Comments Add Comment

इसाई नेता गहतराजः नक्कली क्रिश्चियनले बदनाम गरे, सरकारलाई गलाउँछौं

महासचिवको सुझाव– आस्तिकदेखि होइन, नास्तिकदेखि जोगिऊ

१८ वैशाख, सुर्खेत । राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सीबी गहतराजले नेपालका नक्कली क्रिश्चियनहरुले सक्कलीको बदनाम गराएको आरोप लगाएका छन् । उनले युरोपियन युनियनको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत इसाइमाथि अपमान गरेको दुःखेसाे गरे ।

‘नक्कली क्रिश्चियनको झुण्डले सच्चा क्रिश्चियनको बदनाम गरिरहेका छन्’, वीरेन्द्रनगर, सुर्खेतमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १० औँ राष्ट्रिय भेलामा बोल्दै गहतराजले भने, ‘प्रधानमन्त्रीले समेत युरोपियन युनियनको नाममा इसाईमाथि अपमान गर्नुभयो ।’

उनले पछिल्लो समयमा सरकारका गृहमन्त्री नै क्रिश्चियन दबाउन लागेको आरोप लगाउँदै त्यसले क्रिश्चियनहरुलाई नै बल पुग्ने तर्क गरे ।

धर्मनिरपेक्ष राष्ट्रमा सरकारको अन्यायपूर्ण व्यवहारले नेपालका ३० लाख क्रिश्चियनलाई समस्या पार्न खोजिएको तर संविधानमा व्यवस्था भएको मौलिक हक अन्तर्गतका धाराबाट सरकारलाई गलाएरै छाड्ने चेतावनी गहतराजले दिए ।

महासंघका उपमहासचिव सागर बैजुले सरकारले क्रिश्चियनलाई तनाव दिएर मानसिक रोगका बिरामी बनाएको दोषारोपण गरे ।

उनले धार्मिक अल्पसंख्यकले सुरक्षित रुपले बाँच्न सक्ने अवस्था नभए बहुसंख्यकले पनि शान्तिसाथ बाँच्न नसक्ने बताए ।

उनले इसाईहरु धर्म परिवर्तन नभई मानव जीवन परिवर्तनार्थ निरन्तर लागि परेको दाबी गर्दै वर्तमान सरकारलाई आस्तिकदेखि होइन, नास्तिकबाट सजग रहन सुझाए ।

उद्घाटन कार्यक्रममा ख्रीष्टियन महासंघ कर्णाली प्रदेश प्रमुख पदम गैरेले क्रिश्चियन समुदायको अस्तित्व, पहिचान, हित र उन्नतिका लागि जन्मेको यो संस्थाले राष्ट्रको समृद्धि एवं विकासमा पनि सघाउ पुर्याउँदै आएको बताए ।

उनले कार्यक्रममा सम्मानका साथ बोलाउँदा पनि सरकारबाट कुनै प्रतिउत्तर नआएको गुनासो गर्दै मुलुकमा इसाईहरुले पनि नीतिगत तहमा पुग्ने नेतृत्व जन्माउनुपर्नेमा जोड दिए ।

महासंघका महिला विभाग प्रमुख डोमा राईले समाजले दुत्कारेको महिला वर्गले यो क्षेत्रमा न्याय पाएको बताइन् ।

कार्यक्रमका अधिकांश वक्ताले सरकारले इसाईलाई दबाउन खोजे नेपालको संविधानको मौलिक हकमा व्यवस्था गरिएको धारा २६ को धार्मिक स्वतन्त्रताको हकको आधारमा अघि बढ्ने चुनौती दिएका थिए ।

उक्त भेलामा केन्द्रीय पदाधिकारी, मुलुकभरिका उच्च पदस्थ ख्रीष्टियन रेभ, पाष्टर, एल्डर, डिकन र विश्वासीको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment