+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

क्रिकेट रंगशाला बनाउने ठाउँ हेर्न धुर्मुसको टोली पोखरामा

सम्भावित चारै ठाउँबाट हिमाल देखिने

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ चैत २४ गते १८:४२


२४ चैत, पोखरा । क्रिकेटको अन्तर्राष्ट्रिय रंगशाला बनाउने अभियानमा लागेका कलाकार सीताराम कट्टेल (धुर्मुस) सहितको टोलीले शनिबार रंगशाला बनाउन सकिने पोखराका सम्भावित ४ ठाउँको अवलोकन गरेको छ ।

धुर्मुससहित आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरे, प्रदेश सांसद तथा क्रिकेट संघका पूर्वकार्यवाहक अध्यक्ष दीपक कोइराला, सञ्चारकर्मी रवि लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेललगायत क्रिकेटसँग सम्वद्ध संघसंस्थाका प्रतिनिधिले सम्भावित ठाउँको अवलोकन गरेको हो ।

टोलीले पोखरा रंगशालास्थित क्रिकेट मैदान, पोखरा लेखनाथ महानगरपालिका ३ मा पर्ने नगर प्रशिक्षण केन्द्र स्थित खेल मैदान, महानगरपालिका २० पट्नेरीस्थित पशुपति आर्यघाट र महानगरपालिका २५ हेमजाको लामपाटनस्थित मैदानको अवलोकन गरेको थियो ।

यीमध्ये पोखरा रंगशालाको क्रिकेट मैदान सबैभन्दा उपयुक्त देखिएको बताइएको छ । पोखरामा हेरिएका चारवटै मैदान क्रिकेट रंगशाला बनाउन उपयुक्त देखिए पनि रंगशालाको मैदान सबैभन्दा उपयुक्त भएको निश्कर्ष निकालिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।

‘सम्भावित भनिएका चारवटै स्थानबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खला देखिन्छ, तर रंगशाला सबै हिसाबले उपयुक्त देखिन्छ’ उनले भने ।

मैदानमा २० हजार क्षमताको मात्रै रंगशाला बनाउन सकिने यसअघि गरिएको विस्तृत परियोजना प्रतिवेदनमा देखिएकाले जग्गा बढाउनुपर्ने निश्कर्ष निकालिएको छ ।

अन्तर्राष्ट्रिय स्तरको करीब ३५ हजार दर्शक अटाउने क्षमताको रंगशाला बनाउनका लागि थप जग्गा आवश्यक पर्ने र त्यसका लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जग्गा उपलब्ध गराउन सकिने बताएपछि त्यसमा धुर्मुससहितको टोली सकारात्मक देखिएको स्रोतले बताएको छ ।

नगर प्रशिक्षण केन्द्रको मैदान १ सय २० रोपनीको छ भने पट्नेरीस्थित पशुपति आर्यघाटको मैदान २ सय रोपनीको छ । त्यस्तै हेमजाको लामपाटनस्थित मैदान १ सय ५० रोपनीको छ ।

क्रिकेट रंगशाला बनाउन सम्भावित ठाउँहरुको अवलोकनपछि अभियन्ता धुर्मुसले सुन्दर तथा पर्यटकीय नगरी पोखरा क्रिकेट मैदान बनाउनका लागि उपयुक्त रहेको बताए ।

यद्यपि उनले क्रिकेट रंगशाला बनाउने कुरा प्राविधिक विषय भएकाले प्राविधिक र अन्य अभियन्ताहरुसँगको छलफलपछि मात्र निर्णय लिइने बताए । पोखरा, चितवन, हेटौंडा, रुपन्देही र काठमाडौंमा पनि अवलोकन गरिसकिएको र सबैको तुलनात्मक रुपमा मूल्यांकन गरेर क्रिकेट रंगशालाको ठाउँ टुंगो लगाइने उनले जानकारी दिए ।

धुर्मुसले रंगशाला बनाएरै छाड्ने र त्यो नमूना बन्ने उद्घोष गरे । ‘जहाँ बने पनि रंगशाला बन्छ, त्यो पनि नमूना बन्छ, रंगशाला बन्नु भनेको देश बन्नु हो, सरकारदेखि लिएर सरोकारवाला र सर्वसाधारण जनतासमेत सकारात्मक रहेका छन्’ उनले भने, ‘सबै पक्ष सकारात्मक बन्दाबन्दै पनि रंगशाला बन्दैन भने देश पनि बन्दै भन्ने सन्देश पनि हो, त्यसैले जहाँ भएपनि एउटा रंगशाला बन्छ, बनाएरै छाड्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?