+
+

नयाँ वर्षमा तिलोत्तमाको संकल्पः एक वर्षभित्र प्लास्टिक झोलामुक्त नगर

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १ गते १५:३८

१ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नयाँ वर्षको अवसर पारेर एक वर्षभित्र प्लास्टिक झोलामुक्त नगर बनाउने संकल्प गरेको छ ।

नगरले ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नाराका साथ नयाँ मिलचोकमा भएको कार्यक्रममा सहभागीहरुले एकसाथ ११ बुंदे प्रतिवद्धता वाचन गरे । कार्यक्रममा रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, रुपन्देही १ का प्रदेश सभा सांसद दधिराम न्यौपाने, रुपन्देहीकै अर्का सांसद बलदेव शर्मा पोखरेलका साथै स्थानीयको उल्लेख्य सहभागिता थियो ।

तिलोत्तमा नगरपालिकाले २०७६ असारसम्म प्लास्टिक झोला/गिलास घटाउने र २०७६ साउनदेखि हटाउने बताएको छ । सांसद घनश्याम भुसाल र नगरप्रमुख बासुदेव घिमिरेले प्लास्टिक झोलामुक्त अभियानका संयोजक केशवराज न्यौपानेलाई एक बोरा कपडाको झोला हस्तान्तरण गरेका छन् ।

तिलोत्तमा नगरवासीले अब बजारमा किनमेल गर्न जाँदा कपडा वा जुटको आफ्नै झोला लिएर जानु पर्नेछ । पसलेले प्लास्टिक झोला दिन खोजे ‘पर्दैन, मसँग आफ्नै झोला छ’ भन्ने नगरपालिकाले नगरबासीलाई आग्रह गरेको छ ।

सांसद घनश्याम भुसालले प्लास्टिकजन्य वस्तु वातावरणीय हिसाबले ‘डरलाग्दो विष’ भएकाले नगरपालिकाले सराहनीय अभियान थालेको बताए । ‘यो अभियान असाध्यै राम्रो, पवित्र र सुन्दर कार्य हो’भुसालले भने, ‘नयाँ र सिर्जनात्मक काम गर्ने हो भने तिलोत्तमा मुलुककै नमूना नगरपालिका बन्न सक्छ ।’
प्रदेशसभा सांसद बलदेव शर्मा पोखरेल र दधिराम न्यौपानेले पनि अभियान अनुकरणीय रहेको भन्दै प्रतिवद्धता व्यवहारमा कार्यान्वयन गर्न सुझाए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिलोत्तमालाई प्रदेशको मात्र नभई देशकै सुन्दर, व्यवस्थित र वातावरणमैत्री नमूना नगरपालिका बनाउने लक्ष्य सहित प्लास्टिकमुक्त अभियान थालिएको बताए । नगर कार्यपालिकाले फोहरमैला व्यवस्थापन कार्यविधि पारित गरिसकेकाले नियम उल्लंघन गर्नेलाई एकहजारदेखि एक लाखसम्म जरिवाना गर्ने बताए ।

नगरपालिकाकाले वातावरण स्वच्छ राख्ने उद्देश्यले जनसहभागितामा हरेक महिनामा दुई दिन वृहत सरसफाई अभियान, नगर सुन्दरीकरण र हरियाली प्रवर्द्धनका लागि नगरभित्र पर्ने ६ लेन सडकको दुबैतिर गार्डेनिङ अभियान र छाडा गाईगोरुमुक्त अभियान पनि चलाइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?