Comments Add Comment

खसीको भनी बाख्राको मासु बेच्ने दुईजना पक्राउ

१८ वैशाख, वीरगञ्ज । पर्सा प्रहरीले खसीको मासु भनी बाख्राको मासु बेच्ने दुईजना व्यवसायीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. २ घुसुकपुर टोलमा बस्ने २४ वर्षीय  इसाहक अली (समानी) र १८ वर्षीय तबरेज आलम रहेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं २ छपकैया स्थित श्रीराम सिनेमा हल अगाडी उनीहरुले सञ्चालन गरेको अलसफा मीट हाउसमा बढी नाफा कमाउने उद्देश्यले बाख्रीको मासुलाई खसीको मासु हो भनी झुक्याएर उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक (एसपी)  डा. गणेश रेग्मीले जानकारी दिए । ‘मीट हाउसमा गई गोप्य रुपमा निगरानी गर्दा उनीहरुले बाख्रीको मासुमा पहिचान खुल्ने योनाङ्ग समेत हटाइ खसीको जस्तो देखाउन खसीको अण्डकोष लगायतका योनाङ्ग टाँसेर बाख्रीको मासुलाई खसीको मासु हो भनी बाँसको बलोमा डोरीले बाँधेर बिक्रीको लागि झुण्ड्याएको पाइयो ।’ उनले भने ।

उपभोक्ताहरुलाई झुक्याई एक वस्तुलाई अर्को वस्तु देखाएर कालो बजारी गरेकोले उनीहरुलाई पक्राउ गरेको एसपी रेग्मीले बताए । ‘ उनीहरु विरुद्ध कालोबजारी तथा अन्य सामाजिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेका छौं । ‘ उनले जानकारी दिए ।

कालो बजारी गरी खसीको मासुको मुल्यमा बाख्रीको मासु बिक्रीका लागि राखिएको ६ किलो मासु समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment