Comments Add Comment

मोबाइल ‘शहीद’ हुँदा मान्छेको ज्यान बँच्यो

कहिलेकाहीँ जीवनमा सोच्दै नसोचेको चिज पनि ठूलो काममा आउँदो रहेछ । युद्धमा कसैले प्रहार गरेको हतियार रोक्नका लागि मोबाइललाई ढालको रुपमा प्रयोग गर्न सकिने कुरा के कसैले कल्पना गर्न सक्दछ ? मोबाइलको प्रयोग त आक्रमणकारीको बारेमा पुलिसलाई सूचना दिन वा गुहार माग्नका लागि हुनुपर्ने हो ।

तर अष्ट्रेलियामा भने एक पुरुषले आफ्नो मोबाइललाई दुश्मनको हतियार रोक्ने ढालको रुपमा सदुपयोग गरे ।

आफ्नो घरबाहिर एकजना मानिसले हानेको वाणबाट उनको मोबाइलले उनलाई जोगायो । आक्रमणकारीले हानेको वाण संयोगवस उनको मोबाइल फोनमा ठोक्कियो । वाणले मोबाइल फोनलाई छेड्यो र त्यहीँ अड्कियो । जसका कारण वाण उनको अनुहारमा पर्न पाएन ।

अष्ट्रेलियाको ब्रिसबेन भन्दा ९३ माइल दक्षिणमा पर्ने निम्बिन सहरमा यो घटना भएको हो । ४३ वर्षका ती मानिस बुधबार आफ्नो घरमा आउन लागेको पाहुनालाई पर्खिएर घरबाहिर उभिइरहेका थिए । त्यसक्रममा उनले सडकमै वाण बोकेर हिडिरहेको एकजना मानिसको फोटो खिच्न थाले आफ्नो मोबाइल फोनबाट । सायद त्यसरी फोटो खिचिँदा त्यो वाणधारी रिसायो । उसले फोटो खिच्ने मानिसतर्फ ताकेर वाण हान्यो । उसले हानेको वाण फोटो खिचिरहेको मोबाइलमा गएर ठोक्कियो । जोडसँग आएको वाण मोबाइलको वारपार भयो । मोबाइल फोन उनको चिउँडोमा गएर ठोक्कियो जसका कारण वाणको चुच्चोले उनको चिउँडोमा सामान्य घाउसमेत बनायो ।

मोबाइललाई शहीद बनाउने गरी वाण प्रहार गर्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment