Comments Add Comment

काठमाडौं नजिकै वैकल्पिक विमानस्थल खोज्न विज्ञ समिति गठन

काभ्रेको नागीडाँडाको स्थलगत भ्रमणमा मन्त्री अधिकारी ।

१९ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यका नजिकै वैकल्पिक विमानस्थल निर्माणका लागि उपयुक्त स्थान छनोट गर्न ६ सदस्यीय समिति गठन गरेको छ ।

बु्धबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रीस्तरीय निर्णयबाट इन्जिनियर कमलकुमार केसीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन् ।

जसमा नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशकद्वय ध्रुवदास भोछिभोया र बाबुराम पौड्याल, उपनिर्देशकहरु सुवर्ण उपाध्याय र सीताराम भण्डारी रहेका छन् । सदस्य सचिवमा प्राधिकरणकै नलविक्रम थापा रहेका छन् ।

मंगलबार काभ्रे बनेपा नगरपालिकाको नागीडाँडा, धुलीखेल नगरपालिकाको चिसापानी ठूलीचौर र देवीस्थान ठूलीचौरको मन्त्री अधिकारीले स्थलगत भ्रमण गरेपछि बुधबार विमानस्थल निर्माणका लागि उपयुक्त विकल्पसहितको सुझाव दिन समिति गठन गरेका हुन् ।

समितिलाई यी ३ ठाउँ वा अन्य उपयुक्त ठाउँको अध्ययन गरी १५ दिनभित्र सुझाव पेश गर्ने जिम्मेवारी रहेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

त्रिभुवन विमानस्थलमा आन्तरिक हवाई चापलाई घटाएर अन्तर्राष्ट्रिय उडानमा वृद्धि गर्नका लागि सरकारले विकल्प खोजी गरिरहेको थियो ।

विमानस्थलमा वृद्धि भइरहेको हवाइ चापबाट हवाइजहाजहरु उडान र अवतरण गर्दा लामो समयसम्म होल्डमा पर्ने र उडानहरु डिले र क्यान्सिलसमेत हुने गरेको थियो ।

त्यसैले काठमाडौं उपत्यका नजिकै वैकल्पिक विमानस्थल निर्माण गरी आन्तरिक उडानहरु सोही विमानस्थलबाट सञ्चालन गर्ने सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment