+
+

विशेषज्ञ चिकित्सक नहुँदा पोखरीया अस्पतालको सेवा प्रभाबित

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २५ गते १३:२०

२५ वैशाख, वीरगञ्ज । पर्साको पोखरीयामा रहेको पोखरीया अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामी मर्कामा परेका छन् ।

अस्पतालमा नवौं अथवा दशौं तहका एक जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि चिकित्सक नखटाइएका कारण सेवा प्रदान गर्न समस्या भएको हो ।

भौतिक पूर्वाधारयुक्त भएपनि राम्रो स्वास्थ्य सेवा नपाएका कारण सर्वसाधरण पोखरीया अस्पतालमा उपचार गराउन खासै रुचाउँदैनन् । त्यसमाथि दरबन्दी अनुसारको पनि चिकित्सक र स्वास्थ्यकर्मीहरु नहुँदा उपचारमा समस्या हुने गरेको छ ।

पछिल्लो समयमा अस्पतालमा करारका ३ र मन्त्रालयका दुई गरी पाँच जना चिकित्सक अस्पतालमा छन् ।

चिकित्सकलाई समेत सल्लाह दिने विशेषज्ञ चिकित्सक, सहयोग गर्ने नर्सिङ स्टाफहरुको भने कमी छ । यसले गर्दा सोचे अनुसारको सेवा दिन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवले जानकारी दिए । ‘अहिले अस्पतालमा मेडिकल अफिसरको रुपमा ५ जना डाक्टरहरु त छौं, सातौं वा आठौं तहको नर्सिङ अधिकृत हुनुहुन्न, त्यसैगरि ६ जना स्टाफ नर्सको दरबन्दी भएपनि तीन जना मात्रै कार्यरत हुनुहुन्छ,’ उनले भने ‘ त्यसमाथि नवौं वा दशौं तहको एक जना विशेषज्ञ चिकित्सक हुनुपर्ने त्यो पनि छैन । त्यसले गर्दा हामी सोचे अनुसारको सेवा दिन सकिरहेका छैनौं । जनरल प्राक्टिस भएका एमडीजीपी विशेषज्ञ डाक्टर भए राम्रो हुन्थ्यो ।’

पर्सा जिल्लाको मध्य भागमा पर्ने र जिल्लाको धेरै ग्रामीण क्षेत्रका लागि पायक पर्ने १५ बेडको पोखरीया अस्पतालमको ओपीडिमा दैनिक १ सय जना जति बिरामीहरु आउने गरेका छन् । ‘तीन वटा ओपीडी चलाउँछौं चार जना डाक्टर बस्छौं । सामान्य अवस्थामा दैनिक १ सय को हाराहारीमा विरामीहरु उपचारका लागि आउँछन् । सिजनमा विरामीको संख्या अलि बढी हुन्छ ,’ मेसु यादवले भने ‘प्रसुती गराउन पनि आउँछन्, नर्मल छ भने सुपरभिजनमा राखेर डेलीभरी गराउने गरेका छौं । शल्यक्रिया गर्नुपर्ने अवस्था आयो भने बाहिर पठाउँछौं ।’

तर, स्थानीयका अनुसार अस्पतालमा चिकित्सकहरु नबस्ने गरेका कारण उपचारका लागि वीरगञ्ज धाउनुपर्ने बाध्यता छ ।

औषधि र उपकरणको अभाव

जनशक्तिसँगै अस्पतालमा औषधि र उपकरणको समेत अभाव रहेको अस्पतालमा कार्यरत चिकित्सकहरु बताउँछन् । अस्पतालमा डिजिटल एक्सरे मेशिन, अल्ट्रा साउन्ड लगायतका रोग पत्ता लगाउन आवश्यक पर्ने जाँचका लागि अत्यावश्यक उपकरण समेत छैनन् ।

अस्पताललाई पोखरीया नगरपालिकाले अल्ट्रासाउन्ड मेशिन दिने आश्वासन दिएको छ । तर, अन्य उपकरण कसले दिने ? इमरजेन्सीमा आएका बिरामीहरुलाई समेत औषधिको अभावमा रिफर गर्नुपर्ने अवस्था रहेको मेसु यादव बताउँछन् । ‘साधरण औषधीहरु त छन्, आरटी सर्जरीका लागि आवश्यक औषधि छैन, पखाला लाग्दा दिने ओआरएस इन्जेक्सन छैन,’ उनले भने, ‘आवश्यक स्रोत र साधनको अभावमा इमरजेन्सीमा आउने केसलाई रिफर गर्नुपर्ने बाध्यता छ ।’

त्यसैगरी अस्पतालमा जेनेरेटर गतिलो नभएको गुनासो पनि अस्पतालका कर्मचारीहरुले गरेका छन् । पुरानो जेनेरेटर मर्मत खर्च ने बढी आइरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले वा अन्य कुनै दातृ निकाय वा व्यक्तिले अस्पतालका लागि जेनेरेटर प्रदान गरे अस्पताललाई ठूलो राहत हुने उनीहरुको भनाइ छ । ‘पुरानो जेनेरेटर छ, लोड पनि धान्दैन, त्यसमाथि बनाउने खर्च नै बढी लागि रहेको छ ।’ अस्पताल प्रशासन भन्छ, ‘ कतैबाट नयाँ आइदिए राम्रो हुन्थ्यो ।’

अस्पतालकै फर्मेसी सञ्चालनमा ल्याइने

पोखरीया अस्पतालले आवश्यक औषधीका लागि ५ लाखको टेन्डर गरिसकेको छ । खाता सञ्चालनका लागि अख्तियारी नआइसकेकोले समस्या भएको मेसु यादवले बताए ।

औषधि आएपछि अस्पतालकै फार्मेसी सञ्चालनमा ल्याउने सोचमा अस्पताल प्रशासन छ । त्यसैगरी अस्पताललाई ५० बेडको जिल्ला अस्पताल बनाउने तयारी पनि भइरहेको छ ।

अस्पताल विकास समितिको नेतृत्वमा टोलीले त्यसका लागि डेलिगेशन पनि गएर आइसकेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?