+
+

पोखरामा नयाँ वर्षः यसरी हुँदैछ ‘सेलिब्रेसन’

अमृत सुवेदी अमृत सुवेदी
२०७४ चैत २९ गते १२:०७

२९ चैत, पोखरा । यसै पनि पर्यटकको स्वागतमा जागिरहन्छ, पोखरा । नेपाली नयाँ वर्ष होस् या अंग्रेजी नयाँ वर्ष, पोखराले सामूहिक सेलिब्रेट गर्छ । कहिले ‘जाउँ है पोखरा’ भन्दै नेपालका विभिन्न सहरदेखि विदेशसम्म निम्तो बाँड्न पुग्छन् पोखराका व्यवसायी ।

पोखरामा केही न केही उत्सव भइरहन्छन्, कहिले लेकसाइड, लेखनाथ र अन्य क्षेत्रमा ।

यसपाली पनि फेवाताल किनारमा नयाँ वर्ष उत्सवका रुपमा मनाइँदै छ, पोखरामा । ‘फेवा ताललाई संरक्षण गरौं,’ नारा दिएर पोखरामा ‘फेवा नव वर्ष महोत्सव’ सुरु भएको छ । यो १५ औं संस्करणको महोत्सव हो । पश्चिमाञ्चल होटल संघले चैत २८ गतेदेखि आगामी वैशाख २ गतेसम्म मेला चल्नेछ ।

महोत्सवको सम्पूर्ण तयारी सकिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । ‘नयाँ वर्षलाई हामीले उत्सवका रुपमा सामूहिक मनाइरहेका छौंं,’ तुलाचनले भने, ‘प्रत्येक वर्षजस्तै यो वर्ष पनि पोखरा नयाँ वर्ष महोत्सवमा रमाउने छ ।’

फेवाताल किनार कोमागाने पार्कमा आयोजित नयाँ वर्ष महोत्सवमा रुमाउन देशविदेशका पर्यटक भेला भएका छन् ।
महोत्सव १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवका संयोजकसमेत रहेका तुलाचनले बताए । प्रत्येक दिन बिहान ११ बजेदेखि राति १० बजेसम्म महोत्सव चल्ने छ । तर ३० गते राति भने १ बजेसम्म जागै बसेर नयाँ वर्षको स्वागत गर्ने तयारी छ ।

नेपालका मुख्य सहरमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै महत्व र मौलिक संस्कृतिको रक्षा गर्दै मनाउन लागिएको हो । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण छन् ।

महोत्सवमा खानाका १० र अन्य ३० व्यापारिक गरी कूल ४० स्टल रहने छन् । पाहुनालाई छुटसहितका प्याकेजको व्यवस्था छ । नेपाली तथा विदेशी खाना, सांस्कृतिक कार्यक्रम, लोक दोहोरी, पप कन्सर्ट, पर्यटक, डुंगा दौड, व्यापारिक स्टल, हाँस्य कलाकारको प्रस्तुति, खुल्ला नृत्य र रत्यौली गीत प्रतियोगिता महोत्सवका आकर्षण हुन् ।

दिउँसोमा महोत्सवको मजा लिन ५० रुपैयाँ र रातिमा १ सय ५० रुपैयाँको टिकट काट्नुपर्ने छ । महोत्सवअघि स्थानीय हल्लनचोकबाट सांस्कृतिक झाँकी निकालिएको थियो ।

महोत्सवमा ५६ लाख आम्दानी, ४८ लाख ९५ हजार खर्च र ७ लाख पाँच हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ । फेवा नव वर्ष महोत्सवको बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उदघाटन गरेका छन् । उनले फेवातालको अतिक्रमण हटाइने पनि बताए ।

महोत्सवबारे के भन्छन् पोखराका पर्यटन व्यवसायी र सरकारी अधिकारी ?

हामीलाई सरकारले धन्यवाद दिनुपर्छ
विकल तुलाचन, अध्यक्ष, पश्चिमाञ्चल होटल संघ, पोखरा

पोखरा आफैंमा एउटा पर्यटकीय ब्रान्ड हो । पोखराको ब्रान्ड हो, फेवा नव वर्ष महोत्सव । फेवा किनारमा हुने फेवा नव वर्ष महोत्सव लेकसाइडको मात्रै होइन, पोखराकोमात्रै पनि होइन, यो त सिंगो प्रदेशकै हो, देशकै हो ।

महोत्सवको मुख्य उद्देश्य पर्यटन पवर्द्धन नै हो । यो महोत्सवले यहाँको पर्यटनलाई चलायमान गराउँछ । यहाँको पर्यटन चलायमान हुँदा पर्यटन व्यवसायीलेमात्रै आम्दानी गर्दैनन्, पोखरा र आसपासका सामान्य नागरिकले पनि आम्दानी गर्छन् । महोत्सवमा आउने कतिपय पर्यटक पोखराको केही दिन बसाइँपछि यहीँबाट फर्किँदैनन्, कोही सराङकोट पुग्छन् त कोही आसपासका होमस्टेसम्म पनि । कोही यही मौकामा विश्वकै प्रख्यात अन्नपूर्ण पदमार्ग पुग्छन् र त्यहाँका व्यवसायीलाई पनि आम्दानी दिन्छन् ।

अहिले देशभित्रैको ठाउँ घुक्ने चलन बढेको छ, त्यो नेपाली पर्यटनका लागि सुखद् कुरा हो । पहिले पर्यटक भनेका विदेशीमात्रै हुन् भन्ने मान्यताबाट गलत सावित हुँदै गएको छ । देशभित्रबाटै पोखरा घुम्न र यहाँको स्वाद लिने आउने पर्यटकको संख्या बढी छ । यसले ठूलो आर्थिक हिस्सा ओगटेको छ । घुम्ने कुरामा पहिले नेपाल अनि बल्ल बिदेश भन्ने ट्रेन्ड चलेको छ । यसले पर्यटनको विकासमा टेवा पुर्‍याउँछ । जब नयाँ वर्ष आउँछ, फेवा नव वर्ष महोत्सवमा जानुपर्छ है भन्ने मान्छेहरुका मनमा लाग्न थालेको छ । ४० प्रतिशत पर्यटक आन्तरिक हुने गरेका छन् । सबै पर्यटकका लागि फेवा नव वर्ष महोत्सव हो ।

नयाँ वर्षलाई धुमधामले मनाएर वर्षको सुरुआत गर्न अहिलेको पुस्ता लालायित हुन्छ । त्यसका लागि उनीहरु त्यस्तो ठाउँको खोजी गरिरहेका हुन्छन् । घुम्ने र नयाँ वर्षको स्वाद लिने पहिलो रोजाइ हो पोखरा । पोखरा आउने पर्यटकको स्वागतमा हामी तयार छौं । पोखरा अब घुम्नका लागि मात्रै होइन, यस क्षेत्रकै संस्कृति, रहनसहन र सम्भावनालाई नजिकबाट नियाल्ने एउटा अवसर पनि हो, फेवा नव वर्ष महोत्सव । हरेक क्षेत्रलाई पर्यटनसँग जोडेर कसरी यहाँको महत्वलाई बढाउन सकिन्छ भनेर हामी लागिरहेका छौं । महोत्सवमा आसपासका गाउँका साँस्कृतिक झाँकी प्रस्तुत गरिन्छन् । विभिन्न खानाका परिकार हुन्छन् । साँस्कृतिक गीत र नाच पनि प्रस्तुत गरिन्छ । पर्यटकलाई लक्षित गरी डुंगा दौड प्रतियोगिता, पर्यटक दौड प्रतियोगितालगायत विभिन्न खेल समावेस छन् । यस्ता प्रतियोगितामा आन्तरिक तथा वाहृय पर्यटकले भाग लिन्छन् । अन्तर्राष्ट्रिय जगतसम्म यस्ता गतिविधिले सकारात्मक सन्देश प्रवाह गरिरहेका हुन्छन् ।

पुराना पुस्तादेखि नयाँ पुस्तासम्मलाई लक्षित गरी सांस्कृतिक तथा सांगीतिक कार्यक्रम महोत्सवमा राखिएका छन् । लोकदोहोरी, पप कन्सर्ट, व्यापारिक स्टल, हाँस्य कलाकारको प्रस्तुति, रत्यौली गीत प्रतियोगिता जस्ता महोत्सवमा आकर्षण छन् । यस्ता कार्यक्रमले पोखरासँगै यहाँको जातजाती, संस्कृति र भूगोललाई नजिकबाट नियाल्ने अवसर मिल्छ । हाम्रो अवस्था, नेपालीपनलाई नजिकबाट बुझ्ने अवसर पनि प्राप्त हुन्छ । त्यसैले यो महोत्सव हाम्रोमात्रै होइन, सिंगो पोखराको हो, प्रदेशको हो, देशको हो भनेका हौं । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने मुख्य महोत्सवको मेरुदन्ड हो ।

हामीले आफ्नै प्रयासमा पर्यटन प्रवर्द्धन गरेका छौं । सरकारले व्यवसायीलाई खासै सहयोग गरेको छैन । हामीले जाऔं है पोखरा अभियान चलाउँदै आएका छौं । सडकमा महोत्सव गर्दै आएका छौं । आन्तरिक पर्यटक हामी आफैंले बढाएका छौं ।

विश्वका धेरै देशमा यस्ता उत्सव हुन्छन् । विशेषत अंग्रेजी नयाँ वर्षमा यस्ता महोत्सव हुन्छन् । हामीले चाहिँ नेपाली नयाँ वर्षको पनि पहिचान हुनुपर्छ । अंग्रेजी नयाँ वर्ष महोत्सव मनाइरहँदा कतै हामीले नेपाली नयाँलाई भुलिरहेका त छैनौं ? भन्ने कुराको वोध गराउन पनि यो महोत्सव आयोजना गरेका हौं । महोत्सवमा आउने पर्यटकले पोखरा आसपासमा मन फुकाएर खर्च गर्न पाउँछन् । त्यसबापतको राजश्व सरकारलाई पनि जान्छ । यस्तो खालको प्रवर्द्धनात्मक काम खास सरकारले गर्नुपर्ने हो । हामी व्यवसायीले सरकारले गर्नुपर्ने काम गरिरहेका छौं । सरकारले धन्यवाद दिनुपर्छ, सहयोग गर्नुपर्छ ।

उत्सवले हृयाप्पीनेस पैदा गर्छ
गणेश भट्टराई, पूर्वअध्यक्ष, पोखरा पर्यटन परिषद

दशैं आयो भनेपछि परदेशमा भएका घर फर्कन्छन् । दशैं मनाउनु भनेर घर खर्च पठाइदिने । यता घर रंग्याउने, नयाँ कपडा किन्ने, सरसफाइ गर्ने भएजस्तै यो नयाँ वर्ष पनि त्यस्तै हो । यी मेला महोत्सव पनि त्यस्तै चाड हो । यो एउटा इभेन्ट हो, यसले हृयाप्पीनेस बनाउँछ ।

त्यहाँ सुरक्षित छ, त्यहाँ रमाइलो भइराखेको भन्दै यसले अन्तर्राष्ट्रिय सन्देश दिन्छ । पोजेटिभ म्यासेज दिनु नै टुरिजमका लागि एकदमै महत्वपूर्ण विषय हो । नयाँ वर्ष महोत्सवले पनि एउटा उत्सवमय पोखराको सन्देश दिइरहेको छ । यो हुन जरुरी छ । तर, समय परिपर्वनसँगै हामी पनि परिस्कृत हुँदै जानुपर्छ ।

पुरानो परम्परा र सँस्कृतिलाई पनि आत्मसात गर्दै नयाँ चिजलाई पनि समावेस गर्दै लैजान सक्नुपर्छ । कहिलेकाहीँ समय परिस्थितिका कारण पनि हामीले परिवर्तनलाई आत्मसाथ गर्न सकिरहेका हुँदैनौं । तर, युथ टार्गेट के गर्ने ? परिस्कृत कसरी गर्ने ? यहाँ केके कुरालाई समावेस गर्ने, अन्तर्राष्ट्रिय जगतमा पोखरालाई कसरी पि्रजेन्ट गर्ने ? प्रचारप्रसार कसरी गर्ने ? भन्ने कुराको ख्याल गरेनौं भने हामी पछि पर्न सक्छौं । कतिपय पर्यटकलाई नेपाली नयाँ वर्ष भनेको जानकारी नै छैन भने जानकारी दिने माध्यम महोत्सव हो र कसरी सजिलै जानकारी दिने भन्ने कुरामा हामीले सोच्नुपर्ने बेला आएको छ ।

हामीले अब महोत्सवलाई कार्निभलको रुपमा अगाडि बढाउनुपर्छ । पुराना प्रयोग गरिने सामाग्री, हाम्रा साँस्कृतिक खाना, पहिरन, ऐतिहासिक तथा साँस्कृतिक बस्तु, हाम्रा ऐतिहासिक बाजा लगायत प्रदर्शन तथा प्रस्तुत गर्न अब हामीले सोच्नुपर्छ । यो हाम्रो वर्षको एकचोटी हुने इभेन्ट भए पनि पर्यटकीय क्षेत्रमा हामीले महिना-महिनामा यस्ता कार्यक्रम दिन सक्नुपर्छ ।

ढुंगेसाँघुमा पनि हिजो मेला हुन्थ्यो, स्याङ्जाकेा पुतलीखेततिर वा भनौं थुप्रै ठाउँमा मेला हुन्थे । त्यसैको यो परिस्कृत रुप हो । अब हामीले अझै परिस्कृत गर्ने बेला आयो । अन्तर्राष्ट्रिय सहरमा थुप्रै यस्ता कार्यक्रम भइरहेका हुन्छन् । हामीले अन्तर्राष्ट्रियस्तरमा कसरी यस्ता उत्सव भइराखेका छन्, हेर्नुपर्‍यो र यहाँ सम्भव हुने कुरालाई सिको गर्नुपर्‍यो । अर्को कुरा यस्ता मेलामहोत्सवमा हाम्रो प्रोडक्ट बेच्न सकिरहेका छैनौं । अब राज्यले सातै प्रदेशमा यस्ता कार्यक्रम गर्ने र एक प्रदेशमा अर्को प्रदेशका यस्ता महत्वपूर्ण प्रडक्टहरु समावेस गर्नुपर्‍यो ।

हामीले कस्तो ब्रान्ड बेचिरहेका छौं ?
सूर्य थपलिया, प्रमुख, नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय पोखरा

हिजोआज देशको कुनाकुनामा उत्सव महोत्सवको लहर चलेको छ । कतिलाई लागेको पनि होला, कति बिघ्न होे । काम पाइनस् भने झैं पनि लाग्न सक्छ । अलिक गहिरिएर सोचौं र अलिकता व्यावसायिक पाराले सोचौं । यी उत्सव महोत्सवबाट नोक्सानभन्दा बढी फाइदा नैं भएको छ । पर्यटकीय गन्तव्य या उपजहरुको ब्रान्ड मूल्य बढाउनमा कतिको सहयोग पुग्छ, यसमा विचार मन्थन जरुरी छ ।

सुरु गर्नुभन्दा पहिले एउटा तथ्यमा स्पष्ट होऔं । नेपालमा हालसम्मको अभ्यासमा गन्तब्य ब्यवस्थापन गर्ने निकाय चाहिँ कुन हो, यो स्पष्ट छैन । त्यसैले उत्सव महोत्सवको ब्रान्ड प्रवर्द्धनमा कस्तो भूमिका रहन्छ यसको अध्ययन समग्रतामा गर्नु पर्दछ । पर्यटकीय उपज केन्दि्रतभन्दा पनि सम्पूर्ण गन्तव्य कै ब्रान्ड मूल्यमा केन्दि्रत भएर बुझ्ने प्रयास गर्नु राम्रो हुन्छ ।

एउटै जिल्लामा धेरै उत्सव महोत्सव आयोजना हुन्छ । फरकफरक आयोजक हुन्छन् । एउटै गन्तब्यमा पनि एकभन्दा बढी महोत्सव आयोजना भइरहेका छन् । महोत्सवको बजारीकरण गर्ने र गन्तव्यको प्रवर्द्धन या बजारीकरण गर्ने संस्थाबीच सैद्धान्तिक, व्यावसायिक र व्यवहारिक सहकार्यमा तादाम्यता खासै देखिएको छैन । गन्तव्यको ब्रान्ड इमेज एकातिर हुन्छ भने उत्सव महोत्सवले गन्तव्यको चारित्रिक विषेशताले अर्कोतिर प्रक्षेपण गरिरहेको हुन्छ ।

पर्यटकले आफ्नो अनुभवका आधारमा पर्यटकीय गन्तब्यप्रतिको मानसिक चित्रण गरेको हुन्छ । यसमा गन्तब्यको समग्र विषेशताभन्दा पनि गन्तब्यमा उपलब्ध गतिविधि, सेवासुविधा प्रदान गर्ने प्रदायकहरु, वातावरण, सामाजिकीकरण, भावना अनि पूर्णता आदि अन्य अवयवहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ ।

नेपालमा उत्सव महोत्सव आयोजना हुँदा पर्यटनका सरोकारवालाहरु र गन्तब्यको बजारीकरण गर्ने संस्थाबीच रणनीतिक साझेदारी हुन्छ त ? गन्तव्यको पहिचान बढाउन र उपज विविधीकरणमा यसबाट कस्तो सहयोग पुगेको छ ? हालसम्मको अनुभवमा गन्तब्यको ब्रान्ड मूल्य बढाउनभन्दा पनि आयोजकहरु ब्यापारको साटासाटमै मग्न भएको देखिन्छ । या त जाँगरको कमी हो या ब्यवहारिक ज्ञानको । गन्तब्यको इमेजबाट प्रेरित भएको हुनुपर्छ, उत्सव महोत्सवको ब्रान्ड इमेज । जस्तो, पाराडाइज पोखरा, भर्जिन इस्ट, वाइल्ड वेस्ट भनी ब्रान्डिङ भएको अवस्थामा ती क्षेत्र विषेशमा आयोजना हुने उत्सव महोत्सवले त्यो इमेजलाई अझ चित्रण र परिस्कृत गर्न सक्नु पर्छ । नत्र त पर्यटन प्रवर्द्धनका लागि आयोजना हुने उत्सवहरु उहिल्यै गाउँघरमा लाग्ने हाट बजारभन्दा फरक कसरी हुन सक्छन् ।

प्रवर्द्धनात्मक सामग्रीदेखि लिएर सञ्चार माध्यममा प्रस्तुति, आयोजना स्थलको प्रस्तुति र कला संयोजनदेखि लिएर व्यापारिक, सामाजिक र भावनात्मक अन्तर्क्रियामा पनि गन्तब्यको ब्रान्ड इमेजको छनक हुनुपर्छ ।

उत्सव महोत्सव आयोजना हुँदा गन्तब्यको ब्रान्डसँग मूलभुत रुपमा जोडिने अवयवहरुको प्रसंग केलाऔं । उत्सव महोत्सवको प्रकार, विषेशता अनि ब्यक्तिगत कारक तत्वहरु जसअन्तर्गत उत्सव महोत्सवको अर्थ, त्यसको मजबुत पक्ष र इतिहास जोडिन्छन् ।

यही बुझाइको पृष्ठभूमिमा हेर्ने हो भने केही हदसम्म आयोजकले चारित्रिक विषेशता पस्कने प्रयास पनि गरेका छन्, आयोजनाका बखतमा । जानी या नजानिकन भए पनि उत्सव महोत्सवबाट गन्तब्यको समग्र ब्रान्ड इमेजमा प्रभाव चाहिँ परेको छ । तर सबै सकारात्मक छन् भन्ने होइन ।

उत्सव महोत्सवलाई सहयोग गर्ने संस्थाहरुको भूमिका पनि यसमा निर्णायक हुन्छ । खासमा गन्तब्यको इमेज, उत्सव महोत्सवको इमेज र सहयोगी र प्रायोजक संस्थाहरुको इमेजको त्रिकोणीय समीकरणबाट नैं पर्यटनको व्यावसायिक छविले छलाङ मार्ने हो । पर्यटकको अनुभव दुई प्रकारको हुन्छ । सम्पदा सम्बन्धित र गैरसम्पदा सम्बन्धित । अघिल्लो प्रत्यक्ष हुन्छ भने पछिल्लो चाहिँ मानसिक र भावनासँग जोडिएको हुन्छ । तर दुवै प्रकारको अनुभवबाट एउटा पर्यटकले कुनै पनि गन्तब्यप्रतिको धारणा बनाएको हुन्छ ।

पर्यटकले त्यो अनुभवलाई सांकेतिक रुपमा ब्यक्त गर्दछ । सरोकारवालाहरुले उत्सव महोत्सव आयोजना गर्दा संागठनिक पक्ष, वातावरणीय पक्ष, भौतिक गतिविधि, सामाजिक गतिविधि र भावनात्मक पूर्णता । यी मुख्य पाँच पक्षलाई ध्यान दिए ब्रान्ड प्रमोसनमा सहयोग पुग्ने थियो । यो वास्तविकता पोखरा र यहाँ आयोजना हुने उत्सव महोत्सवको हकमा पनि लागु हुन्छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?