Comments Add Comment

रारामा आउन प्रम ओलीलाई मुख्यमन्त्री शाहीको निम्तो

२३ चैत, काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न रारामा आउन औपचारिक निम्तो दिएका छन् ।

मुख्यमन्त्री शाहीले बिहीबार आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसँगै प्रधानमन्त्री निवास बालुवाटार पुगेर निम्तोपत्र दिनुभएको हो ।

निम्तोपत्र ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटनका लागि आफू रारामा आउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा वैशाख १ गते प्रधानमन्त्री ओलीले ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष, २०७५’ को समुद्घाटन गर्नेछन् ।

समुद्घाटनसँगै प्रधानमन्त्रीले राराबाट राष्ट्रका नाममा सम्बोधन गर्ने, कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरु शे–फोक्सुण्डो, छायानाथ, हिल्सा, पचाल झरनाको अवलोकन गर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बैठकको अध्यक्षता गर्ने कार्यक्रम तय गरिएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए ।

यसैगरी पर्यटन वर्ष उद्घाटन कार्यक्रममा सरिक हुनाका लागि मुख्यमन्त्री शाहीले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि निम्तो दिएका छन् ।

मुख्यमन्त्री शाहीले शुक्रबार बिहान निजी निवास खुमलटार पुगेर पूर्व–प्रधानमन्त्री प्रचण्डलाई निम्तोपत्र दिएका हुन् ।

प्रदेश सरकारले कर्णालीमा पर्यटन प्रवद्र्धन गर्न र पर्यटनलाई समृद्धिको बलियो आधार बनाउन ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष २०७५’ को आयोजना गर्ने निर्णय गरेको छ ।

प्राकृतिक सुन्दरता, थुप्रै सम्भावनाको भण्डार र मनोरम दृश्यले भरिपूर्ण कर्णाली प्रदेशलाई यो आयोजनाले आन्तरिक तथा बाह्य पर्यटकका साथै क्षेत्रगत लगानीकर्तालाई आकर्षण गर्ने अपेक्षा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment