Comments Add Comment

विजयपुरको डोजर काण्डः कहाँ चुक्यो चुम्लुङ ?

पुरातत्व विभागको भूमिका पनि शंकास्पद

‘विजयपुर दरबारमाथि डोजर’, ‘यी संस्था किन बोल्दैन ?’ ‘निसानामा विजयपुर दरबार’ आदि शीर्षकमा लेख तथा पाठक प्रतिकृयाहरु एक दैनिक पत्रिकामा गत माघ महिनामा छापिएका थिए । त्यसको महिना दिनपछि ०७४ साल चैत्र ५ गते सोमबार धरानको विजयपुर दरबार क्षेत्रमा साँच्चै नै डोजर पुर्‍याइएको तस्वीर देख्न पाइयो ।

त्यहाँ डोजर लैजाने पक्ष र विजयपुर दरबार क्षेत्रमा पानी ट्याँकी बनाउन हुन्न भन्ने करिब एक/डेड सय संख्यावीच सोमबार घम्साघम्सी भयो । धरान उपमहानगर पालिकाका मेयर आफैं उपस्थित भएर खन्न शुरु गरिएको दृष्टान्त हेर्दा मेयरलाई खन्नै पर्ने नैतिक दबाव परेको जस्तो देखिन्छ । जनता सबै आक्रोसित छन । तर, मेयर खन्नै पर्ने बाध्यतामा मुखाकृत देखिए ।

उल्लेखित सन्दर्भ धरानको विजयपुरस्थित विजयपुर दरबार क्षेत्रमा एशियाली विकास बैंक (एडीबी) को ऋण र अनुदान सहयोगमा ६ लाख घनलिटर पानी ट्याँकी बनाउने कुरा हो । त्यस क्षेत्रमा गत वर्ष उक्त पानी ट्यांकी बनाउन करिब ७ कठ्ठा जमीनमा रहेका १०७ थान सालका रुखहरु ढालिएका थिए ।

किरात समुदायसँग सम्बन्धित चारवटा जातीय संस्थाको तिब्र बिरोधका कारण गत साल पानी ट्यांकी बनाउने कार्य रोकिएको थियो । त्यसपछि फेरि गएको माघ महिनामा जुन-जुन सामाजिक संस्थाहरुले विरोध गरेका थिए, तिनै संस्थाले धरान उपमहानगरपालिकासँग उक्त स्थानमा पानी ट्यांकी बनाउन दिने सहमति गरे ।

अचम्मलाग्दो कुरा के देखियो भने जसले विरोध गरेका थिए, तिनै संस्थाले धरान उपमहानगरपालिकासँग १८ बुँदे सम्झौता गरे । सम्झौतापछि विशेषतः किरात याक्थुङ चुम्लुङको तर्फबाट जसले हस्ताक्षर गरेका थिए, त्यसमध्ये मस्यौदाकार कमल तिगेलाले चुम्लुङसम्वद्ध सरोकार राख्ने बुद्धिजीविहरुसँग भने ‘हामीले हाम्रो अधिकार भनेजति नभए पनि पर्याप्त मात्रामा सम्झौता गरेर लिखित गर्न सफल भएका छौं ।’

उनको दाबीअनुसार अब उपमहानगरपालिकाले लिम्बूलाई आइएलओ १६९ र युएनडीपीमा इञ्जोय गर्न अवसर दिएको छ । यी कुराहरु मनन गर्दा लिम्बूहरु आफूलाई आफै बढो स्मार्ट ठान्छन् भन्ने भनाइ कताकता मिल्छ भन्ने बुझिन्छ । उनीहरु त अझ हाम्रो छुट्टै राज्य सबैभन्दा पछिसम्म थियो भनेर पनि गर्व गर्छन् । ‘हाम्रो भाषा, संस्कृति, लिपि सबैमा अन्य समुदायभन्दा सम्पन्न छौ भन्ने’ जिकिर गर्छन् । त्यो छुट्टै राज्य भनेको त्यही विजयपुर राज्य हो । जहाँ बुद्धिकर्ण राय (लिम्बू) पहिले चौतारिया (एक मन्त्रि) थिए । पछि तिनी विजयपुरका राजा नै भए ।

तर, अहिले त्यही विजयपुर दरवारकै अस्तित्व अन्त्य गर्न लाग्दा विशेषतः केही लिम्बूहरु त्यसको अस्तित्व अन्त्य गर्न सत्ताको आडमा उद्देलित/लालयित हुन पुगेको वर्तमान परिस्थितिभित्र देखिन्छ ।

विजयपुरको इतिहास

इतिहासले भन्छ, गोर्खाली सेनासँग बुद्धिकर्ण रायको सेना टिक्न सक्ने अवस्थै थिएन । त्यसैले तिनी दरबार क्षेत्रबाट हात्तीमा सवार भएर सुटुक्क भागे । पछि उनलाई गोर्खाली सेनाले भेष बदलेर खोज्दा सुखिम (सिक्किम ?)मा लुकी राखेको अवस्थामा पत्तो लगाए । त्यहीँबाट कैदी बनाएर ल्याएर विजयपुरमा निर्मम यातना दिएर तिनको हत्या गरियो । जुन ठाउँमा हिजोआज बुढासुब्बा मन्दिर छ ।

हो, त्यही राजाको विजयपुर दरबार क्षेत्रमा पानी ट्यांकी बनाउन रुख ढलान गरियो । जसले पहिले त्यसको विरोध गरे, उनीहरुले नै अब त्यो ठाउँ त दरबार क्षेत्र होइन रहेछ भन्न थालेका छन् । उनीहरुको इसारामा मेयर जबरजस्त भिडन्तमा परेको देखिन्छ ।

मेयरको त धरानजस्तो सधैं पानीको हाहाकार भैरहने स्थानमा खानेपानीको व्यवस्थापन गर्नु नैतिक धर्म हो । यसमा उनी सम्भवतः चुकेका छैनन् । चुकेको समूह त पहिले विरोध गर्नेहरु हुन् । उनीहरु अहिले भन्दैछन् कि विजयपुर दरबार क्षेत्र जहाँ हो भनिएको छ, त्यो फगत एक सैनिक पोष्ट मात्र थियो । दरबार क्षेत्र त तल हात्तिसार क्याम्पस नजिक पो हो भनेर नयाँ तथ्य सार्वजनिक गरिएको छ ।

यो तर्क पहिले किरात याक्थुङ चुम्लुङका वर्तमान उपाध्यक्ष कमल तिगेलाले किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालयमा करिब डेड महिनाअघि प्रस्तुत गरेका थिए । त्यसबेला उनको त्यो अत्यन्त नौलो जानकारी सुन्ने अवसर यो पंक्तिकारले पाएन । तर, फोन वार्तालापमा भने लामै बृतान्त सुन्न पायो । करिब उत्ति नै समय, एक घण्टा । गजब नयाँ तर्क !

पंक्तिकार धरानमै जन्मी, हुर्की बढेकाले विजयपुर दरबार क्षेत्रमा करिब ४०/४५ वर्ष अघिदेखि आक्कलझुक्कल पुग्ने गरेको छ । र, यसक्रममा उहिलेदेखि विजयपुर दरबार त्यहीँ नै थियो भन्ने बुझेेकाले नयाँ तर्कमा विश्वास भएन । त्यसपछि निरन्तर यसबारेमा सोधी खोजी गरें । कसैले पनि मित्र तिगेलाको तर्क पत्याएनन् । मैले केही वर्ष केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानलाई कर्मथलो बनाएँ । तर, त्योमाथि उल्लेखित तर्क ०६१ सालसम्म कतै सुन्ने अवसर पाइनँ ।

पुरातत्व विभाग के भन्छ ?

हालै पुरातत्व विभागले केही दिन विजयपुर दरबार क्षेत्रमा उत्खनन् गर्‍यो । विभागका उपसचिव सन्दीप खनाल त्यस कार्यका लागि खटिएका थिए । संयोगले ती उपसचिव पनि विजयपुरकै हुन् । विजयपुरको पनि पञ्चकन्या नजिकका ।
डोजरले विजयपुर दरबार क्षेत्र खनिरहँदा उपसचिव खनाललाई फोन सम्पर्क गरी अस्ति विजयपुरमा उत्खनन गर्न जानुभएको थियो, के पाइयो भनेर सोधें । उनले उत्खनन गरेको ठाउँमा केही पनि पाइएन भनेर आन्दोलनकारी र धरान उपमहानगर पालिकामा प्रतिवेदनको प्रति दिलाएको बताए ।

उनले यता केन्द्रमा भने विजयपुर दरबार क्षेत्रमा अझै उत्खनन गर्न जरुरी भएको प्रतिवेदन पेस गरेको कुरा सुनाए । त्यहाँ अहिले डोजरले खनिरहेको छ नि भन्ने प्रश्नमा उनले त्यो त्यहाँको स्थानीय बासिन्दाको मर्जीको कुरा हो भने । बडा गजब भनाइ !

त्यही पुरातत्व विभागको करिब एक दशकअघिको एक अनुसन्धान प्रतिवेदनमा विजयपुर दरबारलाई एक प्राचीन स्मारक भन्ने लेखेको छ । अहिलेसम्म त्यसको सीमांकन गरिसक्नुपर्नेमा, उल्टो उत्खनन गरेको ठाउँमा केही पाइएन, अब त्यहाँ के बनाउने भन्ने कुरा जनसरोकारको विषय हो पो भन्छ पुरातत्व विभाग !

प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा ३ -ख) अनुसार सार्वजनिक प्राचीन स्मारकको स्वामित्व पुरातत्व विभागमा रहनेछ । त्यस्ता सार्वजनिक प्राचीन स्मारकहरुको संरक्षण, मर्मत तथा जीर्णोद्धार पुरातत्व विभागल गर्नेछ ।

तर, विजयपुरमा केही दिन उत्खनन भयो, केही भेटिएन । अब पुरातत्व विभागले माथि उल्लेख गरेजस्तो कुरा भन्न मिल्छ ?

धराने एक मित्रले केही दिनअघि पुरातत्वको अहिलेको काम कारबार्ही पूरै शंकाको घेरामा छ भनेका थिए । उनको भनाइमा अवश्य तुक रहेछ ।

विजयपुर दरबार क्षेत्र

दरबार र दरबार क्षेत्र दुई फरक अर्थमा प्रयोग हुन्छन् । सोसल साइन्स बहाः प्रकाशित ‘सम्पदा व्यवस्थापनको ६० वर्ष’ (सन् २०१५) शीर्षक पुस्तिका अनुसार ‘दरबारले भवन र ती भवनबीचमा रहेको चोकसहितको एउटा परिधिमा बाँधिएको क्षेत्रलाई बुझाउँछ । र, दरबारबाहिर र तर दरबारको उपयोगका लागि व्यवस्था गरिएको खुला या धार्मिक तथा सांस्कृतिक संरचनासहितको क्षेत्रलाई दरबार क्षेत्र भनिन्छ ।’

यसअनुसार दरबार क्षेत्रमा एक/दुई दिन खन्दा केही नभेटिनु ठूलो कुरा होइन भन्नुपर्ने हुन्छ । त्यहाँ केही नहुन पनि सक्छ । तर, पनि त्यो ठाउँ त दरबार क्षेत्र नै हो भन्ने माथिका कुराबाट पुष्टि हुन्छ ।

खनेको केही ठाउँ पर जुन ठाउँमा अहिले विजयपुर दरबार थियो भनेर ध्वजा राखेर बारिएको छ, त्यो एउटा आँगनजत्रो ठाउँमात्रै हो । त्यहाँ कसरी किरातीहरुले दरबार थियो भनेर दाबी गरे, अचम्मै लाग्दो छ ।

फोनवार्तामा चुम्लुङ उपाध्यक्षले त्यो ठाउँ त किरात अन्तिम राजा बुद्धिकर्ण रायको होइन बल्कि विजयनारायण राजाको चाहिँ दरबार थियो भने । उनका अनुसार पनि त्यो त एक प्राचीन स्मारक नै रहेछ । चाहे बुद्धिकर्ण होस वा विजयनारायण ।
यहाँ उल्लेखित कुरालाई मात्र पत्याउँदा पनि त्यो त एक दरबार क्षेत्र नै हो । यसले त्यो ठाउँदेखि उनले भनेको हात्तिसार क्याम्पस रहेको स्थानसम्म त दुईवटा दरबार रहेछन् । त्यसले गर्दा त्यो ठाउँ त स्वतः दरबार क्षेत्र हुने नै भयो ।

तिगेलाले त लिम्बू राजाको दरबार त हात्तिसारतिर रहेको मात्रै हो भने । यसले गर्दा अहिले उपनगरपालिकालाई त लिम्बूको अस्तित्वै नभएको स्थानमा संझौता गरेर लिम्बूले जितेको जिकिर गरे । विजयनारायण पनि लिम्बू समुदायकै थिए भन्ने चाहिँ उनको बुझाइ रहेनछ ।

मैले हस्ताक्षर गर्ने पक्षबाट बुझेको अर्को एक कुरा पनि छ । त्यो भनेको विजयपुर दरबार क्षेत्रमा अहिले पानीको ट्यांकी बनाउन दिऊँ, त्यसबापत नगरपालिकाले उक्त क्षेत्र लिम्बूको समुदायको मातहतमा ल्याइदिनेछ भन्ने उनीहरुको बुझाइ छ । कस्तो अचम्म ! त्यो विजयपुर दरबार क्षेत्र लिम्बू समुदाय मात्रैको हो ? त्यो त इतिहास हो । इतिहास एउटा समुदायका लागि मात्रै हुँदैन ।

के बुद्धिकर्ण रायबारे लिम्बूले मात्रै पढ्छन् ? अहिलेको सन्दर्भमा विजयपुर दरबार क्षेत्र एक प्राचीन स्मारक हो । त्यसलाई संरक्षण र संवर्द्धन गर्ने मुख्य जिम्मा पनि सबैको हो ।

अहिले चुम्लुङले आफना उद्देश्यमध्ये विजयपुर दरबार क्षेत्रको हकमा त्यसलाई एक प्राचीन स्मारकको पहिचान स्थापित गराउन क्रियाकलाप गर्नु पर्ने हो । विजयपुरमा उहिले लिम्बूहरुको बाहुल्य थियो । त्यो लिम्बूले पक्कै गर्व गर्ने सन्दर्भ भने, हो ।

त्यसमाथि बुद्धिकर्ण राय राजा थिए । र, अहिले चुम्लुङले विजयपुर दरबारको उहिलेको परिकल्पाना गरी उहिलेकै झल्को दिनेगरी विजयपुर दरबार राज्यबाट पुनः संरचना गर्न लगाउनुपर्ने अहिलेको आवश्यकता हो । तर, चुम्लुङलेे विजयपुर दरबार क्षेत्रको केही भाग हाम्रो पोल्टामा पर्छ भनेर स्मार्ट भनाउँदा लिम्बूहरुलाई गुमराहमा पार्न खोजेको देखिन्छ ।
बुद्धिकर्ण रायको दरबारको भरपर्दो अस्तित्व नपाइएकाले त्यसलाई प्राचीन स्मारक होइन भन्ने गरेको पनि पाइयो ।

पुरातत्व विभागले प्रकाशन गरेको जानकारीअनुसार ‘प्राचीन स्मारक’ भन्नाले इतिहास, कला, विज्ञान, वास्तुकला वा स्पापत्यकलाको दृष्टिकोणले महत्व राख्ने सर्वाजनिक सम्पति, एक सय वर्ष नाघेको मन्दिर, स्मारक, घर, देवालय, शिवालय, मठ, गुम्बा, विहार, स्तूप, आदिलाई सम्झनुपर्छ र सो शब्दले स्मारक रहेको ठाउँ र राष्ट्रिय वा अन्तराष्ट्रिय दृष्ट्रिकोणले विशिष्ट मूल्य राख्ने एकअर्कोसँग जोडिएको वा एकै इलाकामा बेग्लाबेग्लै रुपमा अवस्थित मानव बस्ती वा स्थल र प्राचीन मानव बस्तीको अवशेष, प्राचीन स्मारकहरुका भग्नावशेष, गुफा आदि समेतलाई जनाउँछ ।

विजयपुर दरबार क्षेत्रमा पहिले यत्रतत्र ईंटाहरु पाइन्थे । सरुङहरु त अझै रहेको बताइन्छ । पुरातत्वले यस्तो परिभाषा नलेखेको भए पनि त्यो एक प्राचीन स्मारक नै हो ।

लिम्बूहरु चुके

किरात याक्थुङ चुम्लुङ ‘लिम्बू जातिको भाषा, लिपि, साहित्य, धर्म, संस्कृति तथा इतिहासको क्षेत्रमा खोजपूर्ण अध्ययन अनुसन्धान गर्ने’ भनेर संघ संस्था दर्ता ऐन अनुरुप दर्ता भएको एक संस्था हो । तर, स्थापना भएको तीन दशक पुग्न लाग्दासम्म चुम्लुङले विजयपुर दरवार क्षेत्रका बारेमा कहिल्यै ध्यान दिएन ।

उसले अहिलेसम्म प्राचिन स्मारक संरक्षण ऐन २०१३ अनुसार विजयपुर दरबार क्षेत्रलाई कुन तहको प्राचीन स्मारक हो पहिचान गराइ सक्नुपर्थ्यो ।

महत्वका दृष्टिकोणले प्राचीन स्मारकहरु अन्तराष्ट्रिय महत्व, राष्ट्रिय महत्व र स्थानीय महत्वका आधारमा विभाजन गर्ने गरिएको पाइन्छ । राज्यलाई यसतर्फ अग्रसर हुन चुम्लुङ कहिल्यै लागेन । यस अर्थमा चुम्लुङ चुकेको छ ।

सिंधुवामा पनि यस्तै

धरान बसन्तपुर सडक खण्डमा पर्ने सिंधुवामा करिब १० वर्ष अघि होला, सिमेन्ट उद्योग स्थापना हुने चर्चा भयो । उद्योगका लागि व्यापारीले जग्गा किने -भारतीय र चाइनिज) । त्यसको विरोध विजयपुर दरबार क्षेत्रको जस्तै भयो । त्यसपछि अगुवाहरुसँग व्यवस्थापन पक्षले भलाकुसारी गर्‍यो । उनीहरु सहमत भए ।

बाहिर आएको जानकारीअनुसार उक्त उद्योगबाट स्थानीय बासिन्दामा फाइदै फाइदा हुन्छ भनियो । सिमेन्ट उद्योगमा स्थानीयलाई रोजगारी दिइन्छ भनियो । विकास निर्माणका लागि स्थानीय बासिन्दालाई सित्तैमा निश्चित मात्रामा सिमेन्ट दिने आदि कुरा पनि पहिले विरोध गर्नेहरुले नै भने । उनीहरु पछिल्लो समय सिमेन्ट उद्योगका लागि सहज कर्ता बने ।

उक्त उद्योग रहेका गाउँपालिकाका एक कर्मचारीले यही फाल्गुन १७ गते पंक्तिकारलाई पुराना सबै वृतान्त सुनाए । उनले भने अनुसार त्यसबेला उद्योग उत्पादन गर्ने उच्च कारिन्दा त्यस ठाउँका लागि भगवान सरह देखिए । त्यहाँका सबैलाई खानपिन गराउने, धनकुटा वा बसन्तपुर जानु परे गाढी सित्तैमा उपलब्ध गराइ दिने आदि गर्ने गरिएको थियो ।

व्यवस्थापन पक्षले धेरैको सानोतिनो गर्जो टारी पनि दियो । त्यसपछि सबैले हस्ताक्षर नै गरेर यो सिमेन्ट उद्योग आवश्यक छ भन्ने सहीछाप गरिदिए । त्यसको अर्थ त्यहाँ स्थापना गर्न उनीहरुको कुनै बाधा अवरोध हुने छैन भनेर व्यवस्थापन पक्षलाई लिखितम दिए ।

यसरी सरकारी ऐनलाई मिचेर जनताले दिएको लिखितमका आधारमा त्यहाँ निगालो ओपिसी सिमेन्ट उद्योग स्थापना भयो । कामदार सबै बाहिरबाट ल्याइयो । विकास निर्माणमा सहयोग गरिदिने त कुरै हरायो । स्थानीय व्यक्ति त के गाविसलाई केही बोरा सिमेन्ट दिन पनि हिच्किचाहट भयो ।

अहिले सिंधुवा क्षेत्रमा यति प्रदुषण छ कि त्यो ठाउँ वरपर बस्नयोग्य छैन । त्यसैले स्थानीय जनता उक्त सिमेन्ट उद्योग हटाउने पक्षमा लागेका छन् । उद्योग लामो समय बन्द पनि भयो । सर्वोच्चमा मुद्दा पर्‍यो । सर्वोच्चले पहिले स्वीकृति दिएको सबै कागजात हेरेर उद्योग स्थानीय तहमा प्रदुषण नगरी सञ्चालन गर्नु भन्ने आदेश दिएको बुझिएको छ ।
सिमेन्ट उद्योगले वरपर प्रदुषण नगर्ने भन्ने कुरै हुँदैन । अहिले निगालो सिमेन्ट उद्योग सञ्चालनमा त छ, तर अन्तै सार्ने सहमति भइसकेको छ ।

निगालो सिमेन्ट उद्योगको कुरा धरानमा खानेपानी ट्यांकी बनाउनु दिनुपर्छ भन्ने दुई पृथक कुरा भए पनि प्रकृयाचाँहि उस्तैउस्तै देखिएको छ । अहिले धेरैले भन्न थालेका छन् – किरात याक्थुङ चुम्लुङका केही पदाधिकारीहरु हिजोआज एडीबीका सहजकर्ता बनेका छन् ।

यहाँ भ्रम नपरोस् कि धरानमा खानेपानीको ट्यांकी बनाउनुहुन्न भन्ने आशय कसैको छैन । पानी ट्यांकी अर्को ठाउँमा बनाउनुपर्छ । यसमा पनि एउटा गज्जब प्रसँग छ । चुम्लुङले पहिले अर्को ठाउँ कहाँ बनाउन उपयुक्त हुन्छ भनेर दुईजना इन्जिनियरहरुलाई आन्तरिकरुपमा खटाएको थियो रे ।

तर, ती दुई इञ्जिनियरले त्यो ठाउँबाहेक अन्यत्र कहीँ पनि बनाउन उपयुक्त छैन भन्ने निस्कर्ष निकालेछन् । कस्ता इञ्जिनियर रहेछन् कि खानेपानी ट्यांकीको लागि त्यही ठाउँमात्र सम्भव भएको पत्तो लगाउने ?

समग्रमा राज्यको ऐन कानुनलगायत विभिन्न विषयवस्तु अध्ययनतर्फ किरात याक्थुङ चुम्लुङमा संलग्न हुने अगुवाहरु अत्यन्तै पछि परेको देखियो । यसैगरी विश्वभर छरिएर रहेका लिम्बू समुदायले विजयपुर दरबार क्षेत्रमा पानी ट्यांकी किमार्थ बनाउन दिनुहुन्न त भनिरहेका छन् । तर, लिम्बूका बुद्धिजीविहरु कानमा तेल हालेर बसेको अवस्था छ ।

चुम्लुङमा गत चैत १ गतेबाट योगराज वनेमको नेतृत्वमा नयाँ समिति चयन भएको छ । वनेमका लागि पहिलो गाँसमै ढुगा परेको छ । यसलाई सही समाधान गरे चुम्लुङको गिरेको साख फर्किन्छ । अन्यथा, भिरबाट लडेको गाईलाई ‘राम राम भन्न त सकिन्छ, तर काँध थाप्न सकिन्न’ भन्ने चरितार्थ हुन्छ ।

हिजो साँझबाट विजयपुर दरबार क्षेत्रलाई राजनीतिक आवरणमा ढालिने संकेत देखिएको छ । अब यसले छुट्टै मार्ग लिन सक्छ । त्यसलाई समयमै सुझबुझ गर्नु राम्रो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment