Comments Add Comment

सुरक्षा ‘थ्रेट’ : प्रचण्डवरिपरि ५९ सुरक्षाकर्मी

प्रधानमन्त्री भन्छन्- नत्र अहिले मेरो १२ औं पुण्यतिथि हुन्थ्यो होला

२ चैत, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रिकाहरुमा फरक फरक विषयवस्तु प्रमुख हेडलाइन बनेका छन् ।

यद्यपि कतिपयले २०७६ सालमा सरकारले १५ दिन सार्वजनिक विदा दिने निर्णय गरेको र न्यूजिल्याण्डको मस्जिदमा आक्रमण भएको विषयलाई पनि पहिलो पृष्ठमा स्थान दिएका छन् ।

रेमिट्यान्ससँगै भित्रिन्छन् शिशु

नागरिक दैनिकले वैदेशिक रोजगारीमा गएका महिलाहरुले गर्भ बोकेर स्वदेश फर्किने गरेको विषयलाई उठाएको छ । ‘रेमिट्यान्ससँग भित्रिन्छन् शिशु’ शीर्षकको समाचारमा सुनौलो जीवन बिताउने अभिलाशामा वैदेशिक रोजगारीमा गएका बिभिन्न जिल्लाका नेपाली महिलाहरुको पीडालाई समेटिएको छ ।

नागरिकले प्रचण्डलाई सुरक्षा ‘थ्रेट’ रहेको समाचार छापेको छ । विगतमा सँगै युद्ध लडेका विप्लव समूहबाट ‘थ्रेट’ आएको र प्रचण्डको सुरक्षामा ५९ सुरक्षाकर्मी खटिएको समाचारमा उल्लेख छ ।

नागरिक दैनिकले किसानको कोटामा कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव) चीन भ्रमणमा जान लागेको समाचार पनि छापेको छ ।

सलबलाउँदै असन्तुष्ट पक्ष

कान्तिपुर दैनिकले बिभिन्न राजनीतिक दलहरुका असन्तुष्टिलाई समेटेर मुख्य समाचार बनाएको छ । ‘सलबलाउँदै असन्तुष्टि’ शीर्षकको समाचारमा लेखिएको छ, ‘सरकारमाथि औंला ठड्याउनेहरुमा राप्रपा, राजपा, संघीय समाजवादी फोरम, नेत्रविक्रम चन्द नेतृत्वको समूह र हालै सरकारसँग सहमतिमा आएको सिके राउत समूह मुख्य छन् । भिन्न-भिन्न प्रकृतिका यी दल र समूहहरुको संस्थापनप्रतिको असन्तुष्टि पनि फरक-फरक छन् । कसैको स्पष्ट कार्यदिशा छ भने कोही गोमटोल माग राखेर आफ्ना असन्तुष्टि पस्किरहेका छन् ।

कान्तिपुरले लगानी सम्मेलनमा साढे ३० खर्बका ६३ आयोजनामा लगानीका लागि आह्वान गर्ने सरकारको तयारीलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ ।

छोरीको जीवन गर्भमा मात्रै !

अन्नपूर्ण पोष्टले छोरा मोहका कारण महिलाले छोरीको भ्रुणहत्या गर्ने क्रम बढेको विषयलाई ‘छोरीको जीवन गर्भमा मात्रै !’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रविधिले बचाएको नत्र अहिलेसम्म आफ्नो १२ औं पुण्य तिथि हुन्थ्यो होला भनेर दिएको अभिव्यक्तिलाई अन्नपूर्णले एंकर न्यूज बनाएको छ । काभ्रेको बनेपास्थित काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहलाई शुक्रबार प्रधानमन्त्रीले भनेका छन्, ‘म आज तपाईंहरुसँग हुनु प्रविधिकै कारण हो । १२ वर्षअघि मिर्गौलाको समस्या हुँदा विज्ञान र प्रविधिको सहायताले मैले नयाँ जीवन पाएको थिएँ । नत्र अहिले मेरो १२ औं पुण्यतिथि हुन्थ्यो होला ।’

महँगी नियन्त्रणले उपभोक्तालाई राहत !

गोरखापत्र दैनिकले ‘महँगी नियन्त्रणले उपभोक्तालाई राहत’ शीर्षकको मुख्य समाचार छापेको छ । राष्ट्र बैंकको समीक्षा प्रतिवेदनको आधारमा यो समाचार बनाइएको हो । समाचारमा लेखिएको छ, ‘चालू आर्थिक वर्षको सात महिनाको अवधिमा महँगी दर विगतका वर्षमा भन्दा नियन्त्रणमा रहँदा सर्वसाधारण उपभोक्तालाई राहत मिलेको छ ।’

राजधानी दैनिकले गुट उपगुटको जालोले नेताहरु घेरिएकाले नेकपा एकता सकसपूर्ण बनेको समाचार छापेको छ भने नेपाल समाचार पत्र दैनिकले अध्यक्ष केपी शर्मा ओलीकै कारण एकतामा विलम्व भएको समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment