Comments Add Comment

क्रिकेट विवाद : निलम्बन फुकुवाको लक्ष्य प्रभावित हुने खतरा


४ चैत, काठमाडौं । नेपालले एक दिवसीय मान्यता पाएको खुसी राम्रोसँग मनाउन नपाउँदै आगामी जुनमा क्रिकेट संघको निलम्बन हटाउने लक्ष्य प्रभावित हुने खतरा देखिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्लिसले विधान संशोधन गर्न निर्वाचित क्यानलाई दिएको समयसीमा दुई दिन मात्र बाँकी छ । तर, अहिलेसम्म साधारणसभा समेत बोलाएको छैन ।

सुरुमा बजेट नभएको भन्दै आलटाल गरेको क्यानले अहिले सदस्यताको सर्त लगायतमा प्रश्न उठाएको छ । निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सदस्यता, सहभागिता लगायतमा प्रष्ट भएपछि साधारणसभा बोलाइने बताए ।

आईसीसीले मार्च २० मै गर्नुपर्छ नभनेको र यो प्रस्तावित मिति मात्र भएको उनको दाबी छ ।

तर, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव र सल्लाहकार समूहका सदस्यहरु भने पछिल्लो सहमति अनुसार निर्वाचित क्यानले तत्काल साधारणसभा बोलाएर विधान संशोधन गर्नुपर्ने बताउँछन् । अन्यथा आगामी जुनमा हुने आईसीसी साधारणसभाबाट निलम्बन फुकुवा गर्ने लक्ष्य प्रभावित हुनेछ ।

किनकी विधान संशोधनपछि गर्नुपर्ने कामहरु थुप्रो छ । सहमति अनुसार विधान संशोधन भएमा आईसीसीले मनिटरिङ कमिटी बनाउँछ, जसले हालै भएका भनिएका ३७ जिल्ला संघको निर्वाचनमा विवाद भए नभएको अध्ययन गर्नेछ ।

यदि विवाद भएको पाइए फेरि चुनाव हुनेछ । जिल्लापछि प्रदेश र केन्द्रको चुनाव गर्नुपर्छ । त्यसपछि मात्र आईसीसीले निलम्बन फुकुवाको प्रस्ताव अघि बढाउन सक्छ ।

तर, अहिलेसम्म साधारणसम्म नबोलाउँदा सबै कार्यतालिका प्रभावित हुने खतरा बढेको छ ।

सदस्य सचिव केशव विष्टले अनलाइनखबरसँग भने, ‘सहमतिअनुसार विधान संशोधन गर्नुपर्छ । मैले निर्वाचित क्यानका साथीहरुको ध्यानाकर्षण पनि गराएको छु ।’

उनका अनुसार सरकार र राखेपले निर्वाचित क्यानलाई अब १०/१५ दिन पर्खिइनेछ । नभए आईसीसीसँग परामर्श गरेर अर्को बाटो लिने उनको चेतावनी छ ।

‘सबैलाई समेटौं भनेर पर्खिएका हौं तर, कुनै व्यक्तिले अड्काइराख्छ भने अब पर्खिन सक्दैनौं’ उनले भने, ‘आईसीसीसँग सल्लाह गरेर सरकार र राखेप अघि बढ्छ ।’

स्थिर सरकार बनेको अवस्थामा सरकारले पहल गरे त्यो सम्भव रहेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment