Comments Add Comment

युवासंघको अध्यक्ष पौडेललाई बनाउने तयारी, दिलु पन्तको असहमति

सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरु छलफलमा

राजिव पहारी र रमेश पौडेल (दायाँ)

५ वैशाख, काठमाडौं । नेकपा एमाले सम्बद्ध युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले राजीनामा दिएपछि नयाँ अध्यक्ष सर्वसम्मत रुपमा चयन गर्न एमाले र युवासंघका पूर्व नेताहरु छलफलमा जुटेका छन् । नयाँ नेतृत्व चयनका लागि निर्वाचन मण्डल गठन भइसकेको छ भने अपरान्ह केन्द्रीय कमिटी बैठक डाकिएको छ ।

३ वर्षअघि केन्द्रीय कमिटी बैठकबाटै युवासंघको अध्यक्ष चयन भएका पहारीले आफू प्रदेश ४ को प्रदेशसभा सदस्य निर्वाचित भएकाले पूर्णकालिन समय दिन नपाउने भन्दै राजीनामा दिएका छन् । ललितपुरको च्यासलमा सोमवारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकले नयाँ नेतृत्व चयन गर्नेछ ।

पार्टी एकीकरणअघि एमालेले सबै भातृ संगठन लगायत पार्टी कमिटीहरुको अधिवेशन रोकेका कारण युवासंघको केन्द्रीय कमिटीले नै अध्यक्ष चयन गर्नुपर्ने भएको पहारीले बताए । उनले सर्वसम्मत रुपमा युवा संघमा नयाँ नेतृत्व चयन गरेर आफू विदा हुन लागेको प्रतिक्रिया दिए ।

पहारीको राजीनामापछि नयाँ नेतृत्व सर्वसम्मत चयन गर्न युवा इन्चार्ज महेन्द्रबहादुर पाण्डेसहित युवासंघका पूर्वअध्यक्ष महेश बस्नेत, बस्नेतसँग अध्यक्षमा पराजित भएका नेता निरज आचार्यलगायत छलफलमा छुटेका छन् । ५ वर्षअघि बस्नेत अध्यक्ष निर्वाचित भएदेखि युवासंघमा महाधिवेशन भएको छैन ।

नयाँ नेतृत्व चयनका लागि केन्द्रीय कमिटीले राजिव पहारीको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरेको छ । निर्वाचन मण्डलमा राजु गुरुङ, किरण पौडेल, माधव बास्तोलालगायत छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुले रमेश पौडेललाई अध्यक्ष बनाउने गरी सर्वसम्मतिको पहल गरेका छन्

कोको छन् अध्यक्षका दाबेदार ?

पहारीको राजीनामासँगै युवासंघका पाँचैजना उपाध्यक्षले अध्यक्ष दावी गरेका छन् । रमेश पौडेल, दिलु पन्त, राजु गुरुङ, चन्द्र लामा र गोविन्द थापा युवासंघको अध्यक्षका दाबेदार हुन् । त्यस्तै सचिव नरेश शाहीले पनि अध्यक्षमा दावी गरेका छन् । महासचिव किरण पौडेलले भने मुख खोलेका छैनन् ।

स्रोतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुले रमेश पौडेललाई अध्यक्ष बनाउने गरी सर्वसम्मतिको पहल गरेका छन् । १७६ सदस्यीय केन्द्रीय कमिटीमा १३० जनाभन्दा बढी सदस्य रमेशको पक्षमा रहेकाले उपाध्यक्षमध्येबाट उनलाई अघि बढाउन खोजिएको सचिव परशुराम बस्नेतले बताए ।

युवासंघमा ओली पक्षको दुई तिहाई बहुमत छ । अध्यक्षको पाँच उपाध्यक्षमध्ये रमेश पौडेल, चन्द्र लामा र गोविन्द थापा ओली पक्षका हुन् । दिलु पन्त माधव नेपाल पक्षकी हुन् भने पछिल्लो समय राजु गुरुङले ओलीलाई भेट गरेपछि उनको लाइन प्रष्ट छैन । अध्यक्ष दावी गरेका नरेश शाही पनि नेपाल पक्षका हुन् ।

युवासंघका पूर्वअध्यक्ष महेश बस्नेतले भने अब वाईसीएलसँग एकीकरणको चरणमा पुगेको संगठनमा बिगतको पार्टी लाइनका आधारको गुटबन्दी अन्त गर्ने गरी आफूहरु मिलाउन लागेको बताए । उनले भने- अब युवासंघमा हिजोको एमालेभित्रको गुटका आधारमा कुनै लाइन हुने छैनन् । सर्वसम्मत रुपमा सशक्त नेतृत्व चयन भएर अहिलेका चुनौति सामना गर्नेछ ।

माधव नेपाल पक्षका युवा नेता निरज आचार्यले पनि आफूहरु लाइन अन्त गरेर सर्वसम्मत नेतृत्व चयनका लागि सहजीकरणमा लागेको बताए । उनले कतिपय उमेर ४० वर्ष कटिसकेका नेताहरुलाई स्वेच्छिक बिदाईको अवसर दिएर गुटविहीन ढंगले नेतृत्व चयन गराउने पहल भइरहेको बताए ।

स्वेच्छिक विदाईको दबाव

युवासंघभित्र ४० वर्ष उमेर पुगेका र तीनै तहको निर्वाचनमा चुनाव जितेकाहरुलाई संगठनबाट बिदा गर्न दबाव बढेको छ । बिधानमा स्वतः बिदाइको व्यवस्था नभएकाले स्वेच्छिक बिदाइको कुरा आएको सचिव बस्नेतले बताए ।

उमेरका कारण राजु गुरुङ, दिलु पन्तलगायतका नेताहरुमाथि स्वेच्छिक बिदाइको दबाव बढेको छ । त्यस्तै अध्यक्ष राजिव पहारी, उपाध्यक्ष चन्द्र लामा, सचिव मन्जु यादव प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । अनुशासन आयोगका अध्यक्ष हिराचन्द्र केसी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

सचिव अशोक चन्द नगरपालिकाको मेयर र कोषाध्यक्ष हिदम लामा गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन् । जनप्रतिनिधिको जिम्मेवारीमा पुगेकाहरुलाई पनि बिदा गर्नुपर्ने प्रस्ताव बैठकमा पेश हुँदैछ ।

दिलु भन्छिन्- राजीनामा आएको छैन

यसैबीच उपाध्यक्ष दिलु पन्तले भने राजिव पहारीले अध्यक्षबाट राजीनामा दिएको केन्द्रीय कमिटीमा जानकारी नभएको बताएकी छन् । पहारीले मंगलबार साँझै बैठकमा राजीनामा घोषणा गरेका थिए । तर पन्तले भने राजीनामा घोषणाबारे आफूलाई थाहा नभएको बताइन् ।

पहारीले राजीनामा दिएको खण्डमा बरिष्ठताका आधारमा आफूले स्वतः अध्यक्ष पाउनुपर्ने उनको दावी छ । बहुमतका नाममा अर्को व्यक्तिलाई अध्यक्ष बनाइए ‘अर्को बाटो’ लिने चेतावनीसमेत पन्तले दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment