Comments Add Comment

सिन्धुपाल्चोकका स्थानीय तह : कार्यालयकै विजोग !

एक वर्षसम्म कार्यालय व्यवस्थापन हुन सकेन, अधिकांश भाडाका घरमा

२५ वैशाख, सिन्धुपाल्चोक । गाउँगाउँमा सिंहदरबार नारा दिएर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए पनि एक वर्षसम्म कार्यालय नै व्यवस्थित हुन सकेको छैन ।

सिन्धुपाल्चोकका तीन नगरपालिका र सात गाउँपालिकामध्ये एउटाको पनि आफ्नै भवन छैन । ती स्थानीय तहले मासिक १ लाख रुपैयाँसम्म भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेका छन् । गाउँपालिकाको कार्यालयका लागि भाडाको घर भेटिए पनि आफूहरुले डेरासमेत नपाएको कर्मचारीहरुको गुनासो छ ।

अरनिको राजमार्ग छेउ बलेफी बजारमा नै छ बलेफी गाउँपालिकाको कार्यालय । अध्यक्ष केदार क्षत्री आफ्नो कार्यकक्षमा पाँच जना पनि नअटाउने हुँदा गाउँबाट समस्या लिएर आउनेसँग कुरा गर्न र वडाअध्यक्षहरुसँग बैठक राख्न पनि कठिन भएको बताउँछन् ।

सदरमुकाम चौतारामा रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले मासिक ७० हजार रुपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गरेको छ ।

जिल्लास्थित सबै सरकारी कार्यालय स्थानीय तहलाई हस्तान्तरण गर्ने भएपछि हालको जिल्ला कृषि कार्यालयमा नगरपालिका कार्यालय राख्ने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत इन्द्र बस्यालले बताए ।

बाह्रविसे नगरपालिकाले भने भने साविकको बाह्रविसे गाविस भवनलाई मर्मत गरेर र केही कोठा थप गरेर कार्यालय बनाएको छ । विकटको त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालय पिस्करमा छ । साविकको पिस्कर गाविस भवनलाई मर्मत गरेर गाउँपालिका कार्यालय सञ्चालन गरिएको अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिए ।

मेलम्ची नगरपालिकाले मासिक ७० हजार भाडा तिरेर दुईवटा घर भाडामा लिएको मेयर डम्बर अर्यालले जानकारी दिए । ‘हामी अब केही दिन भित्रै आफ्नै भवनमा कार्यालय सञ्चालन गर्ने तयारीमा छौं’ अर्यालले भने । मेलम्ची नगरपालिकाले आफ्नै स्रोतमा लिफ्ट राखेर सुविधा सम्पन्न भवन निर्माण गरिरहेको छ ।

भोटेकोशी गाउँपालिकामाले स्थानीय हिन्दी बजारमा दुई वटा घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको उपाध्यक्ष दाबुटी शेर्पााले जानकारी दिइन् । ‘मासिक ५० देखि ६० हजारसम्म भाडा तिर्ने गरेका छौ’ उनले भनिन् ।

सुनकोशी गाउँपालिकाले केन्द्र विवाद टुंगिएपछि आफ्नै भवनको लागि जग्गा मिलाउनका पहल सुरु गरेको छ । गाउँपालिकाको केन्द्र पाँग्रेटारबाट माछापोखरीमा सार्ने निर्णय भएको छ । कार्यालय सञ्चालनको लागि गाउँपालिकाले हाल तीनवटा घर मासिक ५० हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएको उपाध्यक्ष लक्ष्मी पौडेलले बताइन् ।

जुगल गाउँपालिका जुगल गाउँपालिकाले मासिक ५० हजार बढी भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको छ । कार्यालय व्यवस्थापनका लागि उपाध्यक्षको नेतृत्वमा जग्गा खोजी भइरहेको अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले ४० रोपनी भन्दा बढी जग्गादान गरेका छन् । तर अहिलेसम्म मासिक ४० हजार भाडामा नै कार्यालय सञ्चालन भइरहेको अध्यक्ष टासी लामा हृयोल्मोले बताए ।

हेलम्बु गाउँपालिकालाई स्थानीयले करिब ७० रोपनी जग्गा दान दिएका छन्, तर कार्यालय हालसम्म भाडाकै घरमा छ । इन्द्रावती गाउँपालिकाले साविकको नवलपुर गाविस भवनलाई मर्मत गरेर कार्यालय सञ्चालन गरेको छ ।

लिसंखुपाखर गाउँपालिकाले साविकको अत्तरपुर गाविस भवनमा कार्यालय सञ्चालन गरिरहेको र भदौ भित्रमा आफ्नै कार्यालयमा सर्ने योजना रहेको गाउँपालिका अध्यक्ष कमल नेपालले जानकारी दिए । गाउँपालिका केन्द्र अत्तरपुरको बुलबुले भन्ने ठाउँमा स्थानीय १५ जनाले ७० रोपनी बढी जग्गा गाउँपालिकालाई दान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment