Comments Add Comment

आईपीएल : जित्नैपर्ने दबावमा दिल्ली, कस्तो होला नयाँ कप्तानी ?


१४ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को ११ औं सिजनमा दिल्ली डेयरडेभिल्सको सुरुवात हारसँगै भयो । पहिलो खेल हारेको दिल्लीले त्यसपछि पनि एक खेल मात्रै जितेको छ ।

अंक तालिकाको पुछारमा रहेको दिल्ली आज घरेलु मैदानमा कोलकाता नाइट राइडर्ससँग खेल्दै छ ।

किंग्स इलाभेन पञ्जाबसँग पछिल्लो पटक घरेलु मैदानमा खेलेको दिल्लीले टिममा पाँच परिवर्तन गर्‍यो । जसले बलिङमा सुधार देखिए पनि ब्याटिङ राम्रो हुन सकेन र खेल हार्‍यो । यस्तोमा आज कोलकाताविरुद्ध प्लेइङ ११ तय गर्न दिल्लीलाई कठीन देखिएको छ ।

दिल्लीमा नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने पनि संलग्न छन् । अहिलेसम्म उनले मैदान उत्रिन पाएका छैनन् । ग्लेन म्याक्सवेल, जेसन रोय, कोलिन मुन्रो, ट्रेन्ट बोल्ट, ड्यानियल क्रिष्टियन, लियाम प्लंकेटजस्ता खेलाडीसँग सन्दीपको स्थान रहेकाले उनलाई सहज भने देखिँदैन ।

एउटै खेलमा मैदान प्रवेश नगरेका सन्दीप विपक्षीका लागि ‘सरप्राइज प्याकेज’ भने बन्न सक्छन् ।

मोरिसको स्थानमा डाला

दिल्लीले क्रिस मोरिसको स्थानमा दक्षिण अफ्रिकाका तीब्र गतिका बलर जुनियर डालालाई ल्याएको छ । मोरिस घाइते भएकाले डाला ल्याएको दिल्लीले जनाएको छ । सिजनको बाँकी कुनै पनि खेलमा मोरिस खेल्न नसक्ने भएपछि दिल्लीले डालालाई टिममा ल्याएको हो ।

जित्नुको विकल्प छैन

दिल्लीले सुरुका खेलमा जस्तो प्रदर्शन गर्‍यो, त्यसले अब बाँकी खेल जित्नैपर्ने दबाब देखिएको छ । अरुको खेलमा र नेट रन रेटमा भर नपरी अघि बढ्ने हो भने दिल्लीले बाँकी खेल जित्नै पर्ने हुन्छ ।

अन्तिम चारमा पर्नका लागि टिमले कम्तीमा ८ खेल जित्नुपर्ने देखिन्छ । दिल्लीले अहिलेसम्मको ६ खेलमा १ खेल मात्र जितेको छ । यसैले बाँकी ८ खेलमा दिल्ली बलियो बनेर प्रस्तुत हुनुपर्ने छ ।

ब्याटिङ सुधार्न आवश्यक

अहिलेसम्मका खेललाई हेर्दा दिल्लीको ब्याटिङमा निकै कमजोरी देखिएको छ । सिजन सुरु हुनु अघि दिल्ली टीममा राम्रा राम्रा ब्याट्सम्यान छन्, कसले मौका पाउला भन्ने प्रश्न आउँथ्यो । तर अहिले कसैले राम्रो गरेन, नयाँ प्रयोग गरौँ न भन्ने अवस्था आएको छ । यस्तोमा ब्याटिङ लाइनमा सुधार नगरी दिल्ली अघि बढ्न सक्ने स्थिति देखिँदैन ।

गौतम गाम्भीरले कप्तानी छाडेकाले उनले दबाब महसुस नगरी खुलेर खेल्नेमा दिल्ली टीम आशावादी देखिएको छ । नयाँ कप्तान श्रेयस ऐयरले अबका खेलमा कस्तो रणनीति लिने हो र उनको रणनीतिले टीमको नतिजा कस्तो आउने हो प्रतिक्षाको विषय बनेको छ ।

दिल्लीको मैदानमा बलियो छ कोलकाता

दिल्लीको घरेलु मैदान ‘फिरोज शाह कोटला’मा कोलकातासँगको यसअघिको ९ खेलमा दिल्लीले तीन खेलमात्र जितेको छ ।

आईपीएलमा दुई टीमबीच भएको २० भेटमा जसमा दिल्ली ७ खेलमा मात्रै विजयी भएको छ । जारी सिजनको पहिलो भेटमा पनि कोलकाताले दिल्लीलाई हराएको थियो । यस्तोमा दिल्लीसँगको भिडन्तमा कोलकाता बलियो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment