१५ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्सले हारको सिलसिला तोड्दै कोलकाता नाइटराइडर्समाथि ५५ रनको जित निकालेको छ । यो जितसँगै दिल्ली ४ अंकसहित सातौं स्थानमा उक्लिएको छ ।
शुक्रबार राति कोटाला मैदानमा टस हारेर व्याटिङ गरेको दिल्लीले कोलकातालाई २२० रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङ सुरु गरेको कोलकाताले ९ विकेटको क्षतिमा मात्र १६४ रन बनाउन सक्यो ।
कोलकाताका लागि एन्ड्रयु रसेलले सर्वाधिक ४४ रन बनाए । शुवमान गिलले ३७ र सुरेश नरैनले २६ रन बनाए ।
बलिङतर्फ अमित मिश्रा, अभेस खान, ग्लेन म्याक्सवेल र ट्रेन्ट बोल्टले २–२ विकेट लिए ।
यसअघि पहिले व्याटिङ गरेको दिल्लीका लागि नवनियुक्त कप्तान श्रेयसले ३ चौका र १० छक्काको मद्दतमा नटआउट ९३ रनको योगदान गरे । उनले ४० बल सामना गरेका थिए । श्रेयस प्लेयर अफ दि म्याच बने ।
यसैगरी ओपनर पृथ्वी शाले ६२ रन बनाए । कोलिन मुनरोले ३३ र ग्लेन म्याक्सवेलले २७ रन बनाए ।
बलिङतर्फ एन्ड्रयु रसेल, शिवम मावि र पियुस चावलाले एक–एक विकेट लिए ।
आईपीएलको जारी सिजनको सात खेलमा दिल्लीको यो दोस्रो जित हो । यसअघि दिल्लीले मुम्बई इण्डियन्सविरुद्ध जित निकालेको थियो । लगातार हार व्यहोरेपछि कप्तान गौतम गाम्भीरले पद त्यागेका थिए । श्रेयस अय्यरले कप्तानी पाउनु र पहिलो खेलमै जित निकाल्नु दिल्लीका लागि वरदान सावित भयो । दिल्लीका लागि यो खेल जित्नैपर्ने दबाव थियो ।
प्रतिक्रिया 4