Comments Add Comment

अनुगमन रोक्न होइन, व्यवस्थित गर्न खोजेको हो : आपूर्तिमन्त्री यादव

२ वैशाख, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आफूले अनुगमन रोक्न नभई व्यवस्थित गर्न खोजेको बताएका छन् । नयाँ योजनासहित बजार अनुगमनमा निस्किन खोजेको उनले प्रश्ट पारेका छन् ।

आइतवार पत्रकार सम्मेलन गर्दै मन्त्रि यादवले अब नियमित रुपमा बजार अनुगमन गर्ने बताए । प्रभावकारी बजार अनुगमनका लागि कानूनी समस्या रहेको भन्दै ती कानून संशोधन गर्ने तयारी मन्त्रालयले गरेको उनले बताए । त्यसका लागि संयुक्त बजार अनुगमन निर्देशिका तत्काल संशोधनको प्रक्रियामा रहेको उनले बताए । उपभोक्ता संरक्षण ऐन -२०५४ र प्रतिस्पर्धा तथा बजार संरक्षण ऐन पनि संशोधन गरिने उनको भनाइ थियो ।

हालसम्म बजार अनुगमन जनताको पक्षमा नरहेको भन्दै उनले अब जनताले महसूस गर्नेगरी अनुगमनको सुरुआत गर्न लागिएको बताए । अनुगमनको प्रभावकारीताका लागि अब आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमै स्थायी सरकारी वकिल राखिने मन्त्री यादवले बताए ।

‘विगतका अनुगमन प्रचारात्मकमात्रै देखिए, कारवाही नै अघि बढ्न सकेनन्,’ मन्त्री यादवले भने, ‘अब हामी ढोल बजाएर अनुगमनमा निस्कदैनौं, दोषीले उन्मुत्ति पाउने स्थितिको पनि अन्त्य गर्छौं ।’ बजार अनुगमनमा कसैप्रति पूर्वाग्रह नराखिने पनि उनले बताए ।

शिक्षा र स्वास्थ्य क्षेत्रको अनुगमन सम्बन्धित शिक्षा मन्त्रायल र स्वास्थ्य मन्त्रालयले नै गर्ने उल्लेख गर्दै त्यसका लागि सम्बन्धित मन्त्रालयलाई जानकारी गराइएको उनले बताए ।

अब एउटाले ताला लगाउने र अर्कोले ताला खोल्ने बजार अनुगमनको गलत संयन्त्रको अन्त्य गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment