
७ चैत, काठमाडौं । उच्च व्याजदर पाइन थालेपछि व्यक्तिगत निक्षेपकर्ताले बैंकमा पैसा राख्ने क्रम बढेर गएको छ । तर, यसको फाइदा अर्कै तरिकाले बैंकहरुले उठाइरहेका छन् ।
राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा चालु आर्थिक वर्षको सात महिनामा व्यक्तिगत निक्षेप एक खर्ब दुई अर्बले बढेको छ । गत असारसम्म बैंकहरुमा १२ खर्ब ६९ करोड निक्षेप रहेकोमा माघसम्म यस्तो निक्षेप ८ प्रतिशतले बढेर १३ खर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।
गत असारमा औसतमा सबैखाले निक्षेपको ब्याजदर ६.१७ प्रतिशत रहेको थियो भने माघमा यो दर ७ प्रतिशतभन्दा धेरै पुगेको प्रारम्भिक अनुमान छ । हाल बैंकअनुसार मुद्दती निक्षेपमा ११ प्रतिशत, बचतमा ८ प्रतिशत र कल निक्षेपमा ७ प्रतिशतसम्म ब्याज दिइएको छ ।
‘ब्याजदर बढेको कारण पनि हो, तर ब्याज साँवामा गएर जम्मा भएको, बैंकहरु गाउँ-गाँउमा पुगिरहेकाले पनि यस्तो निक्षेप बढेको हो ,’ नेपाल बैंकर संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने ।
हुनत राष्ट्र बैंकले संस्थागत निक्षेपमा गरेको कडाइ, कर्जा योग्य पूँजी अभाव समस्याले पनि बैंकहरुलाई व्यक्तिगत निक्षेप बढाउन दबाब पर्दै आएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई संस्थागत निक्षेपको हिस्सा कुल निक्षेपको ४५ प्रतिशतभित्र राख्न निर्देशन दिएको छ । बैंकहरुले २०७५ असारसम्ममा यो दरमा निक्षेप ल्याए सक्नुपर्ने भएको हो ।
सबै खाले बैंक तथा वित्तीय संस्थाहरुमा भने माघसम्ममा यस्तो निक्षेपको हिस्सा ४४ प्रतिशतमा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप भने ६ प्रतिशतले वृद्धि भएर २५ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।
विदेशी मुद्रामा रहेको निक्षेप घट्यो
केही बहुराष्ट्रिय कम्पनीले लाभांश लैजाँदा र डलरमा आएको केही व्यवसायीको रकम झिक्न अदालतले खुला गरिदिएपछि बैंकहरुमा विदेशी मुद्रामा रहेको निक्षेप समेत १७ अर्बले घटेको छ । असारमा बैंकहरुसँग ९० अर्ब रुपैयाँ विदेशी मुद्रा निक्षेप रहेकोमा माघमा घटेर १९ प्रतिशतले घटेर ७३ प्रतिशतमा सीमित भएको हो ।
बैंकहरुसँग विदेशी मुद्रामा रहेको निक्षेपलाई पनि कर्जा लगानीको लागि प्रयोग गर्न सक्ने सुविधा छ । विदेशी मुद्राको निक्षेपको कारण कर्जा लगानीमा केही राहत महसुस गरिरहेका बैंकहरुलाई यसमा भएको कटौतीले पनि दबाव सिर्जना भएको छ ।
यद्यपि कर्जा लगानी सीमा गणनामा यस्तो निक्षेप देखाउन नपाइने भएकोले ठुलो दबाब नहुने अध्यक्ष ढुंगाना बताउँछन् ।
लगानी नगरी व्याज खाने प्रवृत्तिमा सुधार
एउटा बैंकले अर्को बैंकमा निक्षेप (अन्तर बैंक निक्षेप) राखेर ब्याज खाएर बस्ने यसअघिको प्रवृत्तिमा केही सुधार आएको छ । कर्जाको बढ्दो माग र निक्षेप वृद्धिदरमा देखिएको सुस्तीले यसमा सुधार आएको हो ।
०७३ असारयता मात्रै अन्तर बैंक निक्षेप २४ अर्बले घटेको छ । ९२ अर्ब रुपैयाँसम्म रहने गरेको अन्तर बैंक निक्षेप गत माघमा घटेर ६७ अर्ब ५० करोडमा सीमित भएको छ । गत, असारमा भने यस्तो निक्षेप ७५ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । विशेष गरी विकास बैंक र वित्त कम्पनीहरुले वाणिज्य बैंकमा निक्षेप राखेर ब्याज खाने परिपाटी रहेको छ ।
त्यस्तै, माघसम्ममा बीमा कम्पनीहरुले बैंकमा एक खर्ब ६५ अर्ब, कर्मचारी सञ्चय कोषले ५० अर्ब र नागरिक लगानी कोषले ६० अर्ब रुपैयाँ राखेका छन् । अन्य सरकारी संस्थानहरुले दुई खर्ब ४३ अर्ब रुपैयाँ निक्षेपको रुपमा राखेका छन् ।
प्रतिक्रिया 4