Comments Add Comment

उपप्रमुखहरुको प्रतिबद्वता – महिलाहरुलाई घुम्टोबाहिर ल्याउँछौं

३० चैत, सप्तरी । ‘महिलाहरुलाई पुरुषहरुले धेरै हेपेका छन् । पद दिए पनि आफू अनुकुलको निर्णय गर्ने र हस्ताक्षर मात्रै गराउने काम गरेका छन्’ जनप्रतिनिधि बेचनीदेवी सरदार विगतलाई स्मरण गर्दै भन्छिन्, ‘महिलाहरुलाई निर्णय तहमा पनि राखियो, तर निर्णय प्रक्रियामा सहभागी भने गराइएनन्।’

दलित समुदायकी सरदार सप्तरीको रुपनी गाउँपालिकाको उप प्रमुखमा निर्वाचित भएकी छन् । शुरुमा बिभिन्न उपभोक्ता समूह, गैर सरकारी संस्थामा काम गरिसकेकी सरदारको अनुभव छ, ‘महिलाहरुमा पनि क्षमता भएपनि पुरुषहरुले प्रष्टफुटित गर्ने मौका दिएनन् । अब महिलाहरुलाई अगाडि आउनु जरुरी छ ।’

सरदार समुदायबाटै सप्तरीमा अर्की एक महिला पनि उपप्रमुख बनेकी छन् । शम्भुनाथ नगरपालिकाकी उपप्रमुख कवितादेवी सरदार पनि महिलाहरुलाई पद दिए पनि पुरुषहरुले कुरा नसुनेको बताउँछिन् । ‘यसअघि गठन हुने उपभोक्ता समूहहरुको कोषाध्यक्ष पद महिलाहरुलाई दिए पनि निर्णय पुस्तिका र चेकमा हस्ताक्षर गराउनुबाहेक केही कुरा समेत सुनेनन् ।’

अब यस्तो हुन नदिने बताउँदै उपप्रमुख कविताले भनिन्, ‘महिलाहरुलाई निर्णय तहमा पुर्‍याउन र उनीहरुको कुरा सबैले सुनोस् त्यो नेतृत्वदायी भूमिका निर्वाह गर्छु ।’

सप्तरीका तीन स्थानीय तहमा दलित महिला उपप्रमुख बनेका छन्, एउटामा मुश्लिम महिला उपप्रमुख छन् ।

सुरुङ्गा नगरपालिकाकी उपप्रमुख बिन्दा देवी पासवान पनि बिभिन्न सामाजिक क्षेत्रबाट काम गर्दै उप प्रमुख बन्न सफल भएकी छन् । ‘धेरै क्षेत्रमा काम गरियो’ उनी भन्छन्, ‘आमा समूह, मेलमिलाप समिति, स्थानीय शान्ति समिति, पारालिगल समितिसहित बिभिन्न क्षेत्रमा काम गरेकी छु ।’

पुरुषहरुको दबदबाका कारण निर्णय तहमा पुग्न समस्या भएको अनुभव उनको छ । ‘तर अब यस्तो हुनेछैन’ उनको विश्वास छ, ‘महिलाहरुलाई पनि निर्णायक तहमा ल्याउन र उनीहरुको कुरालाई निर्णय गराउन आफू कहिल्यै पछाडि पर्दिनँ ।’

अझै घुम्टोभित्रको अवस्था, बाहिर ल्याउनु जरुरी

‘तराई/मधेसका महिला अझै घुम्टोभित्र रहेको अवस्था छ । खुलेर कुरा गर्न पनि चाहँदैनन्’ सुरुङ्गाकी उपप्रमुख पासवान भन्छिन्, ‘यो समस्या पारिवारिक र सामाजिक रुपमा पनि मजबुत देखिएको छ । सबभन्दा पहिला महिलाहरुलाई घुम्टोभन्दा बाहिर ल्याउनु जरुरी छ ।’

आफ्नो व्यक्तिगत समस्या नभन्ने महिलाहरु पारिवारिक र सामाजिक समस्या भन्न नसक्ने अवस्थामा महिलाहरु रहेको उनको भनाइ छ । ‘केही महिलामात्रै अगाडि आएको देखिन्छ’ उनी भन्छिन्, ‘तर सबै नआए महिला सशक्तिकरण अझै पछाडि पर्ने सम्भावना रहन्छ ।’

रुपनी गाउँपालिकाकी उपप्रमुख बेचनीदेवी शिक्षित महिलाहरु पनि घुम्टोभित्रै बसिरहनु चुनौती भएको बताउँछन् । शुरुमा महिलाहरुलाई घुम्टोबाहिर ल्याउन र आफ्ना कुरा प्रष्ट रुपमा राख्नका निम्ति तयार गर्नुपर्ने आवश्यकता औंल्याउँछिन् उनी । ‘अहिले अधिकांश महिला खुलेर कुरा नै गर्दिनन्’ उनको भनाइ छ, ‘जबसम्म महिलाहरु खुलेर कुरा गर्न जान्दैनन्, तबसम्म उनीहरुको समस्या समाधान पनि हुँदैन ।’

यद्यपी सुरुङ्गाकी उपप्रमुख पासवान अब महिलाहरु खुलेर बोल्ने विश्वास व्यक्त गर्छिन् । ‘सुरुमा महिलाहरु नेतृत्वमा छँदै थिएनन् । कोसँग आफ्नो समस्या राख्थे त महिलाहरु । अब महिलाहरु आफ्नो समस्या म जस्ता उप प्रमुखहरुलाई भन्नेमा आशावादी छु ।’

छैन जानकारी, बुझेर अगाडि बढ्छु

उपप्रमुखमा निर्वाचित भएपछि सुरुङ्गाकी उपप्रमुख पासवानलाई चुनौती थपिएको महसुस भएको छ । तैपनि उनीमा काम गर्ने दृढता भने छ ।

‘मभित्र पनि क्षमता छ, तर एक्लैले केही हुँदैन’ उनी भन्छिन्, ‘सबैले सहयोग गरे मात्र महिलाहरुलाई न्याय दिलाउने सवालमा राम्रो हुन्छ ।’
पहिलो पटक निर्वाचित भएकाले अनुभव लिइरहेको उनीहरु बताउँछन् । ‘ऐन, नियम धेरै छन् । विस्तारै बुझेर काम गर्दै जानेछु’ पासवान भन्छिन् ।

न्याय सम्पादन गर्ने मुख्य भूमिकामा रहेका उपप्रमुखहरु महिलालाई सशक्त बनाउने मनसायमा देखिएका छन् । तर यसका निम्ति सबै सहयोगी संरचनाहरुले सहयोग गर्नुपर्ने धारणा राख्छिन् कंचनरुप नगरपालिकाकी उपप्रमुख निरु पोखरेल । पोखरेलले महिलाको हकमा गरिने सम्पूर्ण निर्णयहरुलाई सम्बन्धित निकायले कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment