाको कोटाका लागि जम्मा २७५ जनाले फर्म भरेका थिए तर अहिले १५ सयभन्दा बढीको आवेदन परेको छ ।

नेपालमा नै पहिलोपटक कृषि तथा वनविज्ञान विश्वविद्यालयमा २०७० सालबाट बिएससी फिसरिजको पढाई रामपुरमा शुरु गरेको हो । अहिले अन्तिम आठौं सेेमेस्टरका विद्यार्थी पासआउट हुँदैछन् । यो कोर्ष पढ्न ४ बर्ष लाग्छ । यो विषय पढ्न मुलुकका विभिन्न जिल्लाबाट बर्सेनी विद्यार्थी आउने क्रम बढ्दो छ ।

माछा उत्पादन बढाउने तरीका, ब्रिडिङ, पालन, नेपाल र विदेशमा माछाको अवस्था कस्तो छ । नेपालमा माछाको व्यवसायिक उत्पादन कसरी बढाउने भन्ने जस्ता बिषयमा विद्यार्थीहरुको अनुसन्धान केन्द्रित हुन्छ । विद्यार्थीहरुले विश्वविद्यालयमा रहेका माछा सम्वन्धी र्फममा भूरा उत्पादन र माछाको उत्पादन आफैंले गरेर किसानलाई बेच्दै आएका छन् ।

अहिलेपनि पोखरीमा कमन कार्फका २ लाख ५० हजार भूरा माछा तयार छन् । यसअघि २ पटक उनीहरुले भूरा उत्पादन गरेर बेचिसके । भूराको साइज अनुसार प्रति गोटा २५ पैसादेखि २ रुपैयाँसम्म पर्न आउँछ ।

विद्यार्थीहरुले चितवनका स्थानीय खोलाहरुमा पाइने माछाहरुको जातका बिषयमा समेत अनुसन्धान गरिरहेका छन् । तिनको संरक्षण र ब्रिडिङका लागि अनुसन्धान भैरहेको विद्यार्थी सन्तोष लामिछानेले बताए ।

माछाको भविश्य नेपालमा राम्रो छ भन्ने ज्ञान भएकै कारण विद्यार्थीहरु यसतर्फ आकर्षित भएको बताउँछिन् विश्वविद्यालय मत्स्य विज्ञान कार्यक्रम संयोजक प्रा.डा.सुनिला राई ।

त्रिविले स्नातकोत्तरमा मात्रै फिसरिज् पढाउँदै आएको छ । बिएससी एजी वा भेटेनरी पास गरेका विद्यार्थीले एमएससी फिसरिज् पढ्दै आएका छन् । तर अब रामपुरको एएफयूबाट नेपालमा नै पहिलोपटक बिएससी फिसरिजका विद्यार्थी पास आउछ हुँदैछन् ।

बिएससी फिसरिजका विद्यार्थी नै एमएससी फिसरिज पढ्ने भएपनि अहिले भैरहेको पाठ्यक्रम पनि विश्वविद्यालयले परिमार्जन गर्ने सोच बनाएको छ । अहिले बिएससी फिसरिजका ८ सेमेष्टरमा गरेर ८२ जना, एमएससी फिसरिजमा २३ जना पीएचडीमा ५ जना विद्यार्थी पढिरहेका छन् ।

एक्वाकल्चर र एक्वाटिक रिसर्च गरेर २ विभाग छन् भने अब छिट्टै फिसरिज प्रोसेसिङ टेक्नोलोजी खोल्ने तयारी भएको संयोजक राईले जानकारी दिइन् ।

विश्वविद्यालयमा नै किसानहरुको सेवा केन्द्र खोल्ने लक्ष्यसमेत रहेको छ । विश्वविद्यालय चितवन, नवलपरासी र मकवानपुरमा ५ वटा महिला सहकारीहरुसँग समन्वय गरेर प्रचारप्रसारको काम समेत गरेको छ ।

माछा सम्वन्धी अध्ययन र अनुसन्धानका लागि नारडेफ र यूएसएआईडीका प्रोजेक्ट चलिरहेका छन् ।

नेपालमा माछाको उत्पादन र अवस्था

नेपालमा दुई सय ३२ प्रकारका माछा पाइन्छन् । तिमध्ये सबैभन्दा बढी कार्प, सहर, टिलपिया, पाङगास जातका माछा बढी चल्छन् । साना स्थानीय जातका माछामा डेडुवा, पोथी, मारा जात बढी चल्छन् । नेपालमा वार्षिक ६४ हजार मेटि्रक टन माछा उत्पादन हुँदै आएको छ । त्यति नै माछा भारतबाट नेपाल आउने गरेको माछा विज्ञसमेत रहेकी प्रा.डा. सुनिला राईको भनाइ छ ।

‘भारतबाट बर्षेनी दुई अर्बभन्दा बढीको माछाको आयात हुन्छ । भारतीय माछाको विस्थापन रोक्नका लागि पनि नेपालमा दक्ष जनशक्ति र व्यवसायिक किसानको खाँचो छ,’ राई भन्छिन्, ‘सरकारले पनि सोही अनुसारको सुविधा किसानलाई दिनुपर्दछ ।’

नेपालको कुल गाह्रस्थ उत्पादनमा माछाले १ प्रतिशत तथा कृषि क्षेत्रमा ३ प्रतिशत योगदान पुर्‍याउँदै आएको छ । नेपालको ५६ जिल्लामा व्यवसायिक रुपमा माछा उत्पादन हुँदै आएको छ ।

सरकारबाट लगानी नपाउने, माछा ढुवानी गर्न कठिनाइ हुने, माछामा लाग्ने रोगका कारण व्यवसाय गर्न समस्या हुने गरेको विज्ञ प्रा. डा. राईको भनाइ छ । ढुवानी गर्ने उचित साधन नहुँदा ट्यांकीबाट ढुवानी गर्दा धेरै माछा मर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment