Comments Add Comment

चितवनमा सुरक्षा जोखिम बढेको निश्कर्ष : विप्लवका ४ कार्यकर्ता पक्राउ

भरतपुर महानगरपालिका १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि मंगलबार आक्रमण भएको थियाे ।

२८ चैत, चितवन । चितवनमा पछिल्लो समयमा भएका हिंसात्मक घटनाहरुले सुरक्षा जोखिम बढाएको निश्कर्ष सुरक्षा अधिकारीहरुले निकालेका छन् ।

नारायणगढ बजारको मुख्य बजार शहीदचोकमा दिनदाहाडै भरतपुर महानगरपालिकाका १० का वडाध्यक्ष अरुणपीडित भण्डारी र भरतपुर २ क्षेत्रपुरमा कालिका कन्सट्रक्सनमा बम बिस्फोटका घटना भएसँगै यहाँको जनजीवन त्रसित बनेको छ ।

जिल्ला सुरक्षा समितिको बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुरक्षा चुनौती बढेको निश्कर्ष निकाल्दै आपराधिक क्रियाकलापलाई निस्तेज बनाएर जाने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

मंगलबार भएका दुवै घटनामा नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपाको हात रहेको दावी प्रहरीको छ । ‘कानुन विपरीतका घटनाहरु बढेकोमा समीक्षा भयो’, प्रजिअ भट्टले भने, ‘प्रहरीको सुरक्षा तैनाथी बढाएर सुक्ष्म ढंगबाट खोजी र अनुसन्धान अघि बढ्छ ।’

जिल्लाका सबैजसो स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुलाई राजीनामा दिन नेकपाले पत्र काटेको छ । दुई साताअघि नेकपाका कार्यकर्ताले क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटामाथि मोविल खन्याएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनले नेकपाका कार्यकर्तालाई निगरानीमा राखेको बताएको छ । नेकपाको नाममा जिल्लामा विभिन्न आपराधिक क्रियाकलापहरु बढ्न थालेपछि सो पार्टीका नेता र कार्यकर्तालाई धरपकड गर्ने काम तीब्र पारिने प्रहरी स्रोतले जानकारी दियो ।

नेकपाका ४ जना पक्राउ

मंगलबारका दुई घटनापछि चितवन प्रहरीले नेकपाको जनपरिचालन समिति सदस्य दिवस भुसाल सहित अन्य ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमध्ये एक जना बम विस्फोटमा संलग्न भएको र अन्य ४ जना वडाध्यक्ष भण्डारीमाथि आक्रमणमा संलग्न रहेको प्रहरीको दावी छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दीपक थापाले आपराधिक क्रियाकलापमा संलग्न कसैलाई पनि नछाड्ने चेतावनी दिए ।

जिल्लामा नेपाल प्रहरी ,शशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीलाई बिशेष सक्रिय बनाएर काम गरिरहेको थापाको दावी छ ।

भण्डारीमाथिको आक्रमणको निन्दा

भरतपुर महानगरपालिका १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि मंगलबार भएको आक्रमणप्रति जिल्लाका क्रियाशील प्रमुख ३ राजनीतिक दलहरुले विरोध जनाएका छन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल, नेपाली कांग्रेसका सभापति जीतनारायण श्रेष्ठ र माओवादी केन्द्रका जिल्ला इन्र्चाज ईश्वरी भट्टराईले संयुक्त विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका छन् । उनीहरुले घटनामा संलग्नको खोजी गरी कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment