४ वैशाख, काठमाडौं । अल्पकालिन लगानीमा खेल्दै आएकाहरुलाई बजारले एकपटक पुनः कमाउने अवसर दिएको छ ।
१० करोबार दिनमा नेप्सेले एक सय ३२ अंक जोडेको छ । मंगलवार नेप्से परिसूचक ३३.६१ अंकले बढेर १३३१ विन्दुमा आएको छ । बीमा कम्पनीहरुमा केहीले दुई सय प्रतिशतभन्दा धेरै हकप्रद सेयर दिने प्रस्ताव गरेपछि बीमा समूहको परिसूचकमा वृद्धि हुन थालेको हो । युनाइटेड इन्स्योरेन्सले यस्तो प्रस्ताव गरेको थियो ।
लघुवित्त समूहको परिसूचकमा पनि वृद्धि भएको छ । लघुवित्त र बीमा समूहको परिसूचक क्रमशः ७ र ५.५१ प्रतिशतसम्म वृद्धि भएको हो । सूर्या लाइफ कम्पनीले समेत करिब ४० प्रतिशत हकप्रद सेयर दिने खबरले कम्पनीको सेयर कारोबार उच्चले बढेको छ । कम्पनीको मात्रै करिब ६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
समग्रमा ९१ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा बीमा र लघुवित्तको मात्रै करिब ६० करोड रुपैयाँको सेयर किनबेच भयो । लघुवित्त कम्पनीहरुको २० करोड ६१ लाख रुपैयाँको र बीमा कम्पनीहरुको ३८ करोड ७४ लाखको सेयर कारोबार भएको छ ।
कारोबार रकमका आधारमा यसदिनका प्रमुख १० कम्पनीमा सात कम्पनी बीमा क्षेत्रबाटै रहेका छन् । १० वटै कम्पनीको सेयर कारोबार प्रति कम्पनी २ करोड रुपैयाँभन्दा माथि छ । व्यापारमुलक समूहबाहेक सबै समूहको परिसूचक घटेको छ ।
प्रतिक्रिया 4