Comments Add Comment

धनगढीबाट सुरु भयो देश दर्शन अभियान

१५ चैत, कैलाली । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजना गरिएको ‘साहित्यिक-सांस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियान २०७४’ बिहीबारबाट सुरु भएको छ ।

अभियानको प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन् ।

सुदूरपश्चिममा रहेका विभिन्न धार्मिक एवं सांस्कृतिक विषयहरुलाई चिनाउने उद्देश्यले समाजले देश दर्शन अभियानको थालनी गरेको संस्थाका अध्यक्ष रामलाल जोशीले जानकारी दिए ।

अभियानका क्रममा देखाइने विभिन्न खाले सांस्कृतिक कार्यक्रमहरुले अन्य स्थानमा रहेकाहरुले समेत यसको पहिचान गर्न सकोस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ ।

अभियानमा सुदूरपश्चिममा रहेका विभिन्न समुदायमा रहेका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनेछ । हुड्केली, गौरा, छलिया, भुवो, सखिया, होली नृत्य, डेउडा र राईझुमा लगायतका अन्य थुप्रै प्रस्तुतीहरु रहने अध्यक्ष जोशीले बताए ।

कैलालीको धनगढीबाट सुरु भएको अभियान, महेन्द्रनगर, नेपालगञ्ज, पोखरा, चितवन, काठमाडौ, इटहरी, झापा हुँदै भारतीय शहर गुहाटी, आसाम, सिक्किम र दार्जीलिङ पुगेर पुनः बैसाख १ गते धनगढी पुगेर समापन गरिने अध्यक्ष जोशीले जानकारी दिए ।

साहित्यिक देश दर्शन अभियानमा प्राज्ञ बासुदेव पाण्डेय, यज्ञराज उपाध्यायलगायत करिब ४० जना विभिन्न विधाका साहित्यकारहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा प्रदेश नम्बर ७ को सामाजिक विकास मन्त्रालय, नेपाल पर्यटन बोर्ड, धनगढी उपमहानगरपालिका, नेपाल टुरिजम बोर्ड लगायत विभिन्न संस्थाहरुको सहयोग रहेको आयोजकले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment