Comments Add Comment

ऐतिहासिक अमरगढी किल्लाः कहाँ गए पुराना हतियार ?


१४ वैशाख, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका ५ खलंगामा अवस्थित ऐतिहासिक अमरगढी किल्ला संरक्षण अभावमा जीर्ण बन्दै गएको छ ।

समुद्री सतहबाट करिब ६ हजार ५०० फिट उचाइमा अवस्थित अमरगढी किल्ला बडाकाजी अमरसिंह थापाले राज्य विस्तार गर्ने क्रममा स्थापना गरेका थिए ।

किल्लामा ठूला–ठूला ढुङगा प्रयोग गरिएकाले यो किल्ला निकै कलात्मक छ । पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए । रणबहादुर शाहको शासनकालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सीमाना सुरुमा कुमाउ गढवालसम्म पुगेको थियो ।

एकीकरणको अभियान बेला विस १९४७ भदौ ३१ गते सेती नदीको नारीदाङ भन्ने स्थानमा गोरखाली फौज र डोटेली फौजबीच युद्ध भयो । डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका थिए । तिनै अमरसिंहले आफू नियुक्त भएपछि यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पश्चिम काकँडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निर्माण गर्न लगाएको इतिहासमा पढ्न पाइन्छ ।

त्यसैले यो अमरगढी किल्लाको रुपमा परिचित छ । १९४७ मा निर्माण भएको यही किल्लालाई आधार बनाएर गोरखाली फौजले युद्ध लडेको थियो । काँकडा र कुमाउको अलमोडामा नेपालको हार भएपश्चात यो क्षेत्रको सदरमुकाम दिपायल सिलगढी सरेको बताइन्छ ।

यो किल्ला विशाल ढुङ्गाले कलात्मक तरिकाले बनाइएको छ । किल्लाभित्र युद्ध गर्नको लागि २२ वटा गुफाहरु बनाइएको छ ।

कहाँ गए पुराना हतियार ?

स्थानीयका अनुसार सुदूरपश्चिमकै ऐतिहासिक तथा देशको गरिमा बोकेको अमरगढी किल्लामा रहेका ऐतिहासिक हतियार भने गायब भएका छन् ।

‘पहिले सानो छँदा किल्लाभित्र तोप, बन्दुक, घरेलु भाला, गोला लगायतका हातहतियारहरु देखेको थिएँ,’ स्थानीय गणेश बहादुर मगरले भने, ‘तर अहिले ती हतियारहरु देखिँदैनन् ।’

अमरगढी किल्लामा बसेको गोरख दलका सेना सरुवा भएर जाँदा पुराना हतियार पनि आफूसँगै लगेको स्थानीयको आशंका छ ।

‘त्यसबेला किल्लामा गोर्खादल नामको तत्कालीन शाही सेना बस्ने गरेका थिए,’ स्थानीय ६५ वर्षीय उमा श्रेष्ठले भनिन्, ‘पछि उनीहरुले किल्लाभित्र रहेका हतियार सरुवा भएर जाँदा सँगै लगेर गए ।’

त्यसपछि यस किल्लामा कुनै सैनिक टुकडीले ती हतियार नल्याएको समेत श्रेष्ठको भनाइ छ ।

पहिले किल्लामा पाँचवटा तोप, दर्जनौं घरेलु हतियार, एक सय जती बन्दुक, बम र गोला बारुद बनाउने छट्टै घर, सैनिक पोशाक लगायतका सामाग्रीहरु थिए । तर अहिले किल्ला हेर्न आउने पर्यटकले ती कुनै पनि देख्न पाउँदैनन् ।

घट्न थाले पर्यटक

हतियार हराउनुमा सम्बन्धित निकायको उदासिनता जिम्मेवार रहेको आरोप स्थानीयको छ । सम्बन्धित निकायले ध्यान नदिँदा किल्लाभित्रका हतियार हराएको र ऐतिहासिक अमरगढी किल्लाको महत्व पनि घट्दै गएको स्थानीयको ठम्याइ छ ।

नेपालका जीवित किल्लामध्येको पहिलो किल्ला अमरगढी रहेको विज्ञहरूको भनाइ छ । अमरगढी र सिन्धुलीस्थित सिन्धुलीगढीलाई मात्र हालसम्म जीवित किल्लाको रुपमा लिइन्छ ।

ऐतिहासिक गौरव बोकेको अमरगढी किल्ला यस क्षेत्रकै मुख्य पर्यटकीय आकर्षणका रुपमा छ । डडेल्धुरा आउने पर्यटकको पहिलो गन्तव्य नै उक्त किल्ला बन्ने गरेको छ ।

काठमाडौंबाट डडेल्धुरा घुम्न भनि आएकी जुलीयाना श्रेष्ठले भनिन्, ‘स्कूलमा पढ्ने बेला यो किल्लाको बारेमा पढेको थिएँ । त्यहीँ भएर यता घुम्न आएँ, तर किताबमा पढे जस्तो हातहतियार यता देखिएन । तर पनि किल्ला घुम्दा रमाइलो नै लाग्यो ।’

किल्ला हेर्न आउने सर्वसाधारणबाट ५० र विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिने गरेको अमरगढी नगरपालिकाले जनाएको छ ।

तर किल्लालाई थप व्यवस्थित गर्न नसकेका कारण यहाँ आउने पर्यटकको संख्यामा कमी आएको अमरगढी किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिका अध्यक्ष प्रवीण जैरु बताउँछन् ।

समुद्री सतहबाट छ हजार ५ सय फिटको उचाइमा रहेको अमरगढी किल्ला सुरक्षार्थ नेपाली सेना खटिँदै आएको भए पनि अहिले सशत्र प्रहरी बलले किल्लाको सुरक्षा गर्दै आएको छ ।

अमरगढी किल्ला बाहेक उग्रतारा मन्दिर, घटालथान, अजयमेरुकोट लगायतका क्षेत्र पनि पर्यटकीय गन्तव्य हुन् । यी क्षेत्रको प्रवद्र्धन गर्नसके पर्यटकलाई थप अकर्षित गर्न सकिने देखिन्छ ।

जीर्ण बन्दै किल्ला

अमरगढी किल्ला संरक्षणको अभावले जीर्ण बन्दै भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका यसै अमरगढी किल्लाको नामबाट २०५४ सालमा नामाकरण गरिएको थियो । नगरपालिका स्थापना पश्चात २०५६ सालमा नगरपालिकाले किल्लालाई आफ्नो मतहत ल्याएको थियो ।

तर, २०५८ सालमा तत्कालीन जनयुद्धका कारण जिल्लालाई सुरक्षा दिन अमरगढी किल्लामा पुनः नेपाली सेना बसेको थियो । युद्धकालमा अमरगढी किल्ला क्षेत्रमा हिँडडुल गर्नसमेत प्रतिवन्ध लगाइएको थियो ।

२०५८ सालदेखि २०६६ सालसम्म किल्ला सेनाकै मातहतमा थियो । स्थानीयको पटक–पकटको प्रयासपछि २०६६ साल पुसदेखि पुनः किल्लालाई अमरगढी नगरपालिकाले रेखदेख र सञ्चालन गर्न थाल्यो । त्यसपछि पर्यटकलाई प्रवेश खुला गराइए पनि फोटो खिच्न भने २०६९ सालबाट मात्रै स्वीकृति दिइएको थियो ।

अहिले किल्ला जिर्ण बन्दै गएको छ । मर्मत सम्भारका लागि बजेट विनियोजन भएता पनि मर्मत गर्दा सिमेन्ट प्रयोग भएकाले पुरानो संरचनामा बिग्रिएको छ । पुरानो गुफा भत्किने अवस्थामा छ । बडाकाजी अमरसिंह थापा बस्ने घर भत्किएर त्यसलाई पुनर्निर्माण नगरी टिनको नयाँ छाप्रो बनाइएको छ ।

के भन्छन् स्थानीय ?

किल्लाको प्रचारप्रसार तथा ऐतिहासिक हातहतियार तथा तत्कालीन सैनिकका पोशाक किल्लामा राख्नु जरुरी रहेको स्थानीय नरेशबहादुर थापाको भनाइ छ ।

‘ती पुराना हातहतियार कहाँ छन ? कसैलाई थाहा छैन,’ थापा भन्छन्, ‘यसमा पुरात्व विभाग तथा स्थानीय सरकारले चासो देखाउनु पर्छ ।’

यस किल्लालाई संरक्षण गरेर सबै ठाउँमा प्रचारप्रसार गरेर पर्यटकहरु भित्र्याउन सकिने उनको भनाइ छ ।

स्थानीय पर्यटन विकासकर्मी गणेश थापा मगरले किल्लाको विकासका लागि पुरातत्व विभाग र स्थानीय प्रशासनले ध्यान दिनु पर्ने बताए ।

‘सात पहाडी जिल्लाको केन्द्रबिन्दु डडेल्धुरामा रहेको अमरगढी ७ नम्बर प्रदेशकै पर्यटकीय गन्तव्य हो,’ थापा मगरले भने, ‘नेपालमा अगरगढी जस्तो जिवित किल्लाहरु अहिले पाइँदैन । यो किल्लाको लामो इतिहास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment