Comments Add Comment

दिल्लीबाटै गरियो वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीको उद्घाटन


२४ चैत, नयाँदिल्ली । नेपाल भारत सीमामा बनाइएको वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाटै यसको उद्घाटन गरेका हुन् ।

भारत सरकारले एक अर्ब ३९ करोड रुपैयाँ लगानीमा यो आईसीपी निर्माण गरेको हो । वीरगञ्जस्थित सिर्सिया खाल्वाटोला र अलौगाउँको बीचमा बनेको छ, यो जाँच चौकी ।

यो भन्सारको आधुनिक अवधारणा हो । दुई मुलुकको सीमामा भन्सारसँग सम्बन्धित सबै सुविधा एकै ठाउँमा उपलब्ध गराउने अवधारणा हो यो ।
यसबाट दुई मुलुकबीचको व्यापार सहजीकरण हुनुका साथै खुला नाकामा हुने विचलन नियन्त्रण हुने विश्वास छ ।

आईसीपीमा अध्यागमन, भन्सार, सुरक्षा, अतिरिक्त गोदाम, बैंक, होटेल, पशु र वनस्पति क्वारेन्टाइन, प्रयोगशाला, खाद्य प्रविधि र गुण नियन्त्रण कार्यालय, पार्किङलगायत सुविधा एउटै कम्प्लेक्सभित्र रहन्छन् ।

आईसीपी सञ्चालनमा आएपछि अहिले वीरगञ्ज र रक्सौल भन्सार नाकामा देखिएजस्तो मालवाहक सवारीसाधनको जाम र कमिसनको खेल घट्ने अनुमान छ ।

सन् २०११ देखि निर्माण शुरु भएको आईसीपीको काम प्रारम्भिक सम्झौताअनुसार अक्टोबर २०१३ मा पूरा भइसक्नुपर्ने थियो ।


आईसीपीलाई नै लक्षित गरेर वीरगञ्ज-पथलैया सडक ६ लेनको बन्दै छ । एकीकृत जाँचचौकीमा निर्माणाधीन गोदामले भविष्यमा आयात हुने मालवस्तुको चाप थेग्न नसक्ने गुनासो उद्योगीहरुको छ । साँघुरो गोदामका कारण आईसीपी सञ्चालनमा आउनासाथ समस्या शुरु हुने उनीहरुको भनाइ छ ।

निर्माण कम्पनीले भने सम्झौतामा तोकिएको आकारको गोदाम निर्माण गरिएको बताएको छ ।

भारतीय पक्षले आवश्यक गोदाम नेपाल सरकारले बनाउनुपर्ने बताउँदै आएको छ । पर्याप्त गोदामको व्यवस्था नभएमा विदेशबाट आएको सामान आईसीपीमा अनलोड नगरी जाँचपछि सीधै लिएर जाने र बाहिर भण्डारण गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment