Comments Add Comment

दोस्रो गीतको तयारीमा मनोजकी पूर्वपत्नी, डिस्लाइक गर्नेलाई यस्तो जवाफ

 

हाँस्यव्यंग्यकर्मी मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालको पहिलो गीत यूट्यूवमा सार्वजनिक भएपछि यसले लाइकभन्दा डिस्लाइक बढि पाएको विषय चर्चामा आयो । पछिल्लो पटक हेर्दा करिब ५ सय लाइक र ९ हजार डिसलाइक देखिन्छन् । करिब ११ सय कमेन्टहरुमध्ये अधिकांस नकारात्मक छन् ।

तर, मिनालाई यसले हतोत्साहित बनाएको छैन । उनी आफ्नो गायन क्षमतामा ढुक्क छिन् । त्यसैले त तुरुन्तै दोस्रो गीत गाउने तयारी उनको छ ।

एक महिनाभित्र आफ्नो दोस्रो गीत रेकर्ड भइसक्ने मिनाले अनलाइनखबरलाई जानकारी दिइन् । दोस्रो गीतको बोल यस्तो हुनेछ:

कोही भन्छन् काली मलाई कोही भन्छन् गोरी

कोही आँखा तर्छन् मलाई कोही गर्छन् गाली

जसले जे भने नी म त छोरी नेपाली

यो गीतलाई राज खड्काले संगीत दिनेछन् । ‘मार्मिक’ शब्दहरुका कारण यो गीतलाई दर्शक-स्रोताहरुले मन पराउने मिनाको विश्वास छ ।

त्यसो त उनले निकै आशा राखेर ‘आँखा जुध्यो, यो मनले त्यो मनलाई कस्यो’ बोलेको पहिलो गीत ल्याएकी थिइन् । गीतमा मोडलिङ पनि उनकै थियो । तर उनले सोचेजस्तो भएन । यो गीतलाई धेरैले मजाकमा उडाएका छन् ।

यस विषयमा मिना भन्छिन्, ‘म राम्रो गायिकाको रुपमा स्थापित हुनसक्छु भन्ने मलाई थाहा छ, अरुले जे भनुन् मतलब छैन ।’

उनले थपिन्, ‘मानिसहरुले आफ्नो औकातअनुसार कमेन्ट गर्ने हुन् । गीत हेरेर मनोरञ्जन लिन्छन् अनि नानाथरी कमेन्ट गर्छन् । रुचाएर नहेरेको भए मेरा भिडियोहरु कसरी टे्रेन्डिङमा आउँथे ?’

मिना चाँडै नै तिज गीत पनि गाउने तयारीमा छिन् । यही तिजलाई लक्ष्यित गरी तिज गीत गाउन लागेको उनले जानकारी दिइन् ।

‘देश तथा विदेशबाट धेरैले मलाई तिज गीत गाउन आग्रह गर्नुभएको छ, अहिले त्यसको तयारी गर्दैछु,’ उनले भनिन् ।

मिनाले अगाडि भनिन्, ‘कुकुर भुक्दै गर्छन्, हात्ती लस्किदै गर्छ भनेजस्तो मलाई गाली गर्नेहरु गरिरहुन्, म अगाडि बढिरहन्छु ।’

उजुरी बोकेर प्रेस काउन्सील

यसैबीच गायिका ढकालले आफ्नो विषयमा गलत समाचार सम्प्रेषण गरेको भन्दै केही अनलाइनविरुद्ध प्रेस काउन्सीलमा उजुरी गरेकी छिन् । उनी ती समाचारको स्किनसट बोकेर पुगेकी थिइन् ।

‘केही झारपात अनलाइनहरुले मेरो इमेज बिगि्रने गरी समाचार प्रकाशित गरेकाले कानूनी उपचार खोजेकी हुँ,’ उनले भनिन् ।

त्यसो त उनी पहिले साइबर क्राइममा उजुरी हाल्न प्रहरीमा पुगेकी थिइन् । तर, प्रहरीबाट उनलाई सञ्चारमाध्यमसँग सम्वन्धित विषय भएकाले प्रेस काउन्सील जान सुझाव दिइएको थियो ।

प्रेस काउन्सीलमा उनीका विषयमा गलत समाचार लेख्ने अनलाइनबारे छानविन गर्दा अधिकांस दर्ता नभएका फुटकर अनलाइन भएको पाइएको थियो । त्यसैले तिनीहरुविरुद्ध कारवाही कठिन भएको छ । ढकालले फेरि प्रहरीमा गएर साइबर क्राइममा उजुरी गर्ने विचार गरेकी छिन् ।

‘दोस्रो विहे गर्न तयार छु, तर गाउँले पाखे हुनुहुन्न,’ शिर्षकमा आफ्नो विषयमा गलत समाचारहरु आएकेा मिनाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment