Comments Add Comment

क्रिकेट संघको विधान हुबहु पारित, निलम्बन फुकुवाको सम्भावना बढ्यो

६ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभाले विधानको तेस्रो संशोधन प्रस्ताव हुबहु पास गरेको छ । यससँगै अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) ले नेपालको निलम्बन फुकुवाको सम्भावना बढेको छ ।

सल्लाहकार समूहमा भएको सहमतिअनुसार कानुनी सल्लाहकारले विधानको तेस्रो संशोधनको मस्यौदा बनाएका थिए । बिहीबार सम्पन्न विशेष साधारणसभाले त्यसलाई पास गरेको महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

संशोधित विधानले क्रिकेट खेलाडीलाई पनि क्रिकेट संघको सदस्य बन्ने बाटो खुलेको छ ।

साथै हाल अधिवेशन भइसकेका ३७ जिल्लाको हकमा विधानअनुसार भए नभएको हेर्न पाँच सदस्यीय अनुगमन समिति गठन गरिनेछ । समितिमा आइसिसीबाट तीन, राखेप र निर्वाचित क्यानबाट एक-एक प्रतिनिधि सदस्य रहनेछन् ।

क्यान कार्यसमितिका १७ र राष्ट्रिय खेलकूद परिषद्का सात जनाले उम्मेदवार बन्न तल्लो तहदेखि नै प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघिको विधानमा उनीहरुले निःर्शत उम्मेदवार हुन पाउने व्यवस्था थियो ।

साधारणसभामा पर्यवेक्षकका रुपमा आईसीसी प्रतिनिधि अमर शेख पनि उपस्थित थिए ।

विधान पारितभएसँगै नेपाली क्रिकेटको विकास, विस्तारमा सहयोग पुग्ने तथा क्यानको निलम्वन पनि पुकुवा हुने सम्भावना बढेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

संशोधित विधान राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनुमोदन गरेपछि आईसीसीमा पठाइनेछ ।

अब शनिबार र आइतबार कोलकातामा बस्ने आईसीसीको बोर्ड बैठकमा नेपालबारे छलफल हुने बताइएको छ । साथै आगामी जुलाईमा हुने आईसीसीको साधारणसभामा नेपालको निलम्बन फुकुवा एजेण्डा बन्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment