Comments Add Comment

ताप्लेजुङ काठमाडौँबाट टाढा भयो !

प्रदेश १ को पर्यटनमा प्रादेशिक दृष्टिकोणको खाँचो

कञ्चनजंगा हिरक महोत्सव सकिएपछि नेपाल पर्यटन बोर्डका एक अधिकारीलाई पत्रकारले सोधे- ‘किन कञ्चनजंगा पदमार्गमा अन्नपूर्ण बेस क्याम्पजस्तो आकर्षण बढेन ?

जवाफमा पर्यटनबोर्डका अधिकारीले रेडिमेट उत्तर दिए- ‘ताप्लेजुङ काठमाण्डौबाट टाढा भयो ।’

कञ्चनजंगाको पदमार्गमा कम पर्यटक किन आएन भन्ने प्रश्नको जवाफमा ‘काठमाडौँ भन्दा टाढा’ भएर भन्नु नै नेपाली पर्यटनको काठमाडौं केन्द्रित आँखाको उपज हो ।

नेपाली पर्यटनमा मुख्य स्रोत देशहरू खैरो छाला भएका पश्चिमा मात्रै हुन् भन्ने सोचकै परिणाम हो । हैनभने ती अधिकारीले किन ताप्जेजुङ काठमाडौँबाट टाढा भए पनि भारतीय राज्यहरू सिक्किम र पश्चिम बङ्गाल अनि विहारबाट नजिक छ भन्न सकेनन् ? किन जहाज चढेर आउने पर्यटकहरू भन्दा बङ्गलादेश र भुटानजस्ता देशबाट स्थलमार्गबाटै पदमार्ग पारखीहरु आउन सक्छन् भन्ने सोच ती अधिकारीले दिएनन् ?

किनभने, नेपाली पर्यटनमा अहिले पनि सेतो छाला भएका पश्चिमा युरोप र अमेरिकनहरू मात्रै पर्यटकहरू भन्ने सोच छ । आज विश्वका कयौँ देशहरू भारतीय पर्यटकहरू तानेर पर्यटकीय कमाइ बढाउने कसरतमा छन् । चिनियाँहरु तानेर पर्यटकीय कमाइ गर्न आतुर छन् । तर, हामी ठीक विपरीत छौँ । हामी पश्चिमा खैरो छालाको मात्रै खोजीमा छौँ ।

पूर्वको पर्यटनमा प्रादेशिक दृष्टिकोण किन?

हाम्रो केन्द्रीकृत पर्यटकीय चेतलाई प्रान्तीय चेतमा ढाल्नु अबको मुख्य बाटो हो । प्रदेश १ कै कुरा गरौँ ।

प्रदेश एकको पूर्वीनाका काँकडभिट्टाबाट बङ्गलादेशको राजधानी ढाकाको सडक दुरीको यात्रा १३ घण्टा हाराहारी हुन्छ, जसको दुरी ५०० किलोमिटर आसापास छ ।

जब कि काँकडभिट्टाबाट काठमाडौँ महेन्ऽ राजमार्ग भएर जाँदा ५४७ किलोमिटर पार गर्न लगभग साढे चौध घण्टा लाग्छ । यसरी पूर्वमा काठमाण्डौमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएका पर्यटकहरू आउने समयभन्दा थोरै समय सार्ककै राष्ट्र बङ्गलादेशबाट पूर्वी नाका आउन छिटो छ । अझ भुटानको राजधानी थिम्पूको समयावधि त झनै थोरै छ । ३५० किलोमिटर हाराहारीको थिम्पू पुग्न पूर्वी नाका काँकडभिट्टाबाट ९ घण्टामै पुग्न सकिन्छ ।

छिमेकी देशका दुई पर्यटकीय राज्यहरू सिक्किम र पश्चिम बङ्गालका राजधानीहरू क्रमशः गान्टोक र कोलकाता पुग्न पनि धेरै समय लाग्दैन । सडकबाटै गान्टोक पुग्न काँकडभित्ताबाट १४२ किलोमिटरको बाटोमा बढीमा साढे चारघण्टा लाग्छ भने कलकता पुग्न भने साढे तेह्र घण्टा हाराहारी लाग्छ ।

यसरी काठमाडौँ पुग्ने समयमा त पूर्वी नाकाबाट भूटान, बङ्गलादेश जस्ता दुई सार्क राष्ट्र मात्रै हैन, प्रदेश एकमै सीमाना जोडिएका तीन भारतीय राज्यहरू विहार, पश्चिम बङ्गाल र सिक्किम पुग्न सकिन्छ ।

दुरीमा प्रदेश एक पर्यटकीयरूपमा सार्कका भारत, बंगालादेश र भूटानजस्ता तीन देशसँग नजिक छ । तर, पर्यटकीय दृष्टिकोणमा भने निक्कै टाढा छ । र त हाम्रो पूर्वको पर्यटकीय कमाइ त्यत्रो विधि जनसंख्या भएका देश र तिनका सहरबाट आउने पाहुनाहरूमा उत्साहजनक विकास र वृद्धि छैन ।

हो, यही अवस्था सुधार गर्ने सूचना, सोचाइ, पूर्वाधार र प्रचारका लागि पूर्वको पर्यटनमा प्रादेशिक दृष्टिकोण राख्न आवश्यक देखिन्छ ।

काठमाडौँ र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने अध्यागमन विभागको अन्तराष्ट्रिय आगन्तुकको तथ्यांक हेर्ने मात्रै हैन ढाका, थिम्पु, गान्टोक र कोलकताका घुमन्तेहरुसँग प्रचार पुर्‍याएर पूर्वको पर्यटनमा विकास गर्ने सोच अवको आवश्यकता हो ।

खैरो छाला मात्रै खर्चालु र महंगा पर्यटकहरू हुन् भन्ने रुढीवादी भ्रम त्यागेर भारत, भुटान र बङ्गलादेशका बढ्दो मध्यम वर्ग र तिनका पर्यटकीय रुचिलाई आकर्षण गर्ने प्राकृतिक, सांस्कृतिक, साहसिक र धार्मिक पर्यटकीय उत्पादनहरू पूर्वमै छन् भन्ने आत्मविश्वास आजको अवश्यकता हो ।

विश्वको सर्वोच्च शिखर सगरमाथा, तेस्रो अग्लो चुचुरो कञ्चनजंगा र पाँचौँ चुली मकालु भएको प्रदेशमा हिमाली पदयात्रामा पर्यटकहरू ल्याउने विश्वस्तरीय बजार छ । अरुण, तमोर र सुनकोशीजस्ता र्‍याˆटिङ गर्ने राम्रा नदीहरू भएको प्रदेश प्रदेश १ हो ।
विश्वको अग्लोमध्येको हृयात्लुङ झरना, गुरासको राजधानी तीनजुरे मिल्के र जलजले क्षेत्र अनि विश्वको सबैभन्दा होचो उपत्यका अरुण पनि प्रदेश एकमै छ ।

धार्मिक पर्यटनमा बराहक्षेत्र, चतरा, पाथीभरा, हलेसी, अर्जुनधारा, किचकबध, रामधुनी, दन्तकाली, विष्णुपादुका प्रदेश १ मै छन् । यी र यस्तै विश्वस्तरीय पर्यटकीय प्रोडक्ट भएको प्रदेश १ मा विश्वस्तरीय नै पर्यटकीय चेत र चिन्ता आजको अवश्यकता हो । यसमा स्थानीय, प्रदेश र संघीय सरकार मात्रै हैन, निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको पनि बराबरी भूमिका छ ।

बजार विशाल, तर कारोबार निराशाजनक

पूर्वको अध्यागमन कार्यालय काँकडभित्ताका अनुसार सन् २०१७ मा जम्मा ७ हजार ५ सय २८ पर्यटक भारत बाहेकका देशबाट आएका थिए । यो संख्या अघिल्लो वर्षको तुलनामा १ हजार ३ सय २३ ले बढी हो ।

तर, सीमावर्ती भारतीय राज्यका पर्यटकहरूको आगमनको तुलनामा भने ज्यादै कम संख्या हो । जस्तो- पश्चिम बंगालमा वाषिर्क औसतमा १४ लाखको संख्यामा विदेशी भिसावाला पर्यटकहरू आउँछन् । जसको १ प्रतिशत पर्यटकहरू पनि हामीले तान्न सकेका छैनौं ।

अध्यागमन कार्यालय काँकडभित्ताले १५, ४५ र ९० दिनका लागि नेपाल प्रवेशको क्रमशः २५, ४५ र १०० डलर लिएर ‘अन अराइबल’ भिसा काँकडभिट्टाबाट दिने अवस्थामा पनि हामीले पश्चिम बंगालका विदेशी पर्यटकहरूको १ प्रतिशत पनि तान्न सकेनौँ ।

अझ रोचक त के छ भने बंगलादेशी पर्यटकहरू भारतीय पर्यटन बजारका टप थ्री पर्यटकहरू हुन् । औसतमा १० लाखमाथि बंगलादेशी पर्यटकहरू भारतमा हरेक वर्ष आउँछन् । भारतीय सरकारको पर्यटन पोर्टलको जानकारीअनुसार सन २०१५ मा ११ लाख ३३ हजार ८ सय ७९ पर्यटक आएका थिए ।

विदेशी पर्यटक आउने प्रमुख राज्यमा पश्चिम बंगाल पाचौँमा पर्छ । तर, त्यही राज्यबाट नेपाल आउने बंगालादेशी पर्यटकहरूको आगमन भने निराशाजक छ । जस्तो- सन् २०१७ मा जम्मा २ हजार २५ जनामात्रै बंगलादेशीहरु पूर्वी नाकाबाट नेपाल आएका थिए । हामीले बंगालादेश पुग्न स्थलमार्गबाट नजिक भएर पनि भारतीय पर्यटन बजारमा शीर्षतीनमा पर्ने बंगालदेशी पर्यटकहरू शीर्ष पाँचमा पनि पार्न सकिरहेका छैनौँ ।

पासपोर्ट बोकेर भारतीय भूमिमा लाखौँको संख्यामा आउने बंगलादेशीलाई नेपालमा लाखको संख्यामा र पूर्वमा आधा लाखको संख्यामा पनि ल्याउन सकिएको छैन । तर, ल्याउने आधार छ ।

पाँचथरसँग सीमाना जोडिएको सिक्किम आएका तेस्रो देशका पर्यटकको सख्ंया हामीले तान्न सके पनि पूर्वको पर्यटनमा केही उत्साह आउन सक्छ । जस्तो- सिक्किममा सन् २०१६ मा ६६ हजार १२ जना विदेशी पर्यटकहरू आएका थिए । तर, त्यसको एक चौथाइ पनि हामीले स्थलमार्गबाट तान्न सकिरहेका छैनौँ ।

हजारौँको संख्यामा तान्न सकिने भुटानका पर्यटकहरू पनि खासै अएका छैनन् । अझ किमाथांका र ओलाङचुङगोला जस्ता नाकाहरू भएर पनि व्यापारिकरूपमा नखोलिएका र अध्यागमन कार्यालयहरू नभएकाले चिनियाँ पर्यटकहरू उत्तरी नाका बाटआउने कुरै भएन । यसरी पूर्वले चिनियाँ पर्यटक उत्तरी नाका सञ्चालन नभएर र भुटानी तथा बंगलादेशीहरु भने प्रचार र प्रवर्द्धधन अभावमा आउन सकिरहेका छैनन् ।

अबको आधारः प्रचार र पूर्वाधार

बंगलादेशका लाखौँ घुमन्तेहरुमा एक प्रतिशत तान्न अनि भुटानका हजारौं बुद्धधर्मीलाई पूर्वबाटै स्थलमार्ग हुँदै सहुलियतमा लुम्बिनी लान सकिन्छ ।

भारतकै पश्चिम बंगाल, सिक्किम अनि विहारका लाखौँ मध्यम वर्गलाई पनि पूर्वमै ल्याउन सकिन्छ । तर, त्यसका लागि सरकारी संयन्त्रहरू, पर्यटन व्यवसायीहरू र आम सञ्चार तथा सामाजिक सञ्जालले भूमिका खेल्न सक्छ ।

सामाजिक सञ्जालमार्फत भुटानिज, बंगाली र हिन्दी भाषाका पूर्वका विश्वस्तरीय पर्यटन प्याकेजहरू प्रचार गर्न सकिन्छ । बंगाली, हिन्दी, भुटानिज भाषाका जानकारहरूलाई पर्यटक गाइडका रूपमा पार्टटाइम वा फूलटाइम जागिरको व्यवस्था गरेर स्तरीय सेवासुविधा दिन सकिन्छ । बंगालादेशी, भुटानिज र भारतीय परिकारहरू बनाउने विशिष्ट होटेल तथा रेस्टुरेन्ट सेवाले पनि पर्यटकहरूलाई थप सन्तुष्टि दिन्छ । नेपाली महावाणिज्य दूतावास तथा राजदूतावासले पर्यटन आदान-प्रदानका कार्यक्रमहरू ल्याउन सक्छ ।

पूर्वको अध्यागमन कार्यालयहरु काँकडभिट्टामा मात्रै हैन, बिराटनगर जस्ता नाकाहरूमा पनि पारिबाट आएका तेस्रो देशका पर्यटकहरूलाई ‘अन अराइभल’ भिजामा वारि ल्याएर पर्यटकीय कमाइ गर्न सकिन्छ ।

यी सबै कुराहरू साकार हुन भने हरेकमा पूर्वको पर्यटन हेर्ने प्रादेशिक दृष्टिकोण भर्न जरुरी छ । ता कि कुनै पत्रकारले कञ्चनजंगा पदमार्गमा किन कम पर्यटकहरू आए भनेर सोध्दा उसले नभनोस्, ताप्लेजुङ काठमाडौँबाट टाढा भयो !

बरु भनोस् हामीले भुटानी, बंगलादेशी र भारतीय साहसिक पर्यटकहरू तान्ने प्याकेज बेच्न सकेनौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment