Comments Add Comment

सामूहिक प्रयासबिना प्रदेशको समृद्धि असम्भव : मुख्यमन्त्री पोखरेल

२ बैशाख, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा प्रस्तुत बजेट आगामी बर्षको बजेटको आधारस्तम्भ भएको बताएका छन् ।

साधन स्रोतको अभावका बीच छोटो अवधिका लागि ल्याइएको बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको स्वीकार गर्दै उनले आगामी बर्षको बजेटको आधार तयार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको बताए ।

बजेटमाथि प्रदेशसभामा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले बजेटको सीमा बुझिदिन सांसदहरुलाई आग्रह गरे । अहिले सार्वजनिक गरिएको बजेट कुन विकास आयोजनाका लागि कति रकम बिनियोजन गरियो भन्ने भन्दा पनि प्रदेशको समृद्धिको आधार तयार गर्ने बजेटको रुपमा लिन पनि उनले आग्रह गरे ।

सामूहिक प्रयास बिना प्रदेशको समृद्धि असम्भव नभएको भन्दै मुख्यमन्त्री पोखरेलले सत्ता पक्ष र प्रतिपक्ष भन्ने भावना नलिई एकतावद्ध भएर अगाडि बढ्न आहृवान गरे । अनुदान कोषको रकम दुरुपयोग हुने गरेको बिगतको परिपाटीलाई मध्यनजर गरेर उत्पादनमा आधारित अनुदान दिने नीति लिइएको बताउंदै उनले पारदर्शिता र सुशासन कायम गर्ने कुरामा प्रदेश सरकार सजग रहेको प्रस्ट पारे ।

बजेटमाथि भएको छलफलमा कांग्रेसका प्रदेशसभा सदस्यहरुले प्रदेशको स्थिति पत्र, नीति तथा कार्यक्रम र बजेट निर्माणमा प्रतिपक्ष दललाई ‘बाइपास’ गरेर एकलौटी गरेको आरोप लगाएका छन् ।

कांग्रेस सांसद अष्ठभूजा पाठकले प्रमुख प्रतिपक्ष दलसँग कुनै परमर्श नगरी बजेट ल्याउँदा धेरै कुरा छुटेको गुनासो गरे । संचित कोषको नाममा बजेट राख्नुको उदेश्यमाथि प्रश्न गर्दै उनले बजेटको पारदर्शीतामा आशंका व्यक्त गरे । उनले बजेटमा सांसद विकास कोषको नाम समेत उल्लेख नहुनु दुखद रहेको उल्लेख गरे ।

अर्का सांसद वीरबहादुर रानाले बजेट परम्परागत र पुरानै ढर्राबाट आएको भन्दै हिजोकै शैली र ढर्राबाट चल्ने हो भने समृद्ध प्रदेशको परिकल्पना गर्न नसकिने बिचार व्यक्त गरे । उनले कुरामा लोकतान्त्रिक गणतन्त्र भन्ने तर, व्यवहारमा प्रमुख प्रतिपक्ष लगायतका दलहरु पनि संसदमा छन् भन्ने कुरालाई भुलेको टिप्पणी गरे ।

माओवादी सांसद कृष्णध्वज खड्काले बजेटको लक्ष्य सकारात्मक भए पनि बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको बताएका छन् ।

सांसद तारा जिसीले बजेटले कुहिरोमा अलमलिएको काग जस्तै बनाएको टिप्पणी गरिन् । ‘गाउँपालिकाको बजेट जस्तै छ, सरकारको आगामी बजेट पनि आशालाग्दो नहुने संकेत यसले गरेको छ’ उनले भनिन् ।

एमाले सांसद चेतनारायण आचार्यले भने ३ महिनाका लागि ल्याइएको भए पनि पाँच बर्षे बजेटका लागि मार्गदर्शन गरेको बताए ।

आइतबारकै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री पोखरेलले प्रदेशसभा नियमावली,२०७४ को नियम १३३ को उपनियम ५ र ६ बमोजिम आर्थिक बर्ष २०७४/०७५ को सम्बन्धमा व्यवस्था गर्न बनेको बिनियोजन बिधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

प्रदेशसभाको अर्को बैठक सोमबार दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रदेशसभाको गत शुक्रबारको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment