+
+

मार्क्स जयन्तीका दिन ओली र प्रचण्डले पार्टी एकताको मिति तोक्ने

जेठ पहिलो साता पार्टी एकता गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १९ गते १९:४२


१९ वैशाख, काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको आफ्नो दलका नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

प्रचण्डका अनुसार भोलि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वान टु वान वार्ता हुनेछ । र, शनिबार मार्क्स जयन्तीका दिन एकताको मिति तोकिने छ ।

माओवादी स्रोत भन्छ, ‘ओली र प्रचण्डबीच भोलि हुने वार्तामा सहमति भए जेठको पहिलो साता एमाले र माओवादीबीच पार्टी एकता हुनेछ ।’

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको सचिवालय बैठकमा प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भएको वार्ता र पार्टी एकतामा भएको प्रगतिबारे बि्रफिङ गरेका थिए । एक नेताका अनुसार बि्रफिङका क्रममा उनी उत्साहित थिए ।

‘बीचमा विचार र संगठन समायोजनमा केही समस्या आएकै हो । अब धेरै कुरा मिल्दैछ’ उनले भने ।

भोलि ओली र प्रचण्डबीच संगठन समायोजनबारे निर्णायक छलफल हुने नेताहरुले बताएका छन् ।

केन्द्रीय समिति समायोजनमा समस्या छ । कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ, जसमा पार्टी एकता संयोजन समिति सहमत छ ।

तर, एमाले र माओवादीबाट समितिमा कति-कति प्रतिशत राख्ने भन्नेमा विवाद छ । एमालेले जनमत अनुसार ७०/३० गर्ने बताएको छ भने माओवादीले ५०/५० को अडान लिँदै आएको छ ।

बराबर नभए पनि केही संख्यामा धेरथोर हुने गरी सहमतिको खोजी भइरहेको एक नेताले बताए ।

चुनाव चिन्ह सूर्य नै हुने सम्भावना छ । यद्यपि ओली र प्रचण्डले सहमति गरिसकेका छैनन् ।

एकता महाधिवेशन गर्दा वैचारिक विषय कसरी टुंग्याउने र नेतृत्व चयन कसरी गर्ने भन्नेबारे पनि ओली र प्रचण्डबीच छलफल भएको छ । तर, खुलाउन चाहेका छैनन् ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताबाट पछि हट्ने अवस्था नरहेको बताएका छन् । पार्टी एकता नगर्दा सरकार पनि गठबन्धन जस्तो मात्र हुने भन्दै उनले पार्टी एकतापछि प्रभावकारी हुने बताएको एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?