Comments Add Comment

सुनसरीमा रोकिएन वन फँडानी, तत्कालै रोक्न वनमन्त्रीको निर्देशन

प्रदेश १ का वनमन्त्रीले गरे स्थलगत अनुगमन


७ चैत, इटहरी । वैज्ञानिक वन व्यवस्थापनको नाममा मोरङमा जथाभावी वनका रुखहरू काटिन थालेपछि प्रदेश १ का मुख्यमन्त्रीको निर्देशनले रोकिए पनि सुनसरीमा भने अझै वन फँडानी रोकिएको छैन । यो कुराको पुष्टि जिल्ला वन कार्यालय सुनसरीका प्रमुख राजेन्द्र निरौलाले नै गरेका छन् ।

‘गत वर्षमै स्वीकृत भएको वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत हामीले फायर ल्याण्ड बनाउने कार्यक्रम धरानको चक्ला वनमा सुरु गरेका छौँ’, जिल्ला वन कार्यालयका प्रमुख निरौलाले अनलाइनखबरसँग भने, ‘यो प्रयोजनका लागि ४० लाख बजेटसमेत विनियोजन भएको छ । यसमा अहिलेसम्म आधा बजेट मात्रै सकिएको छ ।’

जिल्ला वन कार्यालयका प्रमुख निरौला अघिल्लो वर्षमै स्वीकृत कार्यक्रम भएकाले कार्यक्रम नरोकिने बताउँछन् ।

फायर ल्याण्ड भनेको वनमा डढेलो लाग्दाखेरि थप वन विनास नहोस् भन्दै वनका रुखहरू कटान गरेर राएिको खाली स्थान भएको निरौलाले बताए । फायर ल्याण्ड बनाउने कार्यक्रम अन्तरर्गत ९ देखि १२ फिटको जंगल क्षेत्रका बोटबिरुवाहरू मासिने निरौलाले बताए ।

सुनसरीका ६४ वटा सामुदायिक वन, ४ वटा धार्मिक वन र केही चक्ला वनहरूमा पनि यस्तै कार्यक्रमहरू हुँदै आएको वन अधिकृत निरौलाले बताए ।

जिल्ला वन कार्यालयका प्रमुख निरौलाले रुखहरू काट्नैपर्ने बाध्यता रहेको बताए ।

सुनसरीको वन क्षेत्र ३३ सय ७३ हेक्टरमा फैलिएको वन कार्यालयको तथ्यांक छ ।

कटान रोक्न प्रदेशका वन मन्त्रीको निर्देशन


यसैवीच प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले वन कटान रोक्न प्रदेश १ का सबै वन कार्यालयहरूलाई निर्देशन दिएका छन् ।

मङ्गलवार मोरङका विभिन्न वनहरूमा स्थलगत अनुगमनमा पुगेका कुसियतले सबैलाई वन कटान तत्काल रोक्न भनेका हुन् ।

मन्त्री कुसियतले अब प्रदेशको नयाँ ऐन, कानुन र विधि बनेपछि मात्रै बाँकी कामहरू गर्न वन कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

‘तीन तहको सरकार भए पनि कानुनी अन्यौका वीचमा स्थानीय र प्रदेश सरकार पूर्णरूपमा सञ्चालनमा नआउँदै हतारमा वन कटान गरिएको दुःखद अवस्था देखियो’, मन्त्री कुसियतले वन कर्मचारी तथा सामुदायिक वन उपभोक्ता समितिलाई निर्देशन दिँदै भने, ‘अब आजैबाट यस्तो अलोकप्रिय र अवैज्ञानिक कदम रोकियोस् ।’

सामुदायिक वनका पदाधिकारी पनि असन्तुष्ट

सुनसरीका वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन अन्तर्गतको फायर ल्याण्ड बनाउने नाममा रातारात वन फँडानी हुन थालेको भन्दै सामुदायिक वनका कार्यकर्ताहरु पनि असन्तुष्ट बनेका छन् ।

सामुदायिक वन उपभोक्ता समिति महासंघ सुनसरीका अध्यक्ष केशव गौतमले आफूहरूलाई वैज्ञानिक वन व्यवस्थापनको नाममा भइरहेको वन फँडानीमा चित्त नबुझेको सार्वजनिक प्रतिक्रिया दिएका छन् ।

मार्न मिल्ने तर सार्न नमिल्ने वैज्ञानिक वन व्यवस्थापन !

वैज्ञानिक वन व्यवस्थापनको नाममा अग्ला र सग्ला रुखहरू कटान हुन थालेपछि पूर्वका केही स्थानीयहरूले वन व्यवस्थापनमा रुखविरुवाहरु हटाउनै परे मार्न हैन, सार्न आग्रह गरेका छन् ।

उनीहरूले वन क्षेत्रका राम्रा साल, सिसौ जस्ता रुखहरू बन्न सयौँ वर्ष लाग्ने भन्दै अन्यत्र कुनै खाली स्थानमा रोप्न वा पुराना ठुटा भएको स्थानमा सार्न माग गरेका छन् ।

‘हामीले वनको दुःखद कटान र टिम्बर कर्पोरेशन नभएको अवस्थामा भएको रुखको तस्करी रोक्न रुख मार्न हैन सार्न भनेर प्रस्ताव राख्याै‌’, पूर्वका पर्यटन व्यवसायी राधेश्याम पौडेलले भने, ‘हामीले कुनै जङ्गल कम भएको क्षेत्र वा कुनै पार्कमा वा जङ्गलकै पुराना ठाउँबाट उक्काएर रुखहरू सार्न आग्रह गरे पनि पार लागेन ।’

आफूले कोशी गाँउपालिकामा कोशी किनारको बालुवामा नरिवलका रुखहरू नै सारेको बताएका पौडेल आफ्नो समूहलाई अधिकार दिए वैज्ञानिक वन व्यवस्थापनबाट विस्थापित हुने रुखहरू पनि त्यसै गरी आवश्यक स्थानमा सार्न निःशुल्क सहयोग गर्ने बताउँछन् ।

तर, आफूले यो विषयमा वन कार्यालयका कर्मचारीबाट असहयोग पाएको पौडेल बताँउछन् । उनी भन्छन्, ‘रुख मार्न मिल्ने, तर सार्न नमिल्ने यो कस्तो वैज्ञानिक वन व्यवस्थापन हो ?’

यता जिल्ला वन कार्यालयका प्रमुख निरौला पनि केही व्यवसायीहरूले निःशुल्क रुख सार्ने कुरा गरेको बताउँछन् । वागमती किनारमा पनि बिरुवा हैन, रुखै रोप्ने चर्चा आएजस्तै गर्न मिल्दैन भन्ने प्रश्नमा निरौलाले भने, ‘रुख सार्ने कुरा अर्कै हो, यो कार्यक्रम अर्र्कै हो । यी फरक–फरक परियोजना हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment