Comments Add Comment

कांग्रेस बैठकः पदाधिकारी प्रस्तावको सम्भावना

फाइल तस्वीर

९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले रिक्त पदाधिकारी प्रस्ताव गर्ने तयारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज बस्ने पार्टी केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी प्रस्ताव गर्ने तयारी गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार पार्टी कार्यालय सानेपामा बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने कार्यसूची रहेको जानकारी दिए ।

पौडेलका अनुसार, केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव राख्ने सम्भावना छ ।

कांग्रेसको विधानमा निर्वाचित केन्द्रीय सदस्यहरुमध्येबाट १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री सभापतिले मनोनित गर्ने प्रावधान छ । २ महिनाभित्र पार्टी सभापतिले पदाधिकारी मनोनित गर्नुपर्ने भए पनि देउवाले २ वर्ष गुज्रिनै लाग्दासमेत गरेका छैनन् । नेतृत्वको सुस्त कार्यशैलीको पार्टीभित्र चर्को आलोचना भइरहेका बेला देउवाले मनोनयनको तयारी गरेका हुन् । तथापि उनले पदाधिकारी मनोनयन सहमतिमा हुनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले माग गरे पनि कुनै छलफल गरेका छैनन् ।

कांग्रेस स्रोतका अनुसार, उपसभापतिमा विमलेन्द्र निधि मनोनित हुने सम्भावना छ । यद्यपि, यसमा गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदारले पनि दाबी गरेका छन् । महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महतलाई सम्भावित अनुहारका रुपमा हेरिएको छ ।

निर्वाचन समीक्षा र समसामयिक राजनीतिबारे धारणा तय गर्न गत चैत ९ गतेबाट कांग्रेसको केन्द्रीय समिति बैठक शुरु भएको थियो । बैठककै क्रममा चैत १६ गते पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको निधन भएपछि बैठक स्थगित गरिएको थियो । त्यही स्थगित बैठक शुक्रबार बस्ने भनिए पनि अधिकांश केन्द्रीय सदस्यहरु काठमाडौं बाहिर भएको भन्दै आइतबारलाई सारिएको थियो ।

यो पनि पढ्नुहोस्

कांग्रेसको उपसभापतिमा विजय गच्छदार कि विमलेन्द्र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment