आरपी पन्त कलाकार मात्रै होइनन्, एक सफल पर्यटन व्यवसायी पनि हुन् । उनले पदयात्रा व्यवसाय सुरु गरेको तीन दशकभन्दा बढी भयो ।
पदयात्रा व्यवसाय सुरु गर्नुअघि विभिन्न समयमा हुने नाटक मञ्चनबाट अभिनयको तृष्णा मेट्थे उनी । नाटक खेल्ने क्रममा उज्वल घिमिरे, जयनन्द लामा, रविन्द्र खड्का, लक्ष्मी श्रेष्ठ, हरिबहादुर थापा लगायतसँग संगत थियो । यही सिलसिलामा प्रख्यात हास्यकलाकार सन्तोष पन्तसँग उनको भेट भयो ।
एक दिन सन्तोष पन्त लगायतका साथीहरु जम्मा भए उनकै अफिसमा । सल्लाह भयो, समसायमिक विषयमा टेलिश्रृङ्खला निर्माण गर्ने ।
प्रारम्भमा नाम प्रस्ताव भयो ‘आजभोलीका कुरा’ । पन्तले भने, ‘भोलीको कुरा त कसलाई थाहा हुन्छ र, हिजो आजको कुरा राखौं ।’ सन्तोष पन्तले तत्कालै सहमति जनाउदै भने ‘तिमीले भनेको नाम ठिक छ ।’ त्यही बसाईमै नाम फाइनल भयो ।
तत्कालिन समयको सुपरहिट सिरियल थियो हिजो आजको कुरा । ‘हिजो आजका कुरा’ हेर्नका लागि टिभी किन्नेेहरु प्रशस्तै हुन्थे । ‘हिजो आजका कुरा’ केबल आफु मात्रै अघि बढेन, धेरै कलाकार जन्माउन पनि यसले भूमिका खेल्यो । अहिले पनि बजारमा स्थापित धेरैजसो हास्य कलाकारलाई कसरी अभिनयमा आउनुभयो भनेर प्रश्न गर्दा गर्वका साथ जवाफ दिन्छन्, ‘हिजो आजको कुराबाट ।’
पन्त भन्छन्, ‘मलाई स्टेज अभिनय प्रचण्ड मल्लले सिकाउनुभयो, भिजुअलमा सन्तोष पन्तले ।’
सुरुको १२/१३ भागको सुटिङ काठमाडौंमै भयो । घरभित्रको सुटिङ प्रायः सन्तोष पन्तको घरमा हुन्थ्यो भने अफिसको सुटिङ आरपीको अफिसमा । स्त्रिmप्टमाथि छलफल र लेखन पनि पन्तकै अफिसमा हुन्थ्यो । धेरैजसो दृष्य घरभित्रकै हुने भएकाले धेरै सुटिङ इन्डोर नै हुन्थ्यो ।
प्रशारण सुरु भएको केही हप्तामै ‘हिजो आजको कुरा’ नेपाल टेलिभिजनबाट प्रशारण हुनेमध्ये सुपरहिट कार्यक्रम बन्यो । सिरियलमा काम गर्ने कलाकार पनि हिट भए ।
सौराहामा पर्यटक बढे
जतिवेला ‘हिजो आजका कुरा’ को चर्चा ब्यापक थियो, पन्त पदयात्रा ब्यवसायमा पनि जमेका थिए । कुनै नयाँ ठाउँ पुग्यो कि एकछिन घोत्लीहाल्थे ‘यहाँको के कुरा पर्यटकलाई देखाउन पाइन्छ ?’
चितवनको सौराहाको कसरी चर्चा गर्ने ? उपाय खोजिरहेका थिए । पन्त सम्झन्छन् ‘सौराहा भनेको विदेशी मात्रै जाने ठाउँ हो भन्ने भ्रम थियो आम समुदायमा ।’
सौराह महंगो हैन, रमाइलो गन्तब्य हो । यहि सन्देश समेटेर केही एपिसोड बनाए । सिरियल निर्माण हुनुअघि एक प्रतिशत मात्रै स्वदेशी पर्यटक सौराहा पुग्थे ।
पन्त भन्छन्, ‘जब सौराहामा खिचिएको एपिसोड टेलिभिजनबाट प्रशारण सुरु भयो त्यहाँ जाने स्वदेशी पर्यटकको संख्या ७ प्रतिशत पुग्यो ।’
त्यसपछि उनी अझै उत्साहित भए । सन्तोष पन्तलगायत टिमसँग सल्लाह गरे । अब चितवनमा सुटिङ गर्न जाउँ ।’
चितवनको हात्ती, गैंडा, चराचुरुङ्गी, थारु संस्कृति लगायतको बारेमा चर्चा गर्दै केही एपिसोड बनाइयो । त्यसपछि त्यहाँ स्वेदेशी पर्यटक १७ प्रतिशत पुगे ।
अहिले धेरै चलचित्रकर्मीका लागि सौराहा महत्वपूर्ण गन्तब्य बनेको छ । कतिपय फिल्मले अधिकांश हिस्सा त्यहीँ सुटिङ गरेका छन् । एउटा गीत मात्रै भए पनि सौराहामा सुटिङ गर्नेहरु धेरै छन् ।
म्युजिक भिडियो, टेलिश्रृङ्खला, विज्ञापन लगायतको सुटिङ सौराहमै हुन थालेपछि अहिले त्यहाँ पुग्ने स्वदेशी पर्यटकको अनुपात ५० प्रतिशतको हाराहारीमा छ । पन्त भन्छन्, ‘पर्यटनको सर्वमान्य सिद्धान्त हो, जब कुनै ठाउँमा ५० प्रतिशत स्वदेशी पर्यटक भित्रिन्छन्, त्यो दिगो हुन्छ ।’
सौराहामा आन्तरिक पर्यटकको चाप बढेपछि ‘हिजो आजको कुरा’ टिमले पर्यटन उद्योगको बिस्तारलाई अभियानै बनायो । पोखराको गुप्तेश्वर महादेवको यसरी चर्चा गरियो कि त्यहाँको लागि भनेरै ट्राभल एजेन्सीले प्याकेज घोषणा गर्न थाले । डेभिड फल्स एकातिर गुप्तेश्वर महादेव अर्कोतिर ।
राजेश हमालले खेलेको सिरियल
पन्त ‘हिजो आजको कुरा’ मा ब्यस्त थिए । एउटा मेघा सिरियलबाट अफर आयो । सिरियलको नाम थियो ‘खण्डहरको फूल’ । स्त्रिmप्ट मन पर्यो । काम गरे ।
राजेश हमाल, करिष्मा मानन्धर, गौरी मल्ल लगायत धेरै नाम चलेका कलाकारले अभिनय गरेका थिए त्यसमा । लगभग ३२ भाग सुटिङ भएको थियो । तर, प्रशारण हुन सकेन । सुयोग कोइराला निर्देशक थिए भने सिमोस सुनुवार सहायक निर्देशक ।
त्यही वेला उनलाई मह जोडीको फिचर फिल्म ‘फिलिम’ बाट प्रस्ताव आयो । मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्यजस्ता कलाकारसँग अभिनयको प्रस्ताव अस्वीकार गर्ने कुरै भएन ।
पन्त भन्छन् ‘फिलिममा काम गरेपछि मलाई आत्मविश्वास बढ्यो ।’
मन्त्री जोशीको बोलावट
जतिवेला ‘हिजो आजको कुरा’ ले बजारमा उधुम मच्चाएको थियो । पन्त ‘टान’का अध्यक्ष थिए । पर्यटन व्यवसायमा हाइफाई जीवन जिइरहेका पन्तलाई धेरै व्यवसायी साथीहरु भन्ने गर्थे, ‘तपाई जस्तो व्यवसायी अभिनयमा नजानुस् ।’ तर, उनले सुझाब मानेनन् । व्यवसाय चल्दै गयो, अभिनय पनि चल्दै गयो ।
एक दिनको कुरा । बेलुका नौ बजेको थियो । उनी खाना खाईवरी घरमै बसिरहेका थिए । टेलिफोनको घण्टी बज्यो । उनले हल्लो भन्ने बित्तिकै आवाज आयो ‘पन्त जी नमस्कार, म मन्त्री रामहरी जोशी । मलाई तपाईको अभिनय सार्है मन पर्यो । अहिले एकछिन मन्त्री क्वाटर आउन सक्नुहुन्छ होला ?’
मोटरसाइकल लिएर निस्किए उनी मन्त्रि क्वाटर । मन्त्री जोशी उनलाई कुरिरहेका रहेछन् । वेडरुममै राखेर कुरा गरे ।
‘मलाई तपाईको अभिनय सार्है मनपर्छ, यत्ति भनौ भनेर । भविष्यमा cmभ राम्रो गर्नु होला,’ जोशीले भने ।
पन्त मन्त्रीलाई धन्यवाद भन्दै फर्किर्ए ।
एक दिन बिहान उनी ठमेलमा हिँड्दै थिए । तीन/चार जना केटाकेटी आएर हात समाउन थाले । अलि पर पुगेपछि अन्य वच्चा भेट भए । उनीहरुले आफ्ना बा आमालाई बोलाएर ल्याए । पन्तको हात समाएर हिँड्न पाउदा बच्चाहरु अति खुसी थिए । उनीहरुका वाबुआमा पनि उत्तिकै रमाइरहेका थिए ।
गुलशन ग्रोवरसँग मनमुटाव
पन्त आफ्नै अफिसमा थिए । एक जनाले भन्यो- एउटा टिम हलिउडबाट आएको रहेछ । अंग्रेजीमा डाइलाग बोल्नुपर्ने रे, तपाईले काम गरिदिनुपर्यो ।
उनी गए । निर्देशक रहेछन् तिब्बेतियन मुलका अमेरिकामा बस्ने । क्यामराम्यान लगायत अन्य प्राविधिकहरु हलिउडबाटै आएका रहेछन् । पन्तको समकक्षी थिए बलिउड कलाकार गुल्सन ग्रोबर ।
निर्देशकले भनेका थिए, ‘तपाईको सुटिङ एक दिनमा सकिन्छ । गोकर्ण रिसोर्टमा अडिसन दिन आउनुस ।’
त्यसपछि पन्तले भने, ‘सक्नुहुन्छ भने मलाई विश्वास गर्नुस्, होइन भने अरु कोही कलाकार खोज्नुस् । तर, म अडिसन दिन आउदिनँ ।’ निर्देशकले ओके-ओके भने ।
निर्धारित दिनमा समयमै सेटमा पुगे । अरु पनि थुप्रै नेपाली प्राविधिक रहेछन् । उनीहरुले पन्तलाई देख्नेबित्तिकै गुल्सन ग्रोवरले सुटिङको क्रममा नेपालीलाई हेपेको सुनाए । कुरा सुन्ने बित्तिकै पन्तको पारो तात्यो । उनले भने, ‘मि. ग्रोवर हामी आ-आफ्नो ठाउँमा आ-आफैं काम गरेर बसेका मान्छे हौं । त्यसकारण म तपाईलाई सम्मान गर्छु । तर, हामीलाई तपाईंले अपमान गर्न पाउनुहुन्न ।’
निर्देशक आए र सिनको बारेमा बि्रफ गरे । बि्रफ लामै भयो । विचमा आएर गुल्सन ग्रोवरले हस्तक्षेप गरे । पन्तलाई चित्त बुझेन । निर्देशकलाई बोलाएर भने ‘गुल्सनजीले आफु सुपर हुनका लागि हस्तक्षेप गरेजस्तै मैले पनि गरेँ भने तपाईको सिन चाहीँ कहिले सकिन्छ ?’ निर्देशकले अध्यारो मुख लगाए । खासमा गुल्सन र ती निर्देशक साथी रहेछन् । गुल्सनलाई केही भन्न सक्ने रहेनछन् ।
उक्त फिल्ममा पन्तको भुमिका निर्वाचन आयूक्तको थियो । गुल्सनले चुनाव विथोल्नुपर्ने । सिनको बारेमा पन्तले सुनेपछि उनलाई लाग्यो, ठ्याक्कै बलिउडको परम्परागत शैलि । भिलेन आउने आयुक्तलाई कुट्ने, अनि जाने ।’
पन्त पनि के कम, गुलसनलाई बोलाएर भने, ‘यो असाध्यै परम्परागत भयो । यसो गरौं । पन्तले दिएको नयाँ आइडिया मन परेछ गुलसनलाई पनि र ओके भने । यसबाट खुसी भए नेपाली प्राविधिक । जसले पटक-पटक गुलसनको अनावश्यक किचकिच सहेका थिए । उनैलाई पन्तले सिकाउँदा प्राविधिक रमाएका थिए ।
आफूले काम गरेकोमध्ये ‘गड लिभ्स इन हिमालय’ उनलाई मन परेको फिल्म हो । त्यसमा प्राविधिक सबै बलिउडबाट आएका थिए । सुनिल थापा, माल्भिका सुब्बा धिरेन शाक्य लगायतले अभिनय गरेका थिए ।
श्रीकृष्णको सम्मान
‘कहाँ भेटिएला’ को सुटिङका लागि टिम बार्हबिसेभन्दा माथि बुङथान पुगेको थियो । श्रीकृष्ण श्रेष्ठ, नीर शाह, शिव रेग्मी, निरुता सिंह, श्वेता खड्का लगायतको टिम थियो ।
त्यो सुटिङमा फिल्म निर्मातासमेत रहेका श्रीकृष्ण श्रेष्ठले अति सम्मान गरे । पन्त भन्छन्, ‘आफैंलाई कस्तो-कस्तो लाग्यो । काम गर्न गएको मान्छे ससुराली गए जस्तो भयो ।’
श्रीकृष्णलाई अन्य समयमा पनि आफुभन्दा सिनियरलाई असाध्यै सम्मान र सानालाई माया गर्ने कलाकारको रुपमा बुझेका थिए उनले ।
अभिनेत्री वसुन्धरा भुषाल उनलाई गज्जब लाग्छ । सुटिङको अवधिलाई एकदमै रमाइलो बनाएर लैजाने भुषालको शैली निकै मन पर्छ उनलाई । नीर शाहको छिन छिनमा जंगिने शैली पनि गज्जब लाग्छ ।
दिलिप रायमाझीले खुट्टैमा ढोगे
चलचित्र ‘मलाई माफ गरिदेउ’ को सुटिङ थियो बालाजुस्थित एनएफडीसी स्टुडियोमा । रातीको समय पन्त सुटिङ सकेर बसिरहेका थिए ।
‘ल दिलिप रायमाझी आइपुग्यो,’ सुटिङ युनिटमा हल्ला भयो । तत्कालिन सुपरस्टार दिलिप सुटिङमा आउदा राम्रै हल्लिखल्ली हुन्थ्यो । तर, पन्तले चिनेका थिएनन् ।
एउटा बुट लगाएको केटो टक-टक आयो र पन्तको अगाडी टक्क रोकिएर उनको खुट्टा समायो । त्यतिबेला सुटिङको एकजना प्राविधिक आएर चिनाजान गराइदिए, ‘आरपी दाई, उहाँ दिलिप रायमाझी ।’
दिपिल चुपचाप हिँडिहाले ।
‘खासमा मलाई टाढावाट हेर्दा दिलिपले तुलसी घिमिरे जस्तो देखेछन् र ढोगेका रहेछन्,’ हाँस्दै आरपीले सुनाए ।
प्रतिक्रिया 4