Comments Add Comment

विराट गोल्डकप : थ्रीस्टार र आर्मीबीच उपाधि भिडन्त हुँदै

फाइल तस्वीर

२६ चैत, विराटनगर । मोफसलकै सर्वाधिक पुरस्कार राशी रहेको विराट गोल्ड कपको उपाधिका लागि सोमबार त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

शहीद रंगशालामा साँझ ६ बज फ्लडलाइटको उज्यालोमा हुने फाइनल खेलमा आर्मी क्लब सिजनको आठौं उपाधि कब्जा गर्ने रणनीतिमा हुनेछ भने थ्रीस्टार आर्मीलाई रोकेर उपाधि संख्या पाँच पुर्‍याउने दाउमा छ । आर्मी झापा ११ लाई १-० ल गोल अन्तरले पराजित गर्दै आर्मी गत शुक्रबार फाइनल प्रवेश गरेको हो ।

संकटालाई शनिबार ४-० को फराकिलो गोल अन्तरले निराश बनाउँदै थ्रीस्टारले उपाधि होडमा आर्मीसंगको भेट पक्का गरेको हो ।

दुबै टिमले उपाधिका लागि आफूलाई पूर्ण दावेदार प्रस्तुत गर्दै त्यही अनुसारको तयारीलाई तिव्रता दिइरहेको दावी प्रस्तुत गरेका छन् ।

जारी सिजनमा सातवटा उपाधि उचालिसकेको आर्मी विराट गोल्डकप कब्जा गरेर उपाधि संख्या आठ बनाउने दाउमा छ । ११ वटा प्रतियोगितामा सहभागी भएकोमा सातवटाको उपाधि कब्जा गरेको आर्मी सिजनकै सर्वाधिक उपाधि जित्ने टिम हो ।

सिजनको चारवटा उपाधि आफ्नो पक्षमा पारिसकेको थ्रीस्टार पनि आर्मीलाई अघि बढ्न नदिइकन उपाधि संख्या पाँच बनाउने तयारीका साथ मैदानमा आउँदै छ । १० वटा प्रतियोगिता खेलेको थ्रीस्टारले आठवटामा फाइनल पुगे पनि उपाधि भने चारवटा मात्रै जितेको छ ।

यी दुई टिमबीच यस वर्ष विराट गोल्डकपमा चौथो पटक भेट हुन लागेको हो । तेस्रो पटकसम्मको प्रतिस्पर्धामा आर्मीले २ र थ्रीस्टारले एक खेलमा जित हासिल गरेको छ ।

खप्तड गोल्डकपको क्वार्टफाइनलमा २-१ र सीमरा गोल्डकपको फाइनलमा २-० गोल अन्तरले थ्रीस्टारले आर्मीलाई स्तब्ध बनायो । मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा भने आर्मी थ्रीस्टारसंग ट्राइब्रेकरमा ५-४ गोल अन्तरले पराजित भयो ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आर्मीसंग यसअघि दुइवटा गोल्डकपमा बेहोरेको हारको बद्ला लिने अवसरका रुपमा विराट गोल्डकपलाई लिइएको बताए । ‘दुबै टिम उत्तिकै सक्षम र मजवुत छन्,’ आर्मीका पूर्वप्रशिक्षकसमेत रहेका उनले भने, ‘थ्रीस्टार विरुद्ध अवसरको सिर्जना गरेर चान्स पाउन साथ ‘क्लिक’ गर्ने हाम्रो रणनीति छ ।’

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले उपाधि रक्षाका लागि उपयुक्त रणनीति तयार पारेर उत्कृष्ट प्रदर्शन गरिने बताए ।

‘थ्रीस्टारविरुद्ध सिजनमा तेस्रो जित निकाल्ने हाम्रो तयारी हो,’ उनले भने, ‘उपाधि भिडन्तका लागि संघर्ष गर्नु पर्ने भएकाले पनि बढी नै मेहनत गरिने छ ।’

विराट गोल्डकपको विजेताले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment