+
+

नियात्राः च्छोरोल्पाको हुन्डरी !

युवराज नयाँघरे युवराज नयाँघरे
२०७५ वैशाख २२ गते १०:३२

हुइँ–हुइँ !

लौ हावाको फुँइकी चम्किन थाल्यो बेस्सरी । यसै त हिमालको हावा सर्सराइरहेथ्यो । अब झन् वेगिन थाल्यो मच्ची–मच्ची ।

च्छोरोल्पाको डिलमा छु ।

वरिपरि सेताम्मे हिमाल । चमचमाइरहेका हिमाल । कता बगुँ भएर ठडिएका, कतै जाऊँ भएर अग्लिएका । कतै बग्दाबग्दै सम्मिएका, कतै जम्दाजम्दै थल्लिएका । वरिपरिका सुकिला हिमाल ।

‘दाइ, मलाई त बस्नै पो मन छ त !’

उद्धव लुइँटेल वरपर आँखा नचाइरहेका छन् ।

‘तर भाइ जतिसक्दो चाँडो हामीले यो ठाउँ छोड्नुपर्छ । किनभने अगाडिको हुन्डरीले बढार्ला जस्तो छ । हेर्नु त हेर्नु !’

मैले पश्चिमपट्टिको कालाम्मे बादलको लर्कन देखाएँ । बटारिएर कालो चैँ सेतो भइरहेथ्यो बादल । सेता चैँ कालो भएर अझ प्रचण्ड भइरहेथ्यो ।

‘ओहो, उडाउने भो नि दाइ !’

अब आफैँ डराए उद्धव । उनीसँगै अत्तालिए कमल ।

‘ओर्लुं–ओर्लुं !’

म च्छोरोल्पाको डिलबाट हुर्हुराउँदै ओर्लिएँ । मसँगै लुइटेल र कार्की पनि झटारिए ।

रोल्वालिङ उपत्यका अद्भूत छ । एकातिर कालैकाला पहाडको लस्कर छ । अर्कातिर सेताम्मे हिउँचुलीको ताँती छ ।

ती काला पहाडमा पनि कताकति हिउँका चोइटाचोइटी छन् । तिनले घाम, हावा, उचाइलाई चुनौती दिएको लाग्छ ।

‘के जब्बर छ है दाइ !’

चेपका हिउँ थुप्रा देखाएर उद्धव बोलिरहेका छन् ।

म त उनका कुरा सुन्न पनि भ्याइरहेको छैन् । किनभने हावाको सुइँ–सुइँ र हुइँ–हुइँले अल्झाएको छ मलाई ।

मुटुको चालमा खुट्टाले गति लिएका छन् ।

हावा बढेको–बढेकै छ । आवाज पनि भिन्न । सुइँ–सुइँले आफ्नो स्वर बदलेर अब त ह्वाङ–ह्वाङ गर्न थालेको छ ।

‘भाइ, लामबगरको खोँच नाघे जस्तो छ !’

मैले भनेँ ।

‘त्यत्ति मात्रले मान्ला र ? वेदिङ नै आइपुगेको जस्तो देख्छु म त !’

कमल नि अत्तालिएर बोले ।

‘ना गाउँमै पुगेको देख्छु म त !’

डराई–डराई बोलेँ म ।

च्छोरोल्पाको डिलबाट धेरै तल पुगेका छौं हामी । हावाले बटारेर लडाउँला जस्तो नै गर्न थाल्यो । टेकेका खुट्टा अन्तै पर्छन् । आँखामा हावाको मुस्लोले आँसु उमार्छ ।

नयाँ वर्षको पहिलो दिन ।

‘आज सबथोक बेग्लै भो है दाइ !’

‘हो नि !’

‘पक्का–पक्का !’

अघिपछि बोल्छौं कमल र म ।

मनमा यो कुराले आनन्दितै पार्‍याे । एक खालको खुशीले न्यानो पोतपात गर्‍याे छातीमा ।

फाँट छ असरल्लै । आँखाले नभ्याउने टार । हिँड्नलाई गाह्रो भइरहेको छ । अल्झाउने लहरा र पोथ्रे– गुराँस ।

‘के विधि काँडा !’

पोथ्रे गुराँस र धूपीका बुट्यानमा अल्झेर पछारिएँ म । अनि फतफताएको थिएँ ।

हावाले थिच्दा–थिच्दा पोथ्रिएका यी बुट्यान । चिसो, स्याँठ र हिमाली ठिहीले बाम्पुड्क्याउँदा– बाम्पुड्क्याउँदा अग्लिन नपाएका यी पोथ्रा ।

तर झपक्कै फुलेका छन् ।

म त दुईतिरका पहाड र हिमालसँग गफ गरिरहेको छु । पहाडको तातो र हिमालको चिसो सरसापट गर्छु । अनि म बलियो पारिरहेको छु मन ।

‘भाइ, यो बादलले हिउँ बोकेको छ । आज खुइल्याउने भो हिउँ वर्षाले !’

म हुर्हुराउँदै बोलिरहेको छु ।

कुदाइ र लम्काइको मिसमासे गतिमा छ छाती र ज्यान । त्यसो नगरे हामीलाई कालो बादलको मुस्लोले छोप्ने पक्का छ ।

म त बादल हेर्दै लम्केको छु ।

‘हिमालको रङ चैँ झन् विचित्रको !’

उद्धव बोल्न भ्याइरहेका छन् ।

अत्तालिएको छु म त । हावाको स्वर, छिट्याइएको पानीको आवाज अनुभव गरेर । हावाको गुजुल्टोले वेग हानेर च्छोरोल्पाको हिमतालमा पौडेर फर्किन सुर गरेको लाग्छ ।

हावाको वेग झन् नजिकियो । चिसोमा अझ चिसो थपियो । थपिएको चिसो त हिउँ नै जस्तो । कति मिहिन ठन्डी ।

‘यो अन्तिम चिसो होला !’

गणित र विज्ञानका गुरु परेँ कमल ।

उनको अड्कलबाजीले म चैँ अत्तालिएको छु । किनभने उच्च हिमाली क्षेत्रमा यत्तिको चिसो हावाले अब हिमपात पारिछोड्छ ।

‘सकेसम्म खुट्टा लम्काऊँ !’

म आपूmलाई भन्छु ।

म कुदेपछि कार्की र लुइटेलले गति नबढाई धरै थिएन । त्यै भएर मैले सकेसम्म लामा–लामा पाइला फड्काएको थिएँ ।

बादल कालो र सेतो । सेतो मुस्लो छिनभरमा कालै हुन्थ्यो । हावाले उडाएर बेग्लै बनाइहाल्थ्यो पश्चिमको त्यो बादलको गुजुल्टोलाई ।

पर–पर चौँरीका बथान देखिन्छन् । च्याङ्ग्राका हुल देखिन्छन् ।

दाहिनेतिर सानो खोल्सो छ ।

‘यो रोल्वालिङ खोला हो ।’

उद्धवले बोलेको हावामा हुन्हुनिएर मेरा कानमा आइपुग्छ ।

म कुदेको–कुदेकै छु । मसँगै कमल र उद्धवले पाइला बढाएका छन् । सेता चुली र हिमालले खाएका ढुङ्गेनी काला पहाडका चेपको असरल्ल फाँटमा दगुरिरहेका छौं हामी तीन तन्नेरी ।

‘उल्टो दगुराइ हुनुपर्ने !’

जताबाट बादलको मुस्लो बेगिएर आइरहेको छ– हामी कुदिरहेछौं त्यतैतिर ।

कमलको बोली सुने पनि उत्तर दिन सकेको छैन मैले ।

सुइँ–सुइँ… ! हुइँ–हुइँ… !!

हावा जोडले बग्न थाल्यो । हावासँग पानीका कडा थोप्ला छरपष्ट बर्सिन थाले । हिमालको पानी निकै कठोर हुँदोरहेछ ।

‘निधार छेड्छ कि क्या हो !’

चिच्याएँ म ।

‘टुप्पी उखेल्छ होला दाइ !’

उद्धव अत्तालिए ।

‘टाउकोमा दूलो पार्ला जस्तो छाँट देखायो !’

कमल पनि बोली छाडे ।

हत्केलाले पानी छेक्दै कुदिरहेको छु म । साथीहरुको हस्याङ–फस्याङ पनि त्यस्तै छ । हामी खाली दगुरी मात्र रहेका छौं ।

‘यो संसारकै महान् रेस हो !’

उद्धव बोलेको सुनेँ ।

हामी दगुरिरहेका छौ । हावाले लखेटिरहेको छ । पानीका बाछिटाले हिर्काइरहेको छ । ठिही र स्याँठले लघारिरहेका छन् ।

‘लौ, दौड प्रतियोगता नै भयो त !’

म सकी–नसकी बोल्छु ।

आयो है हावाको मुस्लो बोकेको बादल । नजिकै पो आयो त । ओहो झन्–झन् नजिकै आइहाल्यो ।

ना गाउँ छिचोलेर आएको बादल एकाएक बेग्लै भयो । हेर्दाहेर्दै बादलले हिउँ बर्सायो ।

‘ओहो, के हो यस्तो !’

म त डरसँगै चकित पो भएँ ।

अकाशतिरबाट सेता–सेता हिउँका चक्का खस्न थाले । भुवा उड्न थाले सेताम्मे । हिउँका पूmलजस्तो बर्बरी झर्न पो थाले हामीतिरै ।

अकासबाट पानी भएर झरे पनि भुइँमा सेतै भुवा भएर लछप्रै पोखियो हिउँ वर्षा । हिउँका बाछिटाले बाटो ढाकिन थाल्यो ।

‘यो दख्खिनको हिमालमा पहिरो गयो भने ?’

मैले अर्को डराउने विषय पाएँ ।

हुन पनि अघि देखिएका चुली झन् अग्लिएकै, झन् ठडिएकै, झन् चुलिएथे । हिउँ थपिएको थपियै गरेपछि हिउँ पहिरो नजाने कुरै भएन ।

अब झन् हामी बुर्कुसियौं ।

हिउँ परेको–परेकै भयो । सेता फुसफुसे हिउँले कमल, म र उद्धवका मुख, टाउका अनि पाखुरा सेताम्मे भएथे ।

पारितिर चरिरहेका चौँरी ठिङ्गिएर हिउँका भारी थाप्न तयार भए । तिनका काला भुत्लामा सलसली बगिरहेथे हिउँका फुसफुसे चप्परी ।

बेला–बेला ती जिउ हल्लाएर ढाडमा थुप्रिएका हिउँका राशी हुत्याउँथे भुइँतिर ।

अकासबाट हुत्तिएर खसेका हिउँका थोप्लाथोप्ली हेर्दै हामी ना गाउँ पुग्यौं ।

हेर्दाहेर्दै सबै थोक सेताम्मे । पूरै कपास छरछार पारे जस्तो । दही पोखिएर, हिउँले लिपलाप गरे जस्तो देखियो– रोल्वालिङ उपत्यका ।

हामीलाई झन्डै ३ घण्टा लागेको त्यो घाँसे फाँट यतिखेर पूरै सेतै थियो । अघि कालाम्मे पहाड र सेता हिउँचुलीलाई यही हरियो घाँसे चौरले छट्याएको थियो । तर, प्रकृतिले पनि विभेद सहन कहाँ सक्दोरहेछ र । क्षणभरमै एउटै बनायो उसले ।

सबैलाई बराबर । सबैलाई उस्तै । सबैलाई एकै रङको । सबैलाई एउटा रुप र बैंसले पुरपार पार्‍याे । एकै आकार र सौन्दर्यमा सजिए सबै–सबै ।

निमाको घरमा पुगेर मैले लुगा फेरेँ । अनि एककप तातोपानी खाएर फेरि सेताम्मे संसारतिर आँखा फ्याँकेँ ।

‘हिमालले ओछ्याएको रातो गलैंचा यही हो दाइ, तपाईंको सम्मानमा !’

उद्धवले उत्फुल्लसँग भने ।

चारैतिरका हिमाल अझ खुलेका थिए । हिउँ बोक्न अझ आतुर लाग्थे सबै हिउँचुलीहरु । । हाँसेका हिमालले छोडिरहेथे चोखो खित्का ।

हिउँको पत्र–पत्रले रोल्वालिङ उपत्यका ‘स्नो कार्पेट’ देखिएथ्यो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?