Comments Add Comment

खेतियोग्य जमिन बगर बन्दै, गास खोेसिने भन्दै किसानहरु चिन्तित

१० वैशाख, गोरखा । पछिल्लो समय जिल्लामा अव्यवस्थित रुपमा घडेरी खारेर माटो थुपार्ने क्रम बढ्दै गएको छ ।

जथाभावि माटो थुपार्दा खेतियोग्य जमिनहरु पुरिएर बगर बन्न थालेका छन् । गोरखा नगरपालिका-८ र ९ मा जथाभाबी घडेरी खारेर अव्यवस्थित रुपमा माटो थुपार्ने काम भइरहेको छ ।

गोरखा नगरपालिका-८ खोलखोलेमा घडेरी खारेर सडक छेउमा थुपारिएको माटो बगाएर खेतमा पस्न थालेपछि किसानहरु चिन्तित छन् ।

खोलखोले नजिकै रहेको सिर्दिखोला र डडेलभिरको बुढीखोला आसपास थुपारिएको माटो वर्षातसँगै बगेर खेतमा पुग्ने गरेको स्थानीयहरु बताउँछन् । ‘घडेरी खारेर जथाभावि माटो थुपारेका छन्,’ गोरखा नगरपालिका-९ दलभन्ज्याङका राम बहादुर खत्रीले भने, ‘अस्ति परेको पानीले सबै बगाएर खेतमा ल्याएको छ ।’

खेतमा पसेको माटो र ढुङ्गाले रोपेको धान सबै पुरिएर नष्ट भएको उनले बताए । ‘खोला छेउमा खेत छ, माथि जथाभावि घडेरी खारेर माटो थुपारेका छन्, पानी परेपछि त सबै बगाएर खेतमा पस्छ,’ उनले भने । खेतमा लगाएको चैते धान सबै नष्ट भएको उनले बताए ।

‘सानो पानी पर्दा त यति असर गर्‍यो, अब झन् धेरै पानी पर्ने दिन आउँदैछ, हाम्रो त बिचल्ली हुने भयो,’ गोनपा-९ दलभन्ज्याङका काजिराम खत्रीले भने ।
जथाभावि माटो थुपारेर कृषकहरु माथि घात गरेको उनको आरोप छ । ‘हामी खेती गरेर खाने मान्छे अब खेती गर्ने जमिनमै यसरी माटो पस्न थालेपछि हाम्रो त गाँस नै खोसिने भयो नी ,’ उनले भने ।

जथाभावी माटो नथुपार्न बारम्वार आग्रह गरेपनि अटेर गरेको भन्दै उनले आक्रोश व्यक्त गरे । ‘नगरपालिका र वडा कार्यालय सबै ठाउँमा निवदेन पनि दियौ तर कसैले केही गरेनन्, खेतमा माटो पसेर खेति नष्ट गरेको टुलुटुलु हेर्नु वाहेक केही बिकल्प छैन,’ खत्रीले दुखेसो पोख्दै भने ।

विगत दश वर्षदेखि सिर्दिखोला आसपास रहेको खेतहरु पुरिदै आएको स्थानीय हरि रोका बताउछन् । ‘बिगतदेखि पुरिदै आएको खेत जसोतसो गोडमेल गरेर खेति गर्दै आएका छौ, अब त हामीलाइ हेपेर सिधै माटो खेत तिरै पर्ने गरी फाल्न थालेका छन्,’ उनले भने । जथाभावि खडेरी खारेर माटो फाल्दा पानीको मुहानमा समेत असर पुगेको उनको भनाइ छ ।

अहिले खारिरहेको जग्गा वडा नम्वर ७ का वडा अध्यक्ष बिष्णु कुमार श्रेष्ठ र स्थानीय व्यापारी इश्वर काजी मास्केको हो । अहिले उक्त ठाउँमा घडेरी खारेर माटो थुपार्ने काम भइरहेको छ ।

अव्यवस्थित रुपमा थुपारिएको माटोले किसानहरुको खेतियोग्य जमिन बगर बन्दै छन् । व्यक्तिको जग्गामा माटो फालेपनि अव्यवस्थित हुँदा खेतमा पस्न थालेको हो ।

खेतमा रहेको अधिकांश कुलोहरु पुरिएको स्थानीय किसानहरुले बताएका छन् । खोलखेले देखि दरौदी खोला सम्मको करिव एक हजार रोपनी खेतमा असर परेेको उनीहरुको दावी छ । उक्त खेतमा धान, मकै, आलु, गौ लगायतका बिभिन्न खेतिहरु हुने गरेको स्थानीय कृषकहरु बताउँछन् । ‘वडा अध्यक्षले तलबाट तारजाली लगाइदिन्छु समेत भन्नुभएको थियो तर खै अहिले सम्म केही वास्ता गर्नुभएको छैन,’ खत्रीले भने ।

गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले दुई पक्षलाई बुधबारका लागि छलफलमा बोलाइएको बताए । ‘बुधबार दुवै पक्षलाई छलफलमा बोलाएको छु, अब त्यँही छलफल गरेर समस्या समाधानको उपाय खोज्नेछौ,’ उनले भने ।

सवारी आवातजावत हुने मुख्य सडक छेउमा घडेरी खार्दा पानी परेको समयमा सडक हिलो हुने र सुख्खा समयमा धुलो हुने गरेको छ । जसका कारण पैदलयात्रुदेखि सवारीसाधनलाइ आवतजावतमा समस्या हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment