+
+

नेपथ्यका अमृत गुरुङः चित्रकार बन्न चाहन्थेँ, झुक्किएर गायक बनेँ

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १५ गते १२:०३


नब्बेको दशकमा जन्मेको पोखरेली ब्यान्ड नेपथ्य नेपालकै चर्चित ब्यान्डमात्रै बनेन, विश्वका कुनाकुना पुगेर सांगीतिक कार्यक्रम गर्ने एकमात्र ब्यान्ड बन्यो । नेपालमा बग्रेल्ती सांगीतिक ब्यान्डहरु भएका बेला जन्मेको यो ब्यान्डले आफ्नो फरक धार निर्माण निर्माण गर्‍याे ।

छेक्योछेक्यो छेउराली डाँडाँ…, जीवन हो घाम छाँया…, रेशम…, तालको पानी माछीले खाने… लगायत एकपछि अर्का दर्शनौं गीत दिएको नेपथ्यले युवापुस्तामा एकछत्र राज गर्‍याे  र गरिरहेकै छ । सन् १९९३ को अप्रिल १ मा पहिलो एल्बम ‘नेपथ्य’ निकालेको यो ब्यान्डले गएको वर्षमात्र सिल्भर जुब्ली मनायो ।

नेपथ्यका मुख्य गायक अमृत गुरुङ संगीत पारखीका मनमुटुमा नमेटिने गरी खोपिएर बसेका छन् । अमृत गुरुङ नाम सुन्ने बित्तिकै धेरैको शीर श्रद्धाले झक्छ । उनै गायक अमृत भने आफू झुक्किएर गायक बनेको बताउँछन् । उनी खास चित्रकार बन्न चाहन्थे । बाल्यकाल र पोखराबारे एक साझँ अमृत गुरुङ अनलाइनखबरकर्मी अमृत सुवेदीसँग गफिए । बाल्यकालको पोखरा र संगीतबारे गुरुङले केही नयाँ कुरा सुनाए । उनीसँग गरिएको कुराकानी उनकै शब्दमाः

गाउँमै लोकगीत सुनेर हुर्किएँ । बाजेहरुले, आमाहरुले छ्यामाहरुले गाएका लोकगीत सुनेँ । बजार झरेपछि रेडियो नेपाल सुनेँ । हिन्दी गीत सुनेँ, बिटल्सका अंग्रेजी गीतहरु सुन्दै हुर्किएँ ।

मलाई मन परेको बाटुलेचौरका सारंगी रेटेर गन्धर्व (त्यसबेला गाइने भनिन्थ्यो) हरुले गाएको गीत खुब मन पर्थ्यो । झलकमान गन्धर्वलाई बाटेलेचौरतिरै पनि सुनेको हो, चिनेकै हो, देखेको हो । पछि रेडियो नेपालतिर सुनियो । गन्धर्व समुदाय देउसी–भैलो खेल्थे, रमाइलो गर्थे । मलाई पनि उनीहरुसँगै गाउन खुब रमाइलो लाग्थ्यो ।

पोखरा झरेपछि चिनेको, सुनेको गायक अरुण थापा हुन् । सरोजगोपाल दाइ हो । बाबा राणा, विक्रम गुरुङ, विनोद गौचनलगायतका दाइहरुलाई पोखरा झरेपछि सुरुमा मैले चिनेको हुँ । पछि गएर विक्रम दाइ र अरुण दाइ चाहिँ साथीजस्तै बन्नु भो ।

मनपर्ने गायक गायिका त धेरै हुनुहुन्छ तर मलाई अमर गुरुङका केही गीतहरु यस्ता लाग्छन्, जहिले जहाँ सुन्दा पनि एक खालको अाध्यात्मिक आनन्द दिन्छ । अमर गुरुङका त्यस्ता गीत म दोहोर्‍याइ तेहेर्‍याइ सुनिरहन्छु । अमर दाइको एउटा एल्बम छ, कहिले लहर कहिले तरंग । त्यो ०४०/४१ सालतिर निस्केको हो । बडो गज्जब छ । त्यो एल्बममा जीवनको एक खालको दर्शन छ ।

म सानोमा गीत गाउँथिन, पेन्टिङ गर्थेँ । चित्रकलामा रुची थियो । स्कुलका नाटकमा भाग लिन्थेँ । गीत गाउने कुरामा साथी–भाइसँग सम्मिलित त हुन्थेँ तर आफैँ गाउन सक्दिनथेँ । रमाइलोका लागि खाली ठाउँ भर जस्तो थिएँ म । कसैबाट भएन भनेमात्रै उभिन्थेँ । लहैलहैमा जिस्किएर गीत गाउथेँ ।

मेरो जिन्दगीमा पहिलोपटक साथी वीर पुनले स्टेजमा लगे । उनी राम्रो ड्रमर थिए । गीत गाउनुपर्छ भनेर डाँफे कला मन्दिरमा पहिलोपटक गीत गाएको थिएँ । भनिन्छ नि जो मायाप्रेममा पर्दैन, ऊ कवि हुन सक्दैन ।

मायाप्रेममा परेपछि जसले पनि जस्तो भए पनि दुई/चार वटा कविता लेखिहाल्छ झैं गीत बुझ्न पनि यसको लत लाग्नुपर्छ । डाँफे कला केन्द्रमा मैले ‘दिनहरु, रातहरु जतिजति सत्य छन्, त्यति तिमीलाई मेरो प्यार थियो,’ भन्ने गीत गाउँदा हात थरर कापेको थियो ।

खासमा मलाई त्यतिबेला पनि चित्रकार बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । गायक बन्छु भन्ने नै नभएपछि अहिलेजसरी गीत गाउँदै देशविदेश घुमौंला भन्ने लाग्ने कुरै भएन । जागिर खाइन्छ आफ्नो बाटो लागिन्छ भन्ने थियो । पछि–पछि गीतसंगीतमा रुझ्दै र भिज्दै गएपछि सिरियस बनियो, स्तरीय गर्नुपर्छ भनियो, यसैमा लागियो ।

म झुक्किएर गाउने मान्छे भएको हुँ । मलाई गीत सुन्न मन चाहिँ लाग्थ्यो तर फलानोसँगै गाउन पाए हुन्थ्यो भन्ने कहिल्यै लागेन । बरु कुनै मन पर्ने मान्छेसँग एउटै चकटीमा बसेर गीत सुन्न पाए कति मजा आउँथ्यो भन्ने चाहिँ लाग्थ्यो ।

मेरो पारिवारिक पृष्ठभूमि लाहुरेको हो । हजुरबाहरु लाहुरे हुनुहुन्थ्यो । मेरा बाले चाहिँ कहिल्यै पनि तँ लाहुरे हुनुपर्छ भन्नु भएन । लाहुरे हुनु हुँदैन, पढ्नुपर्छ भन्नुहुन्थ्यो । लाहुर जानै हुँदैन, यहीँ बसेर काम गर्नुपर्छ भन्नुहुन्थ्यो । केही पनि गर्न सकिएन भने बल्ल लाहुर जाने भन्ने उहाँको तर्क थियो । लाहुरे नै हुन मन छ भने नेपाल आर्मी हुनुपर्छ भन्नुहुन्थ्यो ।

उहाँले त अझै यहीँ राजनीति गर्नुपर्छ भन्नुहुन्थ्यो । म बाटुलेचौरतिर नजिकै लामाचौरको गण्डकी बोर्डिङ स्कुल पढेँ । पछि मैले गरेको गीत र संगीत बुबाले मन पराउनुभयो । उहाँले पछि भन्नुहुन्थ्यो, बाटुलेचौरमा चाहिँ पढ्न नपाएका गाइने होलान्, मेरो घरमा पढेको गाइने छ ।

त्योबेलाको पोखरा भौतिक रुपमा हेर्ने हो भने खास केही पनि थिएन । सीमित मोटर थिए । कालाबाङ घडेरी गाउँबाट हामी हिँडेर पोखरा आउँथ्यौं । मैले बढी ख्याल गर्ने नौ नम्बरे ढ्याङ थियो, कल्पना सिनेमा घर थियो, डाँफे कला मन्दिरलगायत थिए । पोखरामा नाटकहरु हुन्थे । त्यो बेला ठूल्ठूला सिमलका रुखहरु थिए । सिमलका रुपमा धेरै चराहरु बसेको नियाल्थ्यौं । कदमका रुखबाट फल झारेर खान्थ्यौं । रामघाट सेती नदीमा गएर पौडिन्थ्यौं ।

काली खोला, याम्दी खोलामा माछा मार्न जान्थ्यौं । त्यो बेला एक मोहरमा साइकल भाडामा पाइन्थ्यो । भाडाको साइकल गुडाउँदै फेवातालमा आएर पौडी खेल्थ्यौं । बाँध भत्किएको बेला थियो फेवातालमा पौडिएर खुट्टाले हिँडेर बाराही मन्दिर पुग्थ्यौं ।


सांगीतिक हिसाबले हेर्दा अरुण थापा, विक्रम गुरुङ, सरोज गोपाल, बाबा राणाहरुले पोखरामा गीत गाउँछन् रे भन्ने सुन्थेँ । पछि चिनजान र संगत भयो । त्यो बेलाको पोखरामा सबैले सबैलाई चिन्ने थिए । रामबजारको मान्छेले बगरको मान्छेलाई चिन्थे, बगरका मान्छेले पार्दीका मान्छेलाई चिन्थे, पार्दीका मान्छेले कुँडरहरका मान्छे चिन्थे । गज्जब हुन्थ्यो ।

पोखरा अहिलेजस्तो थिएन, खाली–खाली थियो । अहिले भौतिक पूर्वाधार भरिभराउ छन् । यहाँबाट हिमाल देखेपछि चाहिँ म दंग हुन्थेँ । म अहिले पनि हिमाल हेरेर दंग पर्छु । मान्छेले बनाउने कुरा परिवर्तन भए तर प्रकृति र हिमाल जस्ताको तस्तै छन्, कहिले हिउँ धेरै पर्‍याे होला, कहिले कम । मान्छेले बनाउने कुरा चाहिँ योजनाबद्ध हिसाबले हुनुपर्ने थिए ।

मान्छेले बनाउने कुरा चाहिँ ठीकसँग बनाइदिए, पोखरा गज्जब छ । ऊबेला त आँप यहीँ पाक्थे, सुन्तला यहीँ लठरम्म हुन्थे, केरा यहीँ फल्थे, अम्बा यही हुन्थ्यो । पोखरा अहिले पनि प्रकृतिले दिएको अनौठो भूगोल हो भन्छु, म । विश्वकै सुन्दर भ्याली हो, पोखरा । मैले योजनाबद्ध रुपमा बनेको देखेको चाहिँ पोखराको न्यूरोड हो । त्यो सडक देखेर त्यतिबेला दंग पर्थ्यौं । टाउन प्लानिङमा बनेको सडक हो रे नि यो भन्थ्यौं ।

यो ठाउँलाई सुन्दर बनाउन हामीले नै गर्ने हो, पोखरावासीले बनाउने हो । बाहिरबाट आउनेलाई स्वागत गर्ने हो तर भइरहेका चिजको सदुपयोग गर्नुपर्ने हो । हामीले अलि रीतिथिथति बसाल्न सकेनौं कि भन्ने लाग्छ । अझै पनि पोखरा बनाउन सकिन्छ । मान्छे परिवर्तनशील हुनै पर्छ ।

फेवाताल पुरिन्छजस्तो मलाई लाग्दैन किनकी त्यो मान्छेले गर्ने कुरा हो । मेसिन ल्याएर माटो फोलेर पनि जोगाउन सकिन्छ । भोलि कुनै दिन फुस्रे खोलामा ड्याम लगाएर ठूलो ताल बनाएर ताल बनाए भने पनि म अचम्म मान्दिनँ ।

भोलि कोत्रेमा ठूलो बाँध लगाएर सेतीको पानीले सिञ्चाइ भयो भने म अचम्म मान्दिनँ । त्यो मान्छेले बनाउन सक्ने चिज हो । तर, मान्छेले बनाउन नसक्ने पर्यावरणको कुरा छ, त्यसलाई कसरी जोगाउने भन्ने सोच्नुपर्छ । मान्छेले बनाउने नीति, नियम ठीक ढंगले बनाइदिए पोखरा बिगँदैन ।

प्रस्तुतिः अमृत सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?