Comments Add Comment

बट्टाईपालन गर्ने कृष्णमान भन्छन् : यसलाई देशभरी फैलाउँछु

मुटुदेखि दम रोगीसम्मले खान मिल्ने मासुको बढ्दो ब्यापार

२३ चैत, काठमाडौं । धापासी हाइटको सानो टहरो । टहरोभित्र सानो खोर । त्यही खोरमा चिर्बिराइरहेका बट्टाईहरुको साथमा हुर्कदै छ, कृष्णमानको ‘ठूलो सपना’ ।

उमेरले त कृष्णमान ३० वर्षका भए । तर, बट्टाईका मामिलामा उनी परिपक्व बुज्रुकजस्तै भइसके । युवा उमेरको यो उत्साहलाई उनले नयाँ अनुभव लिने र त्यसलाई सकेसम्म धेरैमाझ पुर्‍याउने सपनासँग जोडेका छन् ।

१२ वर्षको उमेरदेखि उनले प्लम्बिङ र इलेक्ट्रिसियनको काम थालेका थिए । २८ वर्षको हुँदासम्म उनका हातमा हथौडा, पेन्चिस, टेस्टर र रेन्चु छुटेनन् । दुई वर्षयता उनको दैनिकी फेरिएको छ । अब उनको हातमा चिर्बिराउन थालेका छन्-बट्टाई ।

साँझ विहान बट्टाईकै स्याहार सुसारमा व्यस्त कृष्णमानले बाँच्ने नयाँ कला सिकेका छन् । जिन्दगीलाई नयाँ तरिकाबाट जिउने अठोट पनि यसले दिलाएको छ । हो, अब उनी बट्टाई पालन व्यवसायबाट अलग्गिने कल्पना नै गर्न सक्दैनन् ।

बट्टाई ?

बट्टाई जंगली पन्छी हो । यो तित्रो चरोको जस्तो रंग भएको, भंगेरो प्रकृतिको तर भंगेरोभन्दा केही ठूलो हुन्छ । छोटो पुच्छर भएको यो पन्छी खेतका आली र दुलादुलीमा गुँड बनाएर बस्छ ।

बट्टाई जंगली पन्छी भए पनि प्रविधिले कुखुराजस्तै पाल्न मिल्ने बनाइसक्यो । संसार सम्मुनत हुँदै जाँदा थरी-थरी स्वाद चाख्ने मानवीय प्रवृत्तिको विस्तारले बट्टाई पालनको सुरुवात भयो ।

जापानबाट सुरु भएको बट्टाई पालन नेपालमा पनि फैलिँदैछ । कृष्णमानले यसैका लागि झण्डै १६ वर्षदेखि गर्दै आएको निर्माण प्राविधिकको काम छाडिदिए ।

दुई वर्षको अवधिमै कृष्णमानले बट्टाई पालनको नौलो अनुभव संगालेका छन् ।


‘ज्यानले सकिन्जेल त हथौडा चलाइन्थ्यो होला, एक दिन बिरामी परेँ भने कमाइ नै बन्द हुने भयो’, उनी भन्छन्, ‘अब म बट्टाई पालनमै हुन्छु । बट्टाई पालनलाई कुखुरापालनजस्तै देशभर फैलाउने धोको पूरा गर्नेछु ।’

आम्दानीको कुनै पीर छैन उनलाई । भएको कमाइले घर परिवार चलाउन समस्या छैन । जेनतेन चलिरहेको जिन्दगीलाई बट्टाईसँगै उडाउने सपना उनीसँग छ ।

आजभोलि त उनलाई फोन उठाएरै भ्याइनभ्याइ छ । बट्टाईं र यसको अण्डाको माग गर्ने, पालनको आइडिया लिने अनि आफूले पनि व्यवसायिक पालन गर्ने भन्दै बट्टाईका चल्ला लिन आउने प्रशस्तै छन् ।

‘मैले मागअनुसार दिन नै सकेको छैन’, उनी भन्छन्, ‘म हरदम व्यस्त हुन पाएको छु । विविध अनुभव र हौसला सँगालिरहेको छ्ु ।’

बट्टाई पालनका ‘गुरु’

बट्टाई पालनमा अनुभवले उनी पूर्ण तिखारिएका त छैनन्, तैपनि सिक्दैछन्, सिकाउँदैछन् । उनको बट्टाई फर्ममा अहिले दैनिक ५ देखि १० समूह बट्टाई पाल्ने आइडिया लिन पुग्छन् ।

दम, युरिक एसिड, मुटुरोग, बाथ रोग र हाडजोर्नीको समस्या भएका बिरामीका लागि बट्टाईको मासु लाभदायक हुन्छ ।

अहिले उनी देशभर बट्टाई पालनको ज्ञान बाँड्दैछन् । सिकाउन उनी कतै जानै पर्दैन, फर्ममै आउनेहरुबाट उनको ज्ञान फलिँदैछ । देशका विभिन्न ठाउँबाट आएका युवाले उनीसँग सिकेरै यो व्यवसाय थालेका छन् ।

‘यो सबैतिर फैलाउन जरुरी छ, बट्टाईको फाइदा कति छ भनेर थाहा दिन जरुरी छ । पाल्ने र खाने दुबैका लागि यो महत्वपूर्ण छ,’ श्रेष्ठ भन्छन् ।

शुक्रबार कृष्णमानलाई भेट्न पुगेका दाङका दिपेन्द्र एमसीलाई उनी भन्दै थिए, ‘२ लाखसम्ममा नै यो व्यवसाय थालिहाल्न सकिन्छ । ५ लाखसम्म खर्च गर्नुभयो भने ३ देखि ६ महिनामा लगानी उठाएर तपाईं नाफामा जान थाल्नुहुन्छ ।’

बढदैछ, बट्टाईको बजार

धापासी हाइटमा सानो फर्म खडा गरेर व्यवसाय चलाइरहेका छन् श्रेष्ठले । उनका फर्ममा अहिले २ हजारभन्दा बढी बट्टाई छन् । यिनले दिनमा हाराहारी १ हजार अण्डा दिन्छन् ।

त्यो अण्डालाई उनले बालाजुको ह्याचरीमा लैजान्छन् र चल्लाका रुपमा कोरल्छन् । त्यो चल्लालाई ३ हप्तासम्म पालेपछि उनले पाल्न चाहानेहरुलाई उपलब्ध गराउँ छन् ।

बट्टाईको चल्लालाई प्रतिगोटा १५० देखि २ सय रुपैयाँसम्ममा बिक्री गर्छन् । मासु खान चाहनेका लागि एउटा बट्टाईको १३० देखि १५० रुपैयाँसम्म लिन्छन् । भर्खरै अण्डा पार्न सुरु गरेका बट्टाईमात्र पाल्नका लागि उनी उपलब्ध गराउँछन् ।

१० वटाभन्दा बढी बट्टाईको मासु माग गर्नेलाई घरसम्मै निःशुल्क डेलिभरी पनि गर्छन् । बजारमा समस्या नहोस् भनेर विभिन्न तरिकाहरु लगाएका छन् । पछिल्लो समयमा बजारका लागि समस्या परेको पनि छैन, उनलाई ।

‘सुरुमा मैले ३ हजार वटा अण्डा सित्तैमा बाँडे । त्यसको स्वाद परेकाहरु यहीँ नै किन्न आए,’ उनी पुरानो अनुभव सुनाउँदै भन्छन्, ‘अहिले त्यस्तो अवस्था छैन । नियमित रुपमा मकहाँबाट मासु डिमान्ड गर्नेहरु धेरै हुनुहुन्छ ।’

अहिले काठमाडौंको बजारमा बट्टाईको माग छ । स्थानीय क्षत्रेमा निकै मिहिनेत गरेर कृष्णमानले बट्टाईको मासुको बजार विस्तार गर्दैछन् । मासु पसल, मिट मार्ट लगायतसँग समन्वय गरेरै उनले बजार विस्तार गरेका हुन् ।

भिडियोमा हेर्नुस्

सुरुमा बजार बनाउँदा पाएको सस्तीको उनलाई राम्रो सम्झना छ । तर, हतास भएनन् । हरेस नखाएकै कारण आजको सफलता पाएकोमा उनी स्पष्ट छन् ।

‘सुरुमा त मैले फुटपाथमा बसेर यसको अण्डा बेचें । यसबारे बुझाएँ । त्यसपछि मात्रै बजारले पत्यायो,’ उनी भन्छन्, ‘जसले जहाँ यो व्यवसाय गरेपनि स्थानीय बजार नलिई हुँदैन । त्यसका लागि बिजनेश टि्रकहरु लाउनुपर्छ ।’

मासु पसलहरुमा उनी चरा छाडिदिन्छन् । बिक्री भएपछि पसलेहरुले सम्झौताअनुसार रकम दिन्छन् ।

विभिन्न रोगमा उपयोगी

बट्टाईको मासु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । विशेष गरी दमका रोगीका लागि यो उपयोगी छ । गर्मी महिनामाभन्दा जाडो महिनामा बट्टाईको मासुको माग बढी हुन्छ ।

युरिक एसिड, मुटुरोग, बाथ रोग र हाडजोर्नीको समस्या भएका बिरामीका लागि यो लाभदायक हुन्छ ।

‘यो मासु औषधिकै रुपमा प्रयोग हुने हो । प्रोटिन लगायतका विभिन्न तत्व प्रशस्त पाइने भएकाले यसको मासुलाई विशेष रुपमा नै लिइन्छ’, कृष्णमान भन्छन्, ‘अहिले ठूला होटल र पार्टी प्यालेसहरुमा पनि यसको माग बढेको छ ।’

यसको अण्डा पनि बालबालिकाकाे शारीरिक वृद्धिविकासका लागि निकै महत्वपूर्ण मानिन्छ ।

स्याहार गर्न सजिलो

बट्टाई चरा बढीमा ३ सय ग्रामसम्मको हुन्छ । सानो हुने भएकाले यसलाई स्याहार गर्न सजिलो छ । शान्त वातावरण भएमा सानो खोरमै पनि थुप्रै पाल्न सकिन्छ । ब्रोइलर र लेयर्स कुखुरालाई दिने दाना नै यसले खाने हो ।

बढीमा ६ हप्ताबाट यसलाई मासुका लागि बिक्री गर्न सकिन्छ । तर, कृष्णमान भने २ महिनाअघि बिक्री नगर्ने बताउँछन् ।

‘अली हृष्ठपुष्ट भएपछि बिक्री गर्दा राम्रो हुन्छ,’ उनी भन्छन्, ‘बजारले पत्याउने र मन पराउने खालको उत्पादन दिनसक्नुपर्छ ।’

बट्टाई व्यवसाय थाल्दा ठूलो लगानी पनि आवश्यक पर्दैन । खोर बनाउनेसहित सबै लागत हिसाव गर्दा सुरुमा ५ लाखमा २ हजार बट्टाई पाल्न सकिन्छ ।

२ हजार बट्टाई पाल्दा महिनाको ५० देखि ८० हजारसम्म आम्दानी हुन्छ । तर, २ लाखसम्मको सानो लगानी लगाएर सुरुवात गर्न भने सकिन्छ । बट्टाई पालेर उचित स्याहार गर्दा मर्ने जोखिम पनि निकै कम हुन्छ ।

‘यसलाई पिँजडाजस्तै होचो खोरमा पाल्ने हो । सानो केजमा पाल्दा सयमा ९९ वटा चल्ला बाँच्छन्,’ उनी भन्छन्, ‘ठूलो जोखिम छैन । यो गर्मीमा नै पाल्ने चरा हो । जाडो बेलामा खोरमा १५ डिग्रीसम्मको तापक्रम चाँही हुनैपर्छ ।’

उनको अनुभवमा यसमा कुखुरा पाल्न जस्तो झन्झट छैन । बजार लिन सकियो भने यसबाट मनग्ये आम्दानी गर्न सकिन्छ ।

‘व्यवसायमा आएपछि डराएर हुँदैन । कहिलेकाँही सानो घाटा भएपनि सहनुपर्छ,’ श्रेष्ठ दोहोर्‍याउँन्, ‘निरन्तरता दिने अठोट भयो भने यसलाई फैलाउन सकिन्छ ।’

व्यवसाय विस्तारको सपना

कृष्णमान आफ्नो फर्मलाई तत्कालै विस्तार गर्ने योजनामा छन् । अण्डा कोरल्ने मेसिन आफैं किनेर बट्टाईको संख्या बढाउने उनको तयारी छ ।

‘अब यो व्यवसाय फैलियोस् भन्ने इच्छा छ । विदेश जाने युवाहरुलाई सानो लगानीमा हुने यो व्यवसायमा आउन म आग्रह गर्छु’, उनी भन्छन्, ‘सबैले प्रयास गर्ने हो भने बट्टाईको बजार छ । बजारका लागि डराएर बस्नैपर्दैन ।’

श्रेष्ठले आफूसँग बट्टाई लगेर व्यवसाय थालेकाहरुलाई बजार बनाउन सघाइरहेका छन् । उनी यो व्यवसाय उपत्यका बाहिर बसेर गर्दा नै बेस हुने बताउँछन् ।

काठमाडौंमा मात्र होइन, बाहिर पनि यसले बजार लिनसक्ने सम्भावना छ । त्यसैले यसलाई देशव्यापी रुपमा फैलाउन उनी लागिपरेका छन् । अहिलेसम्म उनको फर्मबाट बट्टाई लगेर गोरखा, बर्दिबास, सर्लाही, दाङ, गाईघाट लगायतका क्षेत्रमा पाल्न थालिएको छ । नयाँ व्यवसायीले दिएको प्रतिक्रियाबाट उनी उत्साहित छन् ।

‘अब सबैतिर बट्टाईका फर्म होउन्, यही नै मेरो सपना हो,’ उनी भन्छन्, ‘यो लाभदायक व्यवसायमा धेरैलाई ल्याउन सकिन्छ । २०-३० हजार कमाउन विदेश जानैपर्दैन भन्ने सन्देश यसबाटै दिन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment