Comments Add Comment

केपी ओली र प्रचण्डले भोलि चाँडै पार्टी एकता गर्ने सन्देश दिने

८ वैशाख, काठमाडौं । एमाले र माओवादी केन्द्रले कम्युनिष्ट पार्टी स्थापनाको अवसर पारेर चाँडै पार्टी एकता गर्ने सन्देश दिने भएका छन् ।

दुर्इ दलले सुरूमा ९ वैशाखमै पार्टी एकता गर्ने योजना बनाएका थिए । तर, विवादित विषयमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल नपुगेपछि एकता प्रक्रिया लम्बिएको छ ।

पार्टी एकता संयोजन समितिले कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा भोलि राष्ट्रियसभा गृहमा कार्यक्रम राखेको छ । कार्यक्रममा ओली, प्रचण्ड लगायत शीर्ष नेताले सम्बोधन गर्नेछन् । ‘एकता टरेको होइन,यो कसैले टार्न सक्दैन । तयारी नपुगेर केही समयपछि सरेको मात्र हो’ एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले भने, भोलि दुबै अध्यक्षले यो सन्देश दिनुहुनेछ ।’

कार्यदलले अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदन बुझाएको छ तर, केही विवादित विषयमा सहमति जुट्न बाँकी छ । एकताका लागि दुई पार्टीको सांगठनिक अनुपात, जनयुद्धबारेको विश्लेषण, आगामी महाधिवेशन र नेतृत्व बाँडफाँडबारे ठोस् सहमति हुन बाँकी छ ।

सहमतिको प्रयासमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पछिल्लो केहीदिनदेखि लगातार वार्ता भइरहेको छ ।

एकीकृत कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित चुनावी गठबन्धन हुँदै संघीय संसदमा बहुमत हासिल गरेका दुर्इ दलका नेताहरू एकताबाट पछि हट्न नसक्ने बताउँछन् । तर, शीर्ष नेताद्वय ओली र प्रचण्डमा एकअर्काप्रति पूर्ण विश्वासको वातावरण बन्न बाँकी नै रहेकाले एकता प्रतियाले गति लिन नसकेको बताइन्छ ।

दुर्इ नेताबीच सहमति जुटे यही वैशाख १८ गते विश्व मजदुर दिवसका दिन एकता घोषणा गर्न पनि नेतृत्वलाई सुझाव दिइएको छ । माओवादी नेता दीनानाथ शर्माले भन्छन्, दुबै अध्यक्षले वैशाखभित्र एकता हुने भन्नुभएको छ । एकताबाट कोही पनि पछाडि फर्कने स्थिति छैन ।’

राससको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment