Comments Add Comment

काभ्रेमा विमानस्थल निर्माणस्थलको टुंगो १५ दिनभित्रै लाग्ने


१८ वैशाख, काभ्रे । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काभ्रेमा आन्तरीक विमानस्थल निर्माणका लागि १५ दिनभित्रै स्थान छनौट गर्ने भएको छ । अहिले चर्चामा रहेका तीनवटा स्थानमध्ये उपयुक्त स्थान छनौट गर्नको लागि एक कार्यदल समेत गठन गरिने भएको छ ।

पर्यटनमन्त्री रबिन्द्र अधिकारीले मंगलबार काभ्रेका प्रस्तावित तीनवटै विमानस्थलको स्थलगत अध्ययन गरेपछि यस्तो निर्णय सुनाएका हुन् । बनेपा नगरपालिकाको नागीडाँडा र धुलिखेल नगरपालिकामा पर्ने ठूलीचौरको यसअघि नै प्रारम्भिक अध्ययन सकिएको थियो ।

हालैमात्रै चर्चामा आएको चिसापानी ठूलीचौरको पनि मन्त्रीसहितको टोलीले अध्ययन गरेको छ । तर, यो काठमाडौंबाट दूरीका हिसाबले नाँगीडाडा र ठूलीचौर विमानस्थलभन्दा टाढा हुने विज्ञहरु बताउँछन् ।

ठूलीचौर विमानस्थल वरपर रहेका स्थानीयहरुले त्यहाँको पर्यटकीय क्षेत्र ध्वस्त हुने भन्दै विमानस्थल निर्माण गर्न उचित नहुने बताउँदै आएका छन् । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशन संजीव गौतमका अनुसार ठूलीचौरमा विमानस्थल निर्माण गर्ने हो भने ६० प्रतिशत बराबरको जग्गा अधिग्रहण गर्नुपर्छ । तर, नागीडाडामा गर्ने हो भने २० प्रतिशत मात्रै निजी जग्गा अधिग्रहण गरे पुग्नेछ ।

यि दुवै स्थानमा १२ सय मिटरको विमानस्थल निर्माण गर्नका लागि कुल ५ अर्ब बराबरको खर्च लाग्ने गौतम बताउँछन् । ८ सय मिटरको बिमानस्थल निर्माण गर्ने हो भने चाही साढे ३ अर्ब मात्रै लाग्नेछ ।

यसअघि भएको प्रारम्भिक संभाव्यता अध्ययनको रिपोर्टमा उल्लेख भएअनुसार नागीडाँडामा बिमानस्थल निर्माणका लागि २० देखि ३० मिटरसम्म जमीन कटान गर्नुपर्छ । र, ठूलीचौरमा बिमानस्थल निर्माण गर्ने हो भने चाँही ४५ मिटरसम्म जमिन कटान गर्नुपर्छ ।

तर, यि दुवै स्थानमामध्ये जुनकुनै स्थानमा विमानस्थल निर्माण गर्दा पनि ठूला विमान भने ल्यान्ड गर्न सकिँदैन ।

दुवै स्थानमा २५ देखि ३० वटा विमान पार्किङ गर्न मिल्ने गरी विमानस्थल निर्माण गर्न सकिन्छ । साथै विमानस्थल ३ सय मिटरसम्म चौडा बनाउन सकिन्छ । मौसमका हिसावले दुवै स्थानमा कुइरो नलाग्ने प्रारम्भिक अध्ययनमा देखिएको गौतम बताउँछन् ।

१६ वर्षमा ५ स्थानमा चर्चा, प्रगति शुन्य

‘काभ्रेमा विमानस्थल निर्माणको चर्चा चलेको अहिले १६ वर्ष पुगेको छ तर, अहिलेसम्म टुंंगो लाग्न सकेकेा छैन,’ सञ्चारराज्यमन्त्री गोकुल बास्कोटाले भने । अहिलेसम्म काभ्रेका ५ स्थानमा विमानस्थल निर्माण गर्ने भनेर चर्चा चल्यो । र, यसमध्ये दुई स्थानमा मात्रै प्रारम्भीक संभाव्यता अध्ययन गरियो ।

२०६५ सालमा पाँचखाल र भकुण्डेबेसीमा विमानस्थल निर्माण गर्ने चर्चा चल्यो । तर, स्थानीयको बिरोधका कारण सर्भे समेत हुन सकेन ।

नागीडाँडा र ठूलीचौरमा सम्भाव्यता अध्ययन सकिएको ६ वर्ष बित्न लाग्यो । तर दुवै स्थानमा भौतिक प्रगति भने शुन्य छ । प्रत्येक जसो पर्यटन मन्त्री नियुक्त भएपछि त्रिभुवन बिमानस्थलको ट्राफिक चाप हटाउन काभ्रेमा बिमानस्थल निर्माणको चर्चा गरिन्छ ।

तर, मन्त्रीको कार्यकाल सकिदा सम्म कार्यप्रगति भने शुन्य नै हुन्छ । अहिलेसम्म काभ्रेको कुन ठाउँमा विमानस्थल निर्माण गर्ने भनेर टुंगो समेत लगाउन सकिएको छैन ।

‘१५ दिनभित्रै उपयुक्त स्थान छनौट गर्छु, मेरो कार्यकालको १ सय दिन भित्रमा यसको स्थान छनोट भइसकेको हुन्छ,’ मन्त्री अधिकारीले भने ।

भैरहवा विमानस्थल र पोखरा विमानस्थल बनेसँगै त्रिभुवन विमानस्थलमा आन्तरिक उडानको चाप कम हुने कैयनको आँकलन छ । तर, मन्त्री अधिकारी भने अहिले काठमाडौंबाट हिमाली क्षेत्र तर्फ हुँदै आएको उडान गर्नका लागि काभ्रेमा आन्तरिक विमानस्थल निर्माण अत्यावश्यक रहेको बताउँछन् ।

काठमाडौंको आकाशमा भिजिबिलिटी कम भएपछि कैयन समय आन्तरिक तथा बाहृय उडान प्रभावित हुने गरेका छन् । तर , ठूलीचौर नागीडाँडामा भने कुइरो नलाग्ने भएका कारण पहाडी क्षेत्रमा उडान गर्नका लागि मौसमको समस्या नहुने उनको भनाइ छ ।

काभ्रेमा बिमानस्थल निर्माण भएपनि आन्तरीक उडान गर्ने ठूला खालका विमान भने त्यहाँ ल्यान्ड गर्न सक्दैनन् । किनकी ठूला विमानका लागि १५ सय मिटरससम्मको रन-वे आवश्यक पर्छ ।

अहिले सौर्य र श्री एयरलाइन्ससँग बम्बार्डियर, नेपाल एयरलाइन्ससँग एमए-६०, बुद्ध एयरसँग बिचक्राˆट र एटीआर तथा यती एयरलाइन्ससँग जेटस्टि्रम र एटीआर जस्ता ठूला जहाज छन् । यि विमानले साना विमानस्थलमा उडान/अवतरण गर्न सक्दैनन् ।

अहिले त्रिभुवन विमानस्थलबाट आन्तरिक गन्तव्यमा हुने ३५ प्रतिशत उडान पहाडी विमानस्थलका लागि हुन्छन् । त्यसबाहेकको ६५ प्रतिशत उडान ट्रंक रुटमा हुन्छ । ठूलीचौर र नागिडाडा विमानस्थलका लागि उपयुक्त हुने साना जहाज भनेका टि्वनअटर, डोर्नियर, वाई-१२ हर्बिन र एलईटी मात्र हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment