+
+

विवाहअघि आफैंसँग सोधौं केही प्रश्न, पछुताउनु पर्दैन !

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २७ गते ९:२०

 

भनिन्छ, विवाह जीवनमा एक पटक मात्र हुन्छ । यस हिसाबले विवाहको निर्णय जीवनको सबैभन्दा महत्वपूर्ण निर्णय हो । अरू कुराको निर्णय गर्दा हडबडी गरे पनि विवाहको निर्णय गर्दा वा जीवनसाथी रोज्दा कहिल्यै पनि हतार गर्नु हुँदैन र अर्काको कुरामै पूर्ण विश्वास गरेर अघि बढ्नु हुँदैन । कतिपयले परिवारको दबाबमा आएर, उमेर घर्कने डरमा परेर पनि विवाह गर्छन् तर उनीहरूलाई थाहै हुँदैन कि आफू केका लागि विवाह गर्दै छु ? के विवाहका लागि तयार छु ? जोसँग विवाह गरिँदै छ ऊसित आफ्नो विचार तथा जीवनशैली मिल्छ कि मिल्दैन ?

वास्तवमा मानिसहरू यी सबै कुरालाई सामान्य ठानेर बेवास्ता गर्छन् र यस्ता कुरामाथि विचार गर्नसमेत आवश्यक ठान्दैनन् । परिणामस्वरूप विवाहपछि कलह, विवाहेतर सम्बन्ध, दैनिक घम्साघम्सी अनि भनाभन अनि अन्त्यमा सम्बन्विच्छेद । जब कि यो कुरा कसैले पनि चाहेको हुँदैन ।

त्यसो भए के गर्ने त ? केही कुरा छन् जुन विवाहअघि आफूले आफैंसँग सोध्नु आवश्यक छ । ता कि विवाहपछिको जीवन सुमधुर होस् । के हुन् त ती कुरा ?

म के चाहन्छु ? प्रश्न गरौँ

विवाह गर्नुअघि हरेकले आफूसँग सोध्नुपर्ने कुरा हो- म के चाहन्छु ? विवाह गर्न बाँकी साथीहरूले यो कुरा अवश्य पनि सोधौँ । विवाह पक्कापक्की भइसकेको छ भने पनि पार्टनरसँग यस विषयमा कुरा गरौँ र उसले के चाहन्छ, उसको रुचि के छ भन्ने कुरा बुझौँ । के ऊसँग आफ्नो सोचविचार मिल्छ ? मिल्छ भने अघि बढौँ र मिल्दै नमिल्ने विचार छन् र भविष्यमा यो व्यक्तिसँग जीवन बिताउन सकिँदैनजस्तो लाग्यो भने अलिकति हिम्मत जुटाऔँ । सबै कुरा भइसकेर कुरा बिग्रनुभन्दा पहिल्यै राजीखुसी सम्बन्ध नगाँस्नु नै उत्तम हुन्छ । त्यसका लागि आफ्नो विचार भने प्रस्ट हुनु जरुरी छ । मनमा कुनै द्विविधा हुनु हुँदैन ।

-अरूको बहकाउमा आएर निर्णय गर्नु हुँदैन ।

-आफैंसँग सोधौं- म केका लागि विवाह गर्दै छु ।

-एकअर्काको विचार जान्नुबुझ्नु आवश्यक छ ।

सोचाइको दायरा फराकिलो बनाऔँ

कुनै सम्बन्धमा रहेको व्यक्तिलाई घरपरिवारले कहीँ अन्तै विवाह गरिदिन खोजो वा ऊमाथि दबाब सिर्जना गरे भने उसले हरेक मानिसमा कमी मात्र देख्छ । किनभने उसका लागि त्यही व्यक्ति मात्रै सम्पूर्ण रूपले सुन्दर लाग्छ जोसँग उसको प्रेम छ । यस्तो अवस्थामा मानिसहरू आफ्नो सोचाइको दायरा साँघुरो पार्छन् र कुनै नयाँ उम्मेदवारसँग भेट्दा आफ्नो सोचअनुसार उसलाई हेर्छन् अर्थात् उक्त व्यक्तिलाई राम्रोसँग ध्यान नै दिँदैनन् । जब कि कसैसँग भेट्दा उसको कुरा राम्रोसँग सुन्नु तथा आनिबानी विचार गर्नु बुद्धिमानी हुन्छ । उसको बारेमा कुनै पूर्वधारणा बनाउनुअघि उसलाई राम्रोसँग नियाल्नुपर्छ । उसलाई कुराकानी गर्ने पर्याप्त समय दिनुपर्छ पहिल्यै कुनै धारणा बनाउनु हुँदैन ।

आफ्नो मनको कुरा सुनौँ 

विवाह गर्ने पक्का भइसकेपछि जीवनसाथी रोज्ने क्रममा दुनियाँको कुरा नसुनी केवल आफ्नो मनको कुरा सुन्नुपर्छ । जोसँग विवाह गरिन्छ ऊसँग जीवन आफूले बिताउने हो दुनियाँले होइन । कतिपय अवस्थामा मानिसले अरूको करकापका कारण आफ्नो मन मारेर फैसला गर्छ अनि पछि पछुताउनुको विकल्प रहँदैन । पछि अरूलाई दोष त दिन सकिएला तर दुःख बेहोर्न त आफैंले पर्छ । त्यसकारण यत्तिको मान्छेसँग मेरो जीवन राम्रोसँग बित्छ भन्ने कुरा आफ्नो मनले ठहर नगरेसम्म विवाहका लागि अघि बढ्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?