Comments Add Comment

नेपाली साहित्यमा युरिया मलको प्रयोग र मलेखुका माछा

स्मरण रहोस् - देवकोटाका रचनाका सम्पादक थिएनन्


नेपाली साहित्यमा सबैभन्दा पुरानो, नाम चलेको र गनिएको प्रकाशन नेपाली भाषा प्रकाशिनी समिति हो । त्यो संस्थाले जुनी फेरेर साझा प्रकाशन भयो । विविध कठिनाई र समस्याका वावजुद यो अझै चलिरहेको छ ।

निजी क्षेत्रमा कुनैबेला सर्वत्र राज गर्ने प्रकाशन हो रत्न पुस्तक भण्डार । यो पनि आफ्नो पुख्र्यौली विंडो थामेर अस्तित्वमा छ । पछिल्लो चरणमा निजी क्षेत्रमा निकै प्रकाशन संस्थाहरु देखा परेपछि रत्न पुस्तक भण्डारको पनि प्रतिस्पर्धा बढ्न थालेको छ । यद्यपि यसले आफ्नो कार्य गरिरहेको छ ।

नयाँ प्रकाशन गृहको थालनीपछि साहित्य प्रवर्द्धन र विकासका लागि केही राम्रा काम पनि भएका छन् । साहित्यका लागि यो राम्रो सूचक पनि हो । यद्यपि यहाँ प्रकाशन गृहका राम्रा कुराको चर्चा गर्न लागिएको होइन, बरु केही विकृतिका सम्बन्धमा प्रकाश गर्ने उद्देश्य राखिएको छ ।

प्रकाशनको क्षेत्रमा निजी क्षेत्रको पछिल्लो आगमनसँग एउटा नयाँ संस्कृति पनि भित्रियो, कृति सम्पादन गर्ने कुरा । लेखक सवै व्याकरणविद हुँदैनन्, पुस्तक शुद्धरुपमा पाठकका हातमा पुर्‍याउन व्याकरणको एकरुपताका लागि सम्पादन हुनुपर्छ । यो कुरामा कसैको दुईमत हुनै सक्दैन, चूडामणि रेग्मीको जस्तो एकाध एकल अपवाद वाहेक । तर, जहाँसम्म कृति सम्पादनका नाममा कृतिको आमूल परिवर्तन दोस्रो व्यक्तिले गर्छ, यहीँनेर प्रश्न उठ्छ, त्यो कृति मूल लेखकको हो कि सम्पादकको ? लेखक निमित्त नायक मात्र हो ? नेपाली साहित्यको यो प्रवृत्तिलाई नेपाली साहित्यमा युरिया मल भन्ने गरिन्छ ।

नेपाली साहित्यमा प्रयोग हुन थालेको यो यो शैली पश्चिमी देशबाटै भित्रिएको हो । सन् १७२७ मा डच वैज्ञानिक हर्मन वुर्हावेले पत्ता लगाएको यो मल भारत हुँदै नेपाल निकै पछि मात्र आएको हो । तर, नेपालका प्रकाशनमा यो यसरी गढेर गएको छ कि लेखकले लेख्ने गरेको मूल प्रति र युरिया मल हालेपछिको प्रतिमा आकाश जमीनको फरक हुन पुग्छ ।

कुनै पनि प्रकाशकले धेरै संख्यामा किताव बिक्री होस् भन्ने चाहन्छ । ब्यापार बढोस् भन्ने ब्यापारीको धर्म हो । त्यो उसको पेशा हो र यस्तो सोच राख्नु यथार्थ नै हो । तर, यसमा लेखक सहमत हुनुका कारण पटक्कै बुझ्न सकिँदैन । किताव धेरै बिकेपछि उसले पनि बढी रोयल्टी पाउन थाल्छ । उसको जीवनयापन सरल हुन्छ । तर, किताव बिकाउनकै लागि लेखकले आफ्नो मौलिकता सखाप पार्न तयार हुने कि नहुने ? यो एउटा अहम् प्रश्न हो ।

नेपालमा चलेका धेरै पुस्तक पाठकको हातमा आइपुग्दा उसको स्वाद फरक हुने गरेको छ । लेखकलाई भेट्दा, उसका पुराना पुस्तक पढ्दा र नयाँ पुस्तकमा किन स्वाद फरक आयो भनेर सोच्नु अब ब्यर्थ छ । खासमा ती सबैमा यस्ता युरिया मलको प्रयोग हुन्छ । यही कारण लेखकको वास्तविक कलमको स्वाद पाठकसम्म पुग्दा हराइसक्छ ।

म आफैंले भोगेको एकाध घटना यहाँ सम्झन्छु ।

मैले मेरो चलेको एउटा उपन्यास अंग्रेजी भाषामा अनुवाद गराउन चाहें र विभिन्न माध्यमद्वारा अनुवादकहरुसम्म पुगेँ । म चाहन्थेँ, मेरो उपन्यास त्यही स्वादमा अंग्रेजी भाषामा अनुवाद होस् । मलाई त्यो अन्तर्राष्ट्रिय भाषाका पाठकले जस्ताको तस्तै बढून् । तर, अनुवादकहरुमा युरिया मल हाल्नुपर्छ भन्ने भावना कति बढेर गएको रहेछ भन्ने कुरा उनीहरुसँग कुरा गर्दा थाहा भयो ।

उनीहरु मध्ये केहीले भने, ‘तपाईंको उपन्यास जस्ताको तस्तै आउँदा रमाइलो हुँदैन । बरु तपाईंको कथाका आधारमा म अंग्रेजी शैलीमा नयाँ उपन्यास लेखिदिन्छु । किताव तपाईको नाममा छापिन्छ, मलाई पैसा भए पुग्छ ।’ यो मेरालागि अनौठो कुरा थियो ।

युरिया मल साहित्यमा हालेपछि नेपाली साहित्य गतिला कृतिहरुले हराभरा देखिन थालेको छ । यस्तो मलले सप्रेको तरकारीझैं नेपाली साहित्य पनि हराभरा देखिन थालेको छ । नाम चलेका व्यक्तिहरुका नाममा यस्ता कृतिहरु बजारमा आएका छन् । तर, उनीहरुको मौलिक स्वाद भने वेपत्ता भएको छ

मानिसलाई अरुको उपन्यासमा युरिया मल हाल्न रुचि हुनुको कारण के हो ? मौलिकता भन्ने कुरा पनि बजारले निर्धारण गर्ने हो र ?

मैले अर्का एकजना अनुवादलाई यही सिलसिलामा भेटेको थिएँ । उनले अझ रमाइलो कुरा भनेँ ।

उनी भन्दै थिए, ‘अनुवादभन्दा बरु अंग्रेजीमै नयाँ लेखिदिन्छु । हाम्रो पेसा नै यही हो । अनुवाद भन्दा अंग्रेजीमा मौलिक कृति लेख्नु राम्रो हुन्छ ।’

अनुवादकको यो भनाइ मेरो कल्पनाभन्दा विपरीत मात्र होइन, एक प्रकारले अकल्पनीय कुरा थियो । आफ्ना कुरा मौलिकरुपमै जनतासम्म पुग्नुपर्छ भन्ने कुरामा मेरो जहिल्यै पनि विशेष आग्रह हुने गर्छ । यही कारण यस्ता अनुवादकसँग कुरा मिलेन । मिल्न सक्ने कुरा पनि भएन ।

नेपाली लेखनको क्षेत्रमा पछिल्लो चरणमा केही लेखकहरु तथा केही सम्पादकहरु नयाँ पुस्तकहरुमा पुरै हावी भएका देखिन्छन् । तिनको काम प्रकाशकको योजना अनुसार विकाउ माल तयार पारिदिनु हो । लेखनलाई नै पेशा बनाएपछि, उनीहरुले आफ्नो पेशागत धर्म निभाएका होलान् । यसलाई उनीहरु आफ्नो व्यवसायिक काम भन्नु पनि स्वाभाविक नै हो । तर, राम्रा नाम चलेका लेखकहरु पनि यो कुरामा सहमत भएर आफ्ना कृतिमा युरिया मल हाल्न तयार हुनु भने मजस्ता लेखकले बुझ्न नसकेको कुरा हो । यस्तो अवस्थामा लेखकको मौलिकता कहाँ कुन पानामा खोज्ने ?

युरिया मल साहित्यमा हालेपछि नेपाली साहित्य गतिला कृतिहरुले हराभरा देखिन थालेको छ । यस्तो मलले सप्रेको तरकारीझैं नेपाली साहित्य पनि हराभरा देखिन थालेको छ । नाम चलेका व्यक्तिहरुका नाममा यस्ता कृतिहरु बजारमा आएका छन् । तर, उनीहरुको मौलिक स्वाद भने वेपत्ता भएको छ ।

यो प्रसङ्गमा मलेखुको माछा भल्झली सम्झन्छु ।

मलेखुका माछापसलमा मलेखुका माछा खानेहरुको धुइरो लाग्छ । काठमाडौंबाट मुग्लिङ हुँदै पोखरा र तराई झर्नेहरु स्वाद मानीमानी मलेखुका माछा खान्छन् । तर, त्यो मलेखुको माछा नभई जनकपुरको माछा हुन् भन्ने कुरा धेरैलाई थाहा छैन ।

खासमा मलेखुका हरेक पसलमा एकै आकारमा पोटिला माछा पाइन्छन् । आम मानिसले सामान्य प्रश्न पनि गर्दैन, मलेखुको खोलामा यसरी एकै आकारका माछा कसरी पाइए ? कसरी समातिए ? खासमा धेरैलाई यो मलेखु खोलाको माछा होइन, जनकपुरबाट ल्याइएको हो भन्ने थाहा भैसक्यो । तैपनि हामी यी माछा खान बानी परेका छौं ।

मलेखु खोलाको डिलमा बसेर जनकपुरको माछा खानुको स्वाद नै बेग्लै हुन्छ । पसले पनि दङ्ग, जनकपुरको माछालाई मलेखुको माछा भनेर बेच्न पाउँदा, ग्राहकहरुलाई उल्लु बनाउन पाउँदा । यता ग्राहकहरु पनि मख्ख मलेखुमा मलेखुकै माछा खान पाइयो भनेर दङ्ग ।

कतिपय पुस्तकमा त सम्पादकको मौलिकताले पुरै मुण्टो उठाएको झल्को पाइन्छ । पुस्तकभरि लेखक कम, सम्पादकको शैलीको झझल्को पाउन सकिन्छ

नेपाली साहित्यको पछिल्लो स्थिति त्यही मलेखुको माछाझैं भएको छ । लेखक लेखिकाहरु मेरो किताव भनेर दङ्ग ! कितावमा उनकै नाम छ । प्रकाशक पनि दङ्ग, बिकाउ माल बनाउन पाइयो । पाठकलाई मूर्ख बनाउन पाइयो भनेर । तर, लेखक-लेखिकाको मौलिकता भने कपुर झैं उडेर बेपत्ता !
अझ कतिपय पुस्तकमा त सम्पादकको मौलिकताले पुरै मुण्टो उठाएको झल्को पाइन्छ । पुस्तकभरि लेखक कम, सम्पादकको शैलीको झझल्को पाउन सकिन्छ ।

निश्चिय नै युरिया मलका आविष्कारक पश्चिमाहरु हुन् । उनीहरुले आफ्ना पुस्तकहरुमा सयौं वर्षसम्म यसको प्रयोग गरिसकेका छन् । तर, आजभोलि खानामा झैं पुस्तकहरुको स्वादमा पनि लेखक नै हावी भएको हेर्न चाहन्छन् । अहिले धनीमानीहरु, स्वास्थ्यमा बढी चनाखो हुनेहरु अग्र्यानिक फलफूल, तरकारी खान लागेका छन् । अग्र्यानिक सामान मात्र वेच्ने स्टोरहरु धमाधम बढिरहेका छन् ।

ध्रुवचन्द्र गौतमको लेखनमा युरिया मल हाल्दा उनको मौलिकता कति बाँकी रहला ? सेक्सपियरका रचनाहरु सम्पादन गरिएका थिएनन् । महाकवि देवकोटाका रचनाका पनि सम्पादक थिएनन् । लेखनाथका रचनाहरुमा युरिया मल परेको थिएन । अहिलेको खाद्यान्नमा झैं, पुस्तकमा पनि युरिया मल अत्यधिक पर्न थालेको छ

हामी पनि युरिया मल नहुँदा अघोषित रुपमै अग्र्यानिक खाना खान्थ्यौं । हाम्रै गाईवस्तुका भकारो, पत्कर कुहाएर मल बनाएर खेती गर्थ्याैं । पश्चिमाहरु रातारात मौलाउने युरिया मल प्रयोग गर्न सिकाइदिए र अग्र्यानिक संसारलाई ध्वस्त वनाइदिए । अब पश्चिमाहरु अग्र्यानिकमा रमाउन थालेका बेला हामी युरिया मलमा दङ्ग परिरहेका छौं ।

साहित्यमा युरिया मलको प्रयोग सुखद वा घातक के होला ? यसमा गम्भिरतापूर्वक सोचिएको छैन । तर, अब सोच्ने बेला भएको छ ।

ध्रुवचन्द्र गौतमको लेखनमा युरिया मल हाल्दा उनको मौलिकता कति बाँकी रहला ? सेक्सपियरका रचनाहरु सम्पादन गरिएका थिएनन् । महाकवि देवकोटाका रचनाका पनि सम्पादक थिएनन् । लेखनाथका रचनाहरुमा युरिया मल परेको थिएन । अहिलेको खाद्यान्नमा झैं, पुस्तकमा पनि युरिया मल अत्यधिक पर्न थालेको छ ।

अब नयाँ पुस्ता युरिया मलमा रमाउने कि अग्र्यानिकपथमा लाग्ने ? यो आफैंले निर्धारण गर्ने कुरा हो । जनकपुरको माछालाई मलेखुको माछा भनेर कतिञ्जेल रमाउने ? बरु मलेखुको खोलाका भुरा माछा खाने, तर मलेखुको किनारमा बसेर जनकपुरको माछालाई मलेखुको माछा मान्दै नमान्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment