Comments Add Comment

साझामा मनपरीः करोडौं पुस्तक थन्किए, अवकाशप्राप्त कर्मचारी काममा !


११ चैत, चितवन । नेपाली भाषा साहित्यको संरक्षण एवं साहित्यिक कृति उत्पादन गर्दै आएको सरकारी स्वामित्वको संस्था साझा प्रकाशनका कर्मचारीले प्रभावकारी रूपमा काम नगर्दा बजारमा माग भइरहेका पुस्तकहरू पनि स्टोरमै थन्किएका छन् ।

भरतपुरस्थित स्याउलीबजारमा रहेको क्षेत्रीय कार्यालयको अव्यवस्थापनका कारण कर्मचारी आफूखुशी बिदामा बस्ने, अवकाश प्राप्त कर्मचारीसमेत हाजिर गरेर बस्ने र व्यापार प्रवद्र्धनमा काम नगर्ने प्रवृत्तिले सोचेजति पुस्तक बिक्री हुन सकेको छैन ।

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा अनुगमनमा आउँदा क्षेत्रीय कार्यालय प्रमुख नै दुई सातादेखि बिना जानकारी कार्यालयमा अनुपस्थित रहेको र बजार प्रवद्र्धन नभएको भेटिएको छ ।

निजी क्षेत्रका प्रकाशक तथा व्यवसायीले सीमित स्रोत साधनका बीच पनि प्रशस्त मुनाफा आर्जन गरिरहेका बेला कर्मचारीको उदाशीनताले सरकारी स्वामित्वको साझा प्रकाशन क्रमशः ओरालो लाग्दै गएको हो ।

अहिले पनि केन्द्र र १३ वटा शाखा कार्यालयमा गरी रु २२ करोड बराबरका पुस्तक स्टोरमा भण्डारण छ । चितवन कार्यालयले माग गरेर पुस्तक बेच्न सक्ने अवस्था भए पनि कर्मचारीले चासो नदिएको शर्मा बताउँछन् । साझा प्रकाशन क्षेत्रीय कार्यालय चितवनले पछिल्लो असोज, कात्तिक र मंसिर महिनामा करिब ६ लाखको मात्रै व्यापार गरेको छ । जबकि सोही संस्थाको नुवाकोट शाखाले पछिल्लो ६ महिनामा करिब रु ६० लाखको व्यापार गरेको छ ।

महाप्रबन्धक शर्माले आफ्नो छड्के अनुगमनमा स्थानीय तहमा समन्वय गर्नुपर्ने काम समेत कर्मचारीबाट नभएको पाइएको बताए । कर्मचारी आफूखुशी अनुपस्थित भएको, कामको जिम्मेवारी छैन भनेर एक अर्कोमा दोष थोपरेर बस्ने गरेको तथा व्यापार प्रवद्र्धनमा गर्नुपर्ने कामसमेत नगरेको पाइएको शर्मा बताउँछन् ।

चैत १ गतेदेखि अनुपस्थित हुँदासमेत क्षेत्रीय कार्यालय प्रमुख मनरथ घिमिरेले कुनै जानकारी नगराएको उनी बताउँछन् ।

घिमिरेले भने एक दिनका लागि झापास्थित घर जाने क्रममा दुर्घटनामा परेर घाइते हुँदा आउन नसकेको बताए ।

व्यापार बढाउन भने सक्दो प्रयास गरेको घिमिरेको दाबी छ । अध्यक्ष तथा महाप्रबन्धक शर्मा भने व्यापारको सम्भावना प्रशस्त भएर पनि यसका लागि प्रयास नै नगरेको देखिएको बताउँछन् ।

साझा प्रकाशनको भरतपुर हाकिमचोकमा रहेको करिब पाँच कट्ठा जग्गाको समेत सदुपयोग हुन सकेको छैन । अनुगमनमा कर्मचारीले तलबसमेत खान नपाएको र १० महिनाको घरभाडासमेत नबुझाएको पाइएको छ । लेखा परीक्षण नभएकाले यथार्थ हरहिसाबसमेत देखिएको छैन ।

यस्तै कार्यालयका एकजना कर्मचारी अमृतकान्त पण्डित ०७३ माघ १ गतेदेखि नै अवकाश प्राप्त भए पनि हाजिर गरेर बसिरहेको पाइएको छ । पण्डितलाई अवकाशको एक महिनाभित्र बुझबुजारथ गर्न लिखित निर्देशन दिँदासमेत हालसम्म हाजिर गरेर बसेका हुन् ।

कार्यालयमै भेटिएका पण्डितले जिम्मेवारी बुझबुझारथ नभएकाले बसिरहेको बताए । कार्यालयका प्रमुख मनरथ घिमिरेले पण्डितलाई पुनः करार नियुक्तिका लागि केन्द्रमा लिखित आग्रह गरेको पाइएको छ ।

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक शर्माले नुवाकोट, पोखरालगायत केही कार्यालयले उत्कृष्ट काम गरे पनि चितवनको क्षेत्रीय कार्यालय भने प्रभावकारी नदेखिएको भन्दै चिन्ता व्यक्त गरे । साझा प्रकाशनका विभिन्न जिल्लाको वस्तुस्थिति के छ भनेर अनुगमनमा हिँडेको बताउँदै अध्यक्ष शर्माले चितवनपछि बुटवल, दाङ, नेपालगन्ज र धनगढीको अनुगमन गर्ने बताए ।

साझा प्रकाशनले सामुदायिक विद्यालयको ३ देखि ९ सम्मका अंग्रेजी माध्यमका पुस्तक उत्पादन र वितरण गर्दै आएको छ । योसँगै साहित्यलगायत विविध पुस्तक प्रकाशन र वितरण गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment