Comments Add Comment

मृत्युपछि पनि पतिलाई निरन्तर प्रेमपत्र !


कहानी फिल्मी शैलीको छ, तरपनि यथार्थ घटना रहेछ । सन् २०१६ मा मृत्यु भैसकेकी एक महिलाले आफ्नो पतिलाई उसको जन्मदिनमा हरेक वर्ष बर्थडे कार्ड पठाइरहेकी छिन् ।

बेलायतको मिरफिल्ड सहरमा बस्ने डाक्टर केट गार्नर हलिउड लभस्टोरी पिएस आइ लभ यू बाट प्रभावित थिइन् । जब आफुलाई क्यान्सर रोग लागेको र जुनसुकै बेला पनि आफ्नो मृत्यु हुनसक्ने कुरा उनले थाहा पाइन् त्यसपछि उनले फिल्मकी नायिकाले जस्तो आफ्नो पतिका लागि केही खास उपहार दिने सोच बनाइन् ।

उनले आफ्ना पति क्रिस पइन्टनका लागि बर्थडे कार्ड छपाएर छाड्ने निधो गरिन् । उनको त्यहीँ निर्णयका कारण अहिले क्रिसले वर्षेनी आफ्नो जन्मदिनमा मृतक पत्नीको तर्फबाट बर्थडे शुभकामना कार्ड प्राप्त गरिरहेका छन् ।

५ वर्षसम्म क्यान्सरसँग संघर्ष गरी सन् २०१६ को जुलाई २३ मा २९ वर्षीया केटको निधन भएको थियो । केट र क्रिसले ११ वर्ष लामो वैवाहिक जिवन व्यतित गरे । त्यो ११ वर्ष उनीहरुको निकै सुखद र प्रेमपूर्ण रह्यो । तर उनीहरुको सहयात्रा लामो समय टिक्न पाएन । क्यान्सरका कारण २९ वर्षकै उमेरमा केटले संसार छाड्नुपर्यो ।

क्यान्सर निको नहुने र आफ्नो मृत्यु निकट भविष्यमै हुने थाहा पाएसँगै केटले आफ्नो पति क्रिसका लागि सन् २०४२ सम्मको हरेक बर्थडेका लागि आफ्नै हातले बर्थडे शुभकामना कार्ड लेखिन् । क्रिसको ६५ औँ बर्थडे सम्मका लागि उनले कार्ड लेखेकी छिन् ।

ती कार्डहरु उनले एउटा बक्समा प्याक गरिन् र त्यसको नाम मेमोरी बक्स राखिन् । त्यसपछि उक्त बक्स उनले क्रिसलाई दिइन् । बक्स दिनेबेलामा उनले भनिन् की उनको मृत्युअघि क्रिसले त्यो बक्स खोल्नेछैनन् र मृत्युपछिका हरेक बर्थडेमा उनले उनको वर्ष उल्लेख गरिए अनुसारका खाम बाहिर निकाल्नेछन् ।

क्रिसले बाचा पूरा गरे । जब पत्नीको मृत्युपछिको पहिलो बर्थडेमा उनले त्यो बक्स खोलेर पहिलो खाम बाहिर निकाले उनका मनमा कौतुहलता थियो । जब उनले खाम भित्र रहेको कार्ड बाहिर निकालेर हेरे तब उनको भाव विह्वल भए । केटले उनका लागि बर्थडे कार्ड लेखेकी रहेछिन् । उनले अब आफ्नो ६५ औँ बर्थडेसम्म मृतक पत्नीको शुभकामना प्राप्त गरिरहनेछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment