Comments Add Comment

१८ अत्यावश्यकीय क्षेत्रमा अब हडताल निषेध, श्रीयन्त्र पुज्दै सर्वोच्चमा दिनभर स्वस्तीशान्ति !


१८ वैशाख, काठमाडौं । आज मंगलबार, राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयहरुलाई आफ्नो प्राथमिकतामा राखेका छन् । केहीले आर्थिक, सामाजिक, स्वास्थ्यलगायतका विषयलाई पहिलो पृष्ठमा समेटेका छन् भने कुनैको प्राथमिकतामा राजनीति परेको छ ।

‘अनुसन्धानकर्ता नै आरोपित’ शीर्षक दिएर आज नागरिक दैनिकले सुन तस्करीमा देखिएको प्रहरी संलग्नताबारे समाचार छापेको छ । पछिल्लो समय सुन तस्करीको अनुसन्धानमा जुटेका प्रहरी अधिकारीहरु नै धमाधम पक्राउ पर्न थालेका छन् ।

बारबापकको दलित बस्तीमा संग्रहालय र घर नबनेको, डोल्पाका विद्यालय खाली हुँदै गएकोलगायतका समाचारलाई पनि नागरिकले पहिलो पृष्ठमा समेटेको छ ।

डा. गोविन्द केसीको मागअनुसार दोस्रोपटक अध्यादेश जारी भएकोलाई प्रमुख समाचार बनाएको नयाँ पत्रिकाले इन्धन, यातायातदेखि, बैंक र अस्पतालसम्म हडताल गर्न नपाइने अर्को खबरलाई पनि महत्त्वका साथ छापेको छ । गोलाप्रथामा सांसद्को फरक मतलाई पनि नयाँ पत्रिकामा पढ्न सकिन्छ ।

अन्नपूर्णले ‘गैससले बनाउँदै मुस्ताङ दरबारः राज्य बेखबर’ शीर्षकमा मुख्य समाचार छापेको छ । सांस्कृतिक र पुरातात्विक वैभवको प्रतीक मानिने मुस्ताङ दरबारको पुनर्निर्माणमा राज्यले ध्यान नदिँदा गैससले निर्माण थालेको समाचारमा उल्लेख छ ।

स्थानीय तहका न्यायिक समितिमा मुद्दाको संख्या बढ्दै गए पनि आवश्यक कानूनी ज्ञान र पूर्वाधार अभावले न्यायिक प्रक्रियामा असर परेको विषय उठाएको अन्नपूाणर््ले श्रीयन्त्र पुज्दै सर्वोच्चमा स्वस्तिशान्तिलाई एंकर बनाएर छापेको छ ।

कांग्रेस मनोनयन विवादबारेको समाचार कान्तिपुरमा छ भने राजधानीले स्थानीय तहमा जाने प्रथम श्रेणीका कर्मचारी नभएको लेखेको छ ।

हेरौं आजका पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका खबरहरु

श्रीयन्त्र पुज्दै सर्वोच्चमा स्वस्तिशान्ति

श्रीयन्त्र पुज्दै सर्वोच्चमा स्वस्तीशान्ति गरिएकोलाई आज अन्नपूर्ण पोस्ट दैनिकले एंकर समाचार बनाएर छापेको छ ।

अन्नपूर्णले आफ्नो समाचारको लिडमा लेखेको छ– शंख, घण्ट, डमरु बजाउँदै सोमबार बिहान सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी र मुख्य रजिस्ट्रार राजन भट्टराईसहित ५ जना वटुक मुख्य रजिस्ट्रारको कक्षभित्रबाट श्रीयन्त्र बोकेर निस्किए ।

८ जना वटुकले पशुपतिबाट ल्याएको चन्दनको टीका लगाइदिँदै सबैतिर जल छर्किए र स्वस्ती वाचन गरेपछि तामझामसहित सोझै उत्तरपट्टी रहेको पुरानो भवनको भुइँतलाको कोठामा गए । फूल, दुनाटपरी, रंगीबिरंगी लिंगा, अग्राखका समिधा, ध्वजापताका, तोरण, चँदुवा, वरपिपलका पातले भरिएका कलशले सजाएर कोठालाई पूजास्थल बनाइएको थियो ।

मण्डपनजिकै बसेर कामु प्रधानन्यायाधीश जोशी र मुख्य रजिस्ट्रार भट्टराईले हात जोडेर चरु होम्दै दिनभर होम र पूजाआराधनामा व्यस्त रहे । धुप, बत्ती बालेर श्रीयन्त्रमा ध्वजा बाँधे । भट्टराई कछाडै बाँधेर गेरु वस्त्रमा दिनभरजसो पूजामा बसे । यता, जोशी भने दौरासुरुवालमा पत्नीसहित मण्डपमा उपस्थित थिए ।

यज्ञमा सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र, चोलेन्द्रसमशेर राणा, दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा, उच्च र जिल्ला अदालतका न्यायाधीशहरू एवं कर्मचारीसमेत थिए ।

बुद्धजयन्तीको बिदाका दिन करिब ८ घण्टा न्याय र शान्तिको कामना गर्दै यज्ञ, होम र श्रीयन्त्रको पूजाआराधना गरिएको अन्नपूर्णको समाचारमा उल्लेख छ ।
कामु प्रधानन्यायाधीश जोशीले न्याय जगेर्ना र न्यायपालिकामा विघ्नबाधा नपरोस् भनेर श्रीयन्त्र पुनःस्थापना गर्न लगाएका हुन् । सत्य, न्याय र शान्तिको प्रतीकका रूपमा न्याय क्षेत्रमा यसको महिमा छ । होम र पूजा सकेर सर्वोच्च परिसरभित्रै श्रीयन्त्रको रथजात्रा गरियो । त्यसपछि ज्योतिषीले जुराएको साढे ४ बजेको साइतमा सर्वोच्चको भवनमा अगाडिको आँखीझ्यालको टुप्पोमा श्रीयन्त्र पुनःस्थापित गरियो, अन्नपूर्णमा खबर छ ।

यातायात, अस्पताललगायत १८ अत्यावश्यकीय क्षेत्रमा हडताल निषेध

अब कुनै पनि बाहनामा इन्धन, यातायातदेखि बैंक र अस्पतालसम्म हडताल गर्न नपाइने भएको छ । नयाँ पत्रिका दैनिकका अनुसार, अब यी क्षेत्रले हडतालमुक्त सेवा दिनुपर्नेछ ।

सरकारले १८ सेवाहरुलाई अत्यावश्यकीयको सूचीमा समेट्दै हड्ताल निषेध गरेको नयाँ पत्रिकाको सार छ ।

अब कुनै पनि बहानामा विमानस्थलको सेवा अवरुद्ध गराउन नपाइने भएको छ । हवाई अड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन तथा मर्मतसँग सम्बन्धित कुनै पनि सेवामा बन्द–हडताल गर्न नपाउने सरकारले स्पष्ट पारेको छ ।

डाँक, तार वा टेलिफोन सेवालाई समेत सरकारले अत्यावश्यक सेवामा राखेको छ । प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवामा अवरोध गरे अब कानुनबमोजिम कारबाही हुनेछ ।

सबै प्रकारको पर्यटकीय सेवालाई सरकारले बन्द–हडतालमुक्त क्षेत्रका रूपमा घोषणा गरेको छ । पर्यटकीय आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्टसम्बन्धी कुनै पनि सेवामा अब बन्द–हडताल गर्न पाइनेछैन ।

हातहतियार, खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन, भण्डारण र वितरणलाई पनि अब अवरोध गर्न पाइनेछैन । यसबाहेक सरकारले आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवालाई पनि अवरोध गर्न नपाइने अत्यावश्यक सेवामा सूचिकृत गरेको छ ।

अस्पताल र यससँग सम्बन्धित सबै प्रकारका सेवा अब अत्यावश्यक सेवाभित्र सूचीकृत भएका छन् । एम्बुलेन्स, औषधि निर्माण तथा बिक्रीवितरणसम्बन्धी सेवालाई समेत सरकारले अत्यावश्यक सेवामा राखेको छ । खानेपानीको सञ्चालन तथा वितरणलाई पनि अत्यावश्यक सेवाभित्र राखिएको छ ।

एलपी ग्याससहित अब कुनै पनि प्रकारको पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणलाई अवरोध गर्न पाइनेछैन । दैनिक उपयोग्य वस्तुतर्फ खाद्यान्न, दाल, चामल, नुन तेलजस्ता वस्तुको पैठारी, ढुवानी, भण्डारण तथा वितरणलाई समेत अत्यावश्यक सेवामा सूचीकृत गरिएको छ । विद्युत्सँग सम्बन्धित सेवामा पनि अवरोध गर्न नपाइने सरकारले स्पष्ट पारेको छ ।फोहोरमैलासँग सम्बन्धित सेवातर्फ फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण, संकलन स्थल तथा व्यवस्थापनको कामलाई पनि अब रोक्न नपाइने भएको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेवा पनि हडतालमुक्त घोषित भएको छ । बिमासँग सम्बन्धित सेवालाई पनि कुनै पनि बहानामा अवरोध गर्न पाइँदैन ।

राष्ट्रिय सभा सदस्य पदावधि विवादः गोलाप्रथामा सांसदका फरक मत

राष्ट्रिय सभाका सांसदको पदावधिबारे एमाले–माओवादी र अन्य दलबीच विवाद भएको छ । राष्ट्रिय सभाका ५९ सांसदमध्ये एकतिहाइको पहिलो २ वर्षमा, अरू एकतिहाइको ४ वर्ष र बाँकीको ६ वर्ष कार्यकाल हुने संवैधानिक व्यवस्था छ । तर, कुन सांसदको पदावधि कति हुने भन्ने नियमावली बनाउने सवालमा विवाद भएको हो ।

नयाँ पत्रिका दैनिकका अनुसार, एमाले र माओवादी सांसदले प्रदेशको समावेशिताका आधारमा गोलाप्रथा गर्नुपर्ने बताएका छन् । प्रमुख प्रतिपक्षी कांग्रेस तथा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले भने ५९ वटै गोला एउटै बास्केटमा राखेर टिप्नुपर्ने अडान राखेका छन् ।

समयावधि तोक्ने नियमावली मस्यौदा बनाउन नौ सदस्यीय समिति गठन गरिएको छ । राष्ट्रिय सभा नियमावली मस्यौदा समितिमा एमालेका तीन, माओवादीका दुई, कांग्रेसका दुई तथा राजपा र फोरमका एक–एक सदस्य छन् । नयाँ पत्रिकाका अनुसार, सहमति नभए बहुमतका आधारमा पदावधि तोक्ने नियमावली बनाउने सत्तापक्षको तयारी छ ।

गैससले बनाउँदै मुस्ताङ दरबार, राज्य बेखबर

अन्नपूर्ण पोस्ट दैनिकले आज मुस्ताङ दरबारको पुनर्निर्माणमा राज्यले चासो नदिँदा गैरसरकारी संस्थाले निर्माणमा हात हालेको समाचार छापेको छ ।

समाचारमा अन्नपूर्णले लेखेको छ– झन्डै ६ सय वर्ष पुरानो यो ऐतिहासिक दरबारको बाहिरी भाग एउटा गैरसरकारी संस्थाले आफूखुसी पुनर्निर्माण गदैछ । राज्यका कुनै पनि आधिकारिक निकायलाई थाहै नदिई भइरहेको यस्तो पुनर्निर्माणले दरबारको मौलिकता नै जोखिममा पारिरहेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पनि दरबारको पुनर्निर्माण विषयमा आफूहरूलाई कुनै जानकारी नभएको र कुनै पनि संस्थाले यसको अनुमति नलिएको बताएको अन्नपूर्णमा खबर छ ।

राजतन्त्रको अन्त्यपछि पर्यटकका नजरमा मात्र सीमित यो दरबार हेरचाहका लागि सरकारले कसैलाई खटाएको छैन । पुरातत्व विभाग पनि दरबारका विषयमा अनविज्ञ छ । हिमाल एसिया कल्चरल हेरिटेज एन्ड एजुकेसन फाउन्डेसन नामको संस्थाले मनखुसी तरिकाले दरबारको पुनर्निर्माण थालेको हो ।

खाली हुँदै डोल्पाका विद्यालय

बहुमूल्य जडिबुटी यासागुम्बा टिप्ने सिजन शुरु भएसँगै हिमाली जिल्ला डोल्पाका अधिकांश विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ ।

यस वर्ष जेठ १ गतेभित्रै यार्सागुम्बा पाटहरु खुला गरिने भएपछि विद्यालय जान छाडेर विद्यार्थी यार्सागुम्बा संकलनका लागि पूर्वतयारीमा जुटेको नागरिकमा खबर छ । सोही कारण डोल्पाका विद्यालयमा विद्यार्थी दिनप्रतिदिन घट्दै जान थालेका छन् ।

बारपाकको दलित बस्तीः न संग्रहालय बन्यो न घर

सरकारको ढिलाइ र आन्तरिक विवादले भूकम्पको केन्द्रविन्दु बारपाकस्थित दलित बस्तीको पुनर्निर्माण अन्योलमा परेको नागरिकमा समाचार छ । भूकम्पलगत्तै सरकारले साबिक बारपाक गाविस–५ (हाल सुलिकोट गाउँपालिका–१) मा पर्ने डाँडागाउँ र गैरीगाउँको दलित बस्तीमा ‘जीवित संग्रहालय तथा भूकम्प स्मृति पार्क’ बनाउने योजना अघि सारेको थियो ।

सोही योजनाअनुसार बारपाकको मुख्य बस्तीभन्दा केही तल रहेको सरकारी जग्गामा दलित बस्ती सारियो । भूकम्प गएको तीन वर्ष बित्दा न संग्रहालय बन्यो न दलित परिवारले घर बनाउन पाए ।
‘खुला संग्रहालय बनाउने भनेर सरकारले हामीलाई जग्गा छाड्न लगायो । त्यसको सट्टा यहाँ जग्गा दिने भनेर हामीले लालपुर्जाको फोटोकपीसमेत बुझाइसक्यौं,’ सुलिकोट–१ स्थित अस्थायी बस्तीका अविनाश विकले भने, ‘तीन वर्ष बितिसक्यो, अहिलेसम्म न हामीले आफ्नो ठाउँमा घर बनाउन पायौं न यहाँको लालपुर्जा।’

नागरिकका अनुसार, दलित बस्तीमा रहेका ३२ मध्ये २७ परिवार सरकारी जग्गामा अस्थायी टहरा बनाएर बसेका छन् । उनीहरुले सट्टा जग्गा पाउने वा नपाउने अझै टुंगो लागेको छैन । आफूहरु जग्गा पाउने आसमै रहेको पीडित बताउँछन् ।


र, यो पनि– युवतीको भेषमा बिहे गर्दै ठग्ने युवक नियन्त्रणमा

युवक र युवतीबीच विवाह हुनु सामान्य कुरा हो । तर, युवकले युवतीको भेष बदलेर युवकसँगै विवाह गरेको घटनालाई भने सामान्य रुपमा लिन सकिन्न ।

धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकास्थित छिन्ताङमा यस्तै खालको असामान्य घटना भएको छ । ठग्ने उद्देश्यले युवतीको छद्मभेष धारण गरेर एक युवकले अर्का युवकसँग विवाह गरेको घटना सार्वजनिक भएपछि गाउँले आश्चर्यचकित भएका छन् ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ वर्षीय राजकुमार राईले युवतीको भेष बदलेर छिन्ताङ मूलधावाका २७ वर्षीय विपीन राईसँग विवाह गरेका हुन् ।

युवतीजस्तो बनी झुक्याएर युवकसँग विवाहबन्धनमा बाधिँदै स्थानीयलाई ठगी गर्न थालेपछि राजकुमारलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।

उनको ठग्ने शैली देखेर स्थानीय मात्रै होइन, प्रहरी पनि आश्चर्यमा परेको छ ।

हेर्दा युवतीजस्तो देखिने ती युवकले नाटकीय शैलीमा ठगी गरेको पाइएको धनकुटाका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् ।

विपीन वैदेशिक रोजगारीका लागि भारतमा भएका बेला फेसबुकमार्फत उनीहरुबीच चिनजान भएको थियो । राजकुमारले युवतीजस्तो बनेर विपीनसँग सम्बन्ध विस्तार गरे । विपीन स्वदेश फर्किएपछि उनीहरुले भागी विवाह गरेका हुन् ।

तर आफूसँग विवाह भएको मान्छे पुरुष नै हो भनेर विवाहअघि भने केही थाहा नपाइएको विपीनको भनाइ छ । उनले गाउँलेले थाहा पाउँदा बेइज्जत हुने डरले गुपचुप बस्न बाध्य भएको जानकारी दिए ।

दुलही बनेर आएका राजकुमार युवतीको कपडा लगाएर बस्ने गर्थे । स्वर पनि युवतीको जस्तै बनाएर बोल्न जान्दथे । लामो कपाल पालेर केटीजस्तै देखिने उनी छिमेकीहरुसँग पैसा सापटी माग्दै हिँड्ने गरेका थिए । तर भोजपुरस्थित घरबाट खोजी भएपछि उनी केटी नभइ केटा भएको पर्दाफास भएको हो । राजकुमारले केटीसँग विवाह गरी डेढ वर्षको छोरासमेत रहेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment